चिनेजानेकैले घटाए भागरथी घटना - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

चिनेजानेकैले घटाए भागरथी घटना



बैतडी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्या चिनजानकै व्यक्तिबाट भएको निष्कर्ष प्रहरीले निकालेको छ। प्रहरीले अनुसन्धान अपराधीको धेरै नजिक पुगिसकेको दाबी गरेको छ। अनुसन्धानमा खटिएका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीले चिनजान र सम्पर्कमा रहेका स्थानीयबाटै भागरथीको बलात्कार र हत्या भएको बताएका छन्।

‘घटनास्थलको भौगौलिक अवस्था हेर्दा बाहिरबाट आएर कुनै मान्छेले यो घटना गराउने सम्भावना नै छैन। चिनजानका स्थानीय व्यक्तिबाट बलात्कार र हत्या भएको हो,’ दोगडाकेदारमा बसेर अनुसन्धान गरिरहेका सुवेदीले भने। सुरुमा सबै कोणबाट फराकिलो घेरामा अनुसन्धान गरिएको र अहिले अनुसन्धान साँघुरिँदै पहिलो चरणबाट दोस्रोमा प्रवेश गरेको उनले बताए। ‘हामी तुरुन्तै दोषी पत्ता लगाउँछौ, सार्वजनिक गर्छौं’, उनले भने।

प्रहरी भागरथीको बलात्कार हत्यामा संलग्न व्यक्तिका बारेमा निचोडमा पुगे पनि तथ्य र प्रमाण जुटाउन बाँकी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले बताए। ‘प्रहरी एक निचोडमा पुगिसकेको छ, त्यसलाई पुष्टि गर्न केही तथ्य जुटाउने क्रममा हामी छौं’, उनले भने, ‘वास्तवमै अनुसन्धान साँघुरो घेरामा पुगेको छ। तथ्यले पुष्टि गरेपछि हामी पक्राउ गर्छौं।’

विधि विज्ञान प्रयोगशालाको रिपोर्ट पनि आउन बाँकी छ। घटनास्थलबाट संकलित रगत, भेजाइनल स्वाब, मोबाइललगायत संकलन गरेर नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा जाँचका लागि पठाइएको छ। उनले पनि चिनजानकै स्थानीय बलात्कार र हत्यामा संलग्न भएको बताए। अपराधी पत्ता लगाएपछि सबै कथावस्तु आउने उनले बताए। प्रहरीले शंकास्पद धैरैजनासँग सोधपुछ गरिसकेको छ।

घटनाको दिन घटनास्थल आसपास देखिएका व्यक्तिसँग पनि प्रहरीले सोधपुछ गरिरहेको छ। भागरथीको शव भेटिएको शनिबार दस दिन पुगेको छ।

बाटोबाट घचेट्दै जंगलमा लगेको आशंका

बाटोबाट करिब ५० मिटर तल लवलेक सामुदायिक वनमा भागरथीको शव बलात्कार गरेको अवस्थामा फेला परेको थियो। शव भेटिएको स्थल र बाटोको बीचमा रहेको ढुंगा नजिक भागरथीको छालाको टुक्रा फेला परेका छ। हातको वा कुन ठाउँको छाला हो खुल्न सकेको छैन। बाटोबाट उनलाई घचेट्दै वा घिसार्दै लैजाँदा ढुंगामा लागी चोट लागेर छाला खसेको प्रहरीको आशंका छ।

अनुसन्धानमा समुदायले सहयोग गरेकाले अपराधीको नजिक–नजिक पुग्न सकिएको प्रहरीको भनाइ छ। हत्यारा पत्ता नलाग्दासम्म परिवारले भागरथीको शव नबुझ्ने अडान लिएको छ। शव जिल्ला अस्पताल बैतडीको शव गृहमा छ। भागरथीलाई न्यायका लागि बैतडी सदरमुकाम, धनगढी, दिपायल, कञ्चनपुर, डडेल्धुरालगायत ठाउँमा निरन्तर प्रदर्शन भैरहेका छन्।

माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी भागरथीको शव २२ गते साँझ ५ बजेतिर विद्यालय र घरको बीचमा पर्ने लवलेक सामुदायिक वनमा फेला परेको थियो। तल्लो शरीर निर्वस्त्र, हात काटिएको, घाँटी थिचिएर निलडाम भएको, शरीरभरि निलडाम र यौनांगमा रगत बगेको अवस्थामा शव फेला परेको थियो। पोष्टमार्टम रिपोर्टमा बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको उल्लेख छ।

अढाई वर्षअघि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलत्कार र हत्या घटना अहिलेसम्म रहस्यकै गर्भमा छ। प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन। निर्मलाको जस्तै नियति भागरथीको नहोस् भन्ने कामना आफन्त, स्थानीय, विद्यार्थी र अधिकारकर्मीले गरेको नागरिकले लेखेको छ।