९ करोड कम्युनिस्टले ‘सी चिनफिङवाद’ पढ्ने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

९ करोड कम्युनिस्टले ‘सी चिनफिङवाद’ पढ्ने



काठमाडौं-

चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले राष्ट्रपति सी चिनफिङको नाम र विचारधारालाई आफ्नो विधानमा ‘माओवाद’ सरह स्थान दिएको छ । बेइजिङमा जारी पार्टी महाधिवेशनको अन्तिम सत्रले उनको ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद’लाई ‘सी चिनफिङवाद’का रूपमा विधानमै ग्रहण गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

पार्टी विधानमा सीको नयाँ युगलाई महत्त्वपूर्ण विचारधारा र वैज्ञानिक विकाससम्बन्धी धारणासँगै मिलेर चिनियाँ कम्युनिस्ट पार्टीको निर्देशिका बनाउने कुरा समेटिएको छ ।

महाधिवेशनमा सीले प्रस्तुत गरेको प्रतिवेदनलाई ‘चिनियाँ कम्युनिस्ट पार्टी र सम्पूर्ण चिनियाँहरूको नेतृत्व गरी नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादको विकास गर्ने राजनीतिक घोषणापत्र तथा कार्यक्रम निर्देशिका र माक्र्सवाद तथा लेनिनवादको निर्देशिका दस्तावेज भएको’ ठहर गरिएको छ ।

गत बुधबार सुरु महाधिवेशन उद्घाटन सत्रमा सीले ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद’ आवश्यक भएको व्याख्या गर्दै ३ घण्टा लामो सम्बोधन गरेका थिए । सीको उक्त विचारधारा सम्मेलनमा प्रस्तुत भएपछि पार्टीका शीर्ष अधिकारी र सञ्चारमाध्यमका तर्फबाट लगातार यसको प्रशंसा हुँदै आएको थियो ।

यसले चिनियाँ कम्युनिस्ट पार्टीमाथि राष्ट्रपति सीको पकड विधानमै संस्थागत भएको छ । राष्ट्रपति सी माओत्से तुङपछि चीनकै सर्वशक्तिमान नेता बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चिनियाँ सञ्चारमाध्यमले उनलाई पार्टी संस्थापक माओ बराबरको स्थान दिइएको बताएका छन् । पार्टी विधानमै ‘सी चिनफिङवाद’ उल्लेख भएपछि चीनमा कसैले पनि सीको विरोध गर्ने वा चुनौती दिन नसक्ने बीबीसीले जनाएको छ ।

पार्टी विधानमा गरिएका संशोधनले सीलाई थप शक्तिशाली बनाएको छ । पछिल्लो संशोधनको अर्थ राष्ट्रपति सीलाई दिइने कुनै पनि चुनौती कम्युनिस्ट पार्टीको शासनका निम्ति खतराका रूपमा लिइनेछ ।

सन् २०१२ मा पार्टी महासचिव भएदेखि नै सीलाई निकै शक्तिशाली नेताका रूपमा चित्रित गर्न थालिएको हो । पूर्वज हु चिन थावो र च्याङ च मिनको तुलनामा उनले आर्थिक तथा कूटनीतिक कार्यलाई तीव्र रूपमा बढाएका छन् । सीको चिनियाँ सपनाले सांस्कृतिक, आर्थिक, औद्योगिक, प्राविधिक, सामाजिक, कूटनीतिक सबै क्षेत्रबाट चीनलाई पुनर्जागरण गराउने काम गरेको छ । ,यो खबर आजकोकान्तिपुरमा छ ।