पर्यटकीय पूर्वाधारमा अब्बल सैनामैना, मेयर भन्छन्- अब आउनेले दु:ख गर्नु पर्दैन - Himal Post Himal Post
  • २९ श्रावण २०७९, आईतवार
  •      Sun Aug 14 2022

पर्यटकीय पूर्वाधारमा अब्बल सैनामैना, मेयर भन्छन्- अब आउनेले दु:ख गर्नु पर्दैन



सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्की स्थानीय सरकार चलाएर सन्तुष्ट छन् । कार्की मात्रै होइन नगरबासी पनि मेयरसँग सन्तुष्ट नै देखिए । पाँचवर्षको कार्यकालमा नगरबासीको पुरै सहयोग पाएको बताउने कार्कीले आफूले ल्याएका कार्यक्रम तथा योजनाको कसैले विरोध नगरेको समेत बताए ।

स्थानीय सरकार संचालन र संघीयता कार्यान्वयनको चरणमा केहि चुनौतीको सामना गर्नुपरेपनि मेयर कार्कीले कैयौं नमूना काम गरेको बताए । आफ्नो कार्यकालमा आँटेका सबै योजना र कार्यक्रम सफल भएको उनले बताए । कुरा गर्दै जाँदा उनले एउटा मात्रै ठुलो योजना सफल हुन नसकेकोमा आफू दुखि भएको उनले बताए । ‘त्यो योजना सरकार ढलेपछि रोकियो, मेरो कारणले भने रोकिएको होइन’ मेयर कार्कीले भने ।

उनले पहिलो दुई वर्ष ऐन, कानुन र संघको कारणले असहज भएपनि त्यसपछि फटाफट काम गरेको बताए ।

  यस्तो छ उनीसँग हिमालपोष्टले गरेको संवाद

  • स्थानीय तहको अहिले विभिन्न हिसावले चर्चा भैरहेको छ, पाँच वर्ष पालिका चलाउँदा स्थानीय तहबारे तपाईंको अनुभव के हो ?

बितेको पाँच वर्षमा मेरो त नकारात्मक अनुभव छैन, आफ्नो कार्यकालमा नमिठो अनुभव गर्न परेन । लामो समयदेखि पार्टीको संगठन चलाएकोले पनि मलाई काम गर्न सहज भयो । पालिका संचालनको लागि ध्यान दिनुपर्ने मुख्य कुराहरूमा पहिले नै व्यवस्थापन गरेकाले पनि समस्या झेल्नु परेन ।

सबैभन्दा पहिला हामीले स्थानीय तहका अधिकार, कानुन र कर्मचारी व्यवस्थापनमा ध्यान दिएका थियौँ । त्यसपछि नगरबासीका लागि काम गर्ने भएकाले नगर समिति निर्माणमा लाग्यौँ । सुरुवातमै नगरवासीहरूलाई १ सय १७ समितिमा बाँडेर टोल विकाश संस्था गठन गरेर नगरपालिकाको अभिन्न अङ्ग बनाएका छौँ । जसले गुनासो सुन्न र सर्भिस डेलिभरी गर्न सहयोग भयो ।

नगरपालिकाका नीति, बजेट र कार्यक्रमहरू, पालिकाका संदेशहरू घरघरमा प्रवाह गर्नका लागि आधारभूत इकाइको रूपमा टोल विकाश संस्थाहरूलाई परिचालन गरेका छौँ । नगरबासीका समस्या र गुनासाहरूलाई त्यहि समितिमार्फत हामीले लिन थाल्यौँ ।

यी दुई काम गर्न मलाई लगभग ६ महिनाको समय लाग्यो । प्रादेशिक र संघिय निर्वाचन ढिला भएकाले अलि बढी समय कर्मचारी व्यावस्थापनमा लागेको थियो । त्यसपछि हाम्रा आफ्ना कार्यक्रम चलाउन थालेपनि स्थानीय तह, प्रदेश र संघका साझा कार्यक्रम चलाउन भने अल्ली कठिन भएको थियो ।

शिक्षा,स्वास्थ्य,सामुदायिक बन र प्राकृतिक साधन जस्ता साझा अधिकार एकल कानुन बनाएर कार्यक्रम गर्न नसक्ने भएकाले दुई वर्षसम्म कुर्नुपरेको थियो । त्यो भने हाम्रो कारणले रोकिएको थिएन, संघीय ऐन नबनेका कारणले लामो समय कुर्नु परेको पर्यो । त्यसपछि आएको ऐनका कतिपय प्रावधान पनि संविधानसँग बाझिए । त्यसको अर्को वर्ष ऐन संसोधन भएर आएपछि भने सहज भयो । निर्वाचित भएको तीन वर्षपछि अलिअलि काम गर्ने वातावरण बन्दै थियो त्यसपछि एकाएक कोरोना महामारी आयो त्यसपछि महामारी नियन्त्रणमै केन्द्रित हुनुपर्ने बाध्यता बन्यो । नगरका आफ्ना कार्यक्रम सहज रूपमा चलाउन पाए पनि संघका कार्यक्रमहरू सोचेअनुसार संचालन गर्न सकिएन ।

विश्वले नै भोग्नुपरेको नियतिका वावजुद पनि हामीले भविष्यका लागि आशालाग्दा काम गर्न सकेकोमा गर्व महसुस भएको छ । भावी पिंढीले पनि गर्व गर्न लायक कामको सुरुवात गरेका छौँ ।

सम्पूर्ण राजनीतिक दलहरू, नगरवासीहरूको एकतावद्ध प्रयासले हामीले गर्न खोजेका कामहरूमा कुनै दिन रोकावट आएको छैन । त्यसकारण यो कार्यकाललाई मैले निकै नै उत्साहपूर्ण अनुभव गरेको छु ।

मेरो शैली अली फरक र पारदर्शी भएकाले कर्मचारीहरूबाट र नगरवासीबाट पूर्ण सहयोग पाएको छु । त्यसैले पनि चुक्न र झुक्न परेको छैन ।

  • तपाई नगरप्रमुख भएर आएपछि जनस्तरमा देखिएका परिवर्तन के छन् ?

सबैभन्दा पहिला त प्रशासनिक र संस्थागत सुध्रिढिकरण नै रह्यो । नगरपालिकाको आफ्नै भवन बन्यो त्यसले सेवामा सहजीकरण भयो । सबै वडामा आफ्नै भवन बनेका छन् सेवा प्रवाह निकै सहज रूपमा भैरहेको छ । सामुदायीक भवनहरूबाट सेवा प्रवाह हुँदा पनि जनतालाई निकै सहज भएको छ ।

हामीले जनताको सहजताका लागि वडापत्र राख्ने, डिजिटल सर्भिस दिने जस्ता कारणले पनि जनस्तरमा राम्रै प्रभाव पारेको छ । सबै कामहरू पारदर्शी भएकाले नगरवासीले बुझ्न पाएका छन् । त्यसका अलावा सेवा प्रवाहमा हामीले विशेष ध्यान दिएकाले ठुलो परिवर्तनको महसुस भएको छ ।

  • सामाजिक सेवातर्फ के छ सुधार ?

हामीले सामाजिक सेवाको क्षेत्रमा पनि जनताले प्रत्यक्ष महसुस गर्नेगरी काम गरेका छौँ । शिक्षाको गुणस्तर वृद्धि गर्नको लागि विद्यालयको व्यवस्थापन गरेका छौँ । म निर्वाचित हुँदा २७ वटा विद्यालय थिए अहिले हामीले समायोजन गरेर १७ वटामा झारेका छौँ ।

सिकाई उपलब्धि चेक गरेर हामीले नया कार्यक्रम ल्याएका छौँ, प्रविधिमा आधिरित अपनत्वसहितको गुणस्तरीय शिक्षा, सैनामैनाको आवस्यकता भन्ने नयाँ कार्यक्रम अन्तर्गत केहि विद्यालयको तह घटाइएको छ । तीनवटा नमूना विद्यालय बनिरहेका छन् । विद्यालयमा सफा खानेपानी र सेनेटरी प्याडको व्यबस्था गरिएको छ ।

हामीले एक शिक्षक एक ल्यापटप दिइका छौँ, एक कक्षा कोठा एक प्रोजेक्टरको ब्यबस्था गरिएको छ । शिक्षकलाई आइसीटी तालिम र टट तालिम दिएर गरिएको छ । जसको मद्दतले प्रोजेक्टरमार्फत उहाँहरूले कक्षा चलाउनुभएको छ ।

अहिले सामुदायीक विद्यालयहरूको सिकाईको गुणस्तर वृद्धि गर्न नयाँ शैक्षिक कार्यक्रम ल्याउँदै छौँ । जसमा ६० देखि ८० प्रतिशत सिकाई उपलब्धि अनिवार्य गरिनेछ । हाम्रो योजना अनुसार विद्यार्थी र अभिभावकको पहिलो रोजाईको विद्यालय नै सामुदायिक र सरकारी विद्यालय हुनुपर्छ भन्ने नै हो ।

  • स्वास्थ्य क्षेत्रमा के छ सुधार ?

स्वास्थ्यमा पनि व्यापक सुधार गरेका छौँ । आधारभूत स्वास्थ्य जनताको मौलिक अधिकार भनिएको छ, हामीले त्यसभन्दा माथिको सेवा दिनसक्ने भएका छौँ । पहिले तीनवटा स्वास्थ्य चौकी मात्र थिए, अहिले तीन वटा त ल्याबसहितका स्वास्थ्य चौकी मात्रै छन् । दुई वटामा डाक्टरको पनि व्यबस्था गरिएको छ । चौबिस घण्टे प्रसुती सेवा चलाएका छौँ । सरकारी आयुर्बेदीक सेवा केन्द्र संचालनमा छ । योग तथा प्राकृतिक चिकित्सालय पनि संचालनमा आइसकेको छ । त्यसमा ५० बेडको अस्पताल संचालन गर्नसकिने गरी जनशक्ति र उपकरणको व्यबस्था गरिएको छ । त्यसको संचालन गर्न १० लाख अनुदान दिइएको छ । १५ शैयाको अस्पताल मुर्गियामा निर्माण भैरहेको छ । स्वास्थ्य मन्त्रालयको विवरण अनुसार देशभर सबैभन्दा बढी भौतिक प्रगति भएको अस्पताल त्यहि हो ।

त्यस्तै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्युको कार्यकालमा पूर्वअर्थमन्त्री विष्णु पौडेलले स्वीकृति दिएको १ सय बेडको ट्रमा सेन्टर सिलान्यास हुँदैछ । एउटा सर्पदंश अस्पताल पनि संचालनमा छ । पारिवारिक स्वास्थ्य बीमामा अहिलेसम्म २२ प्रतिशत प्रगति भएको छ । विभिन्न समयमा हामीले धेरै प्रकारका स्वास्थ्य सिविरहरू चलाएका छौँ ।

  • आर्थिक विकाशतर्फको प्रगति के छ ?

आर्थिक विकाशतर्फ हामीले बेरोजगारीको समस्या सबैभन्दा ठुलो थियो । कम शैक्षिक योग्यता भएकालाई नगरपालिकाले विभिन्न खाले त्रविधिक तालिमहरू दिईरहेको छ । कोरियन कलेजसँग सम्झौता गरेर १८ महिने र २४ महिने एकेडेमिक कोर्षहरू दिएका थियौँ । त्यसमा ८० प्रतिशत छात्रबृत्ति नगरपालिकाले दिएको थियो । ३ सय ५० जनाले कोर्ष गरेका थिए उनीहरू सबै अहिले बेरोजगार छैनन् ।

अर्को युएनडीपीसंगको सहकार्यमा कोभिड प्रभावित र विपन्न समौदायका लागि एक एक करोडको आर्थिक सामाजिक प्रतिकार्य योजना चलाएका छौँ । त्यसमार्फत हामीले लघु उद्यमीहरूलाई प्रोत्साहन गरिन्छ । सिप सिकाएर उनीहरूलाई पुँजीगत अनुदान दिइएको छ । कृषि व्यावसाय प्रवर्दनका लागि व्यबसायिक खेतीको लागि प्रोत्साहन गरिएको छ । त्यसअन्तर्गत रोजगारी, आयआर्जन र गरिबी न्यूनीकरणको कार्यक्रम चलाएका छौँ ।

 नमूना कार्यक्रम

सैनामैना नगरपालिकाले १५ जना कोभिड पिडित र विपन्न परिवार छानेर नगरपालिकाले पाँच बिगाह जग्गा दिएर त्यसमा ८० लाख बराबरको पूर्वाधार निर्माण गरेर सामूहिक उत्पादन पद्दतिमा लगाएका छौँ । त्यहाँबाट जति उत्पादन हुन्छ सबै १५ परिवारले बाँडेर लिन्छन । त्यहाँ कुरीलो देखि खर्सानीसम्म उत्पादन हुने गरेको छ । यो हामीले गरेको गरेको नमूना कार्यक्रम हो । यसरी पनि राज्यले नयाँ काम गर्नसक्छ भन्ने उदाहरण हुनसक्छ । त्यतिमात्र होइन यो स्थानीय सरकार संचालनको असल अभ्यास पनि हुनसक्छ ।

कृषिमा पनि हामीले नमूना काम गरेका छौँ । हामी आउँदा ३० कृषि समूहहरू थिए अहिले तीन सय कृषि समूहरू छन् । पहिले २४ वटा गाईगोठ थिए अहिले दुई सय ५० गाईगोठ छन् । पहिले १ वटा मात्र ठुलो बाख्रा फर्म थियो, अहिले दर्जनौं फर्महरू छन् । कृषिमा हामीले अहिले तीन किसिमका सहयोग गरेका छौँ । पहिलो यान्त्रिकरण, जसमा कृषि पेशामा आवस्यक सम्पूर्ण यन्त्रहरू नगरपालिकाले अनुदानमा उपलब्ध गरेका छौँ । दोश्रो प्राविधिक ज्ञान जसमा ११ वटा वडामा २२ वटा प्रशिक्षण चलाएका छौँ । जुन IPM कक्षा हो, यसमा खासगरी सत्रु जीवको ब्यबस्थापन र मित्र जीवको पहिचान गर्न सिकाईन्छ । तेस्रो कुरा किसानले गरेको उत्पादनको व्यवस्थापन र बिउ गोदाम र सित गोदामको ब्यबस्था गरिएको छ ।

किसानको लागि हामीले चलाएको अर्को कार्यक्रम भनेको युएनडीपीसँग मिलेर गरेको इभिक कार्यक्रम छ, जसअन्तर्गत किसानले लिने अनुदान लोनका लागि डकुमेन्टदेखि सहजीकरण सम्मको काम गर्छ । किसानका लागि हामीले एउटा एप्स पनि चलाउने तयारीमा छौँ । जसले किसानले गरेको उत्पादन, मूल्य र बजारबारे जानकारी दिने गर्छ । अहिले किसानका लागि नगरपालिकाले तीनवटा अत्याधुनिक र प्रदुषणरहित हाट बजार संचालन गरिएको छ ।

अहिलेसम्म आइपुग्दा खाद्यान्न,दलहन, तेलहन, तरकारी, दुध, माछा, मासु, अण्डामा सैनामैना नगरपालिका आत्मनिर्भर बनेको छ । पाँच वर्षअगाडीसम्म खाद्यान्न र दुधमा मात्रै नगरपालिका आत्मनिर्भर थियो । अहिले मौरी र बाख्राको लागि रुपन्देही जिल्लाको सबैभन्दा ठुलो स्रोतकेन्द्र बनेको छ । मौरी पालनाका लागि सामुदायीक बनमा २४ हजार चिउरीका बिरुवा लगाएका छौँ ।

खेलकुदको अवस्था कस्तो छ नि ?

खेलकुदको क्षेत्रमा पनि प्रगति नै भएको छ । पहिले खेलकुदका लागि खेल्नलायक फिल्डहरू थिएनन् । अहिले एउटा क्रिकेट रंगशाला बनिरहेको छ अर्को फुटबलको रंगशाला बनिरहेको छ । दुई ओटा कभर्डहल संचालनमा आइसकेको छ । अर्को निर्माण हुँदैछ । लगभग सबै टोल विकाश संस्थाहरूका आफ्नै ब्याडमिन्टन कोर्ट छन् । कतिपय अनुदानमा त कतिपय सामुदायीक स्तरबाट लगानी भएका छन् । आर्चरीदेखि क्रिकेटसम्म ग्राउण्ड, प्रशिक्षक, प्रशिक्षणको व्यबस्था गरेका छौँ ।

नगरपालिकाले तीनवटा ओपन जीम तयार गर्दैछ, त्यसका लागि सामानहरू आइसकेको छ फिट गर्न बाँकी छ । जसमा निशुल्क सेवा दिइनेछ ।

खेलतर्फ सर्वाधिक राशिको मेयर कप फुटबल प्रतियोगिता प्रत्यक वर्ष संचालन गरेका छौँ । अर्को माध्यमिक विद्यालयहरूलाई लक्षित गरेर राष्ट्रपति रनिंग सिल्ड संचालन भैरहेको छ ।

सांस्कृतिक सम्पदा- १० लाख पर्यटक आउने पूर्वाधार तयार

सांस्कृतिक सम्पदातर्फ हामी निर्वाचित हुँदा एउटा बोलबम धामको सामान्य मन्दिर थियो । पर्यटन मन्त्रालयको र नगरपालिकाको गरेर सात करोडमा आधुनिक प्यागोडा शैलीको ठुलो मन्दिर निर्माण गरिरहेका छौँ । अहिले डेढ लाख पर्यटक आउँछन् । यो सम्पन्न भएपछि लगभग पाँचलाख पर्यटक बोलबम धामको दर्शनकै लागि आउने आंकलन छ । त्यस्तै सैनामैनाको पूरातात्विक महत्वको बारेमा नगरपालिकाले ६ महिना लगाएर अध्ययन गरेर पुस्तक प्रकाशन गरेका छौँ ।

१९५७ मा भारतीय संस्कृतिविद पिसी मुखर्जीले नपाल भ्रमण गर्दाको नक्सादेखी उत्खनन गर्दा भेटिएका विभिन्न मूर्तिहरूको अध्ययन गरेर सैनामैना दर्पण निकालिएको छ ।

यसको पूरातात्विक महत्व गजबको छ । सैनामैनामा मुगलहरूको समयमा भारतीय राजकुमारी सेनासहित आएर बसेको बुद्धकालिन सहर भएको क्षेत्र छ । त्यो अहिले खुला संग्राहलयको रूपमा छ । केहि संवेदनशील पूरातात्वित क्षेत्रहरूलाई जनताको भोगाधिकारबाट छुट्टाएर तारबार गरि संरक्षण गरिएको छ । राजकुमारी सेनामेनासहित आएर बसोबास गरिकाले यसको नाम सैनामैना रहेको अध्ययनबाट खुलेको छ । पदमपाणी लोकेश्वरको पूर्णकदको मुर्ति समेत फेला परेको छ । केहि पूरातात्विक बस्तुहरू लुम्बिनी लगेर राखिएको छ ।

यी सबै बस्तुहरूको संरक्षण र गर्न  संघीय सरकारले ५७ करोडको लगानीमा संग्राहलय बनाउन ठेक्का दिने तयारी गरिरहेको छ । पर्यटन प्रवर्दनका लागि लुम्बिनीकै दोस्रो गौरवको आयोजना लामिरह बहुउद्देश्यीय बाँधको निर्माण हुँदैछ । जुन निर्माणका लागि संघीय सरकार र प्रदेश सरकारले स्रोत समेत सुनिस्चित गरेको छ । यसमा ठुलो जलाशय निर्माण हुन्छ । करिव सात किलोमिटर लामो यो जलाशयबाट बहुउद्देश्यीय फाइदा लिइनेछ । यो लुम्बिनी क्षेत्रकै गौरवको आयोजना हो यो ।

त्यसका अलावा मलमला पर्यटकीय क्षेत्रमा मलमला देवीको मन्दिर बन्ने क्रममा छ । त्यस्तै सारस चराको बासस्थान रहेको सिमसार क्षेत्रलाई संरक्षण गर्दै १० बिघाको ताल निर्माण गर्ने योजना छ । अर्को भनेको मुर्गियामा शैलापुत्री (पार्वती) शक्तिपीठ निर्माण गर्दैछौँ । दुनियामा नभएको पार्वतीको मन्दिर हामीले बनाउदै छौँ । यसले पनि हाम्रो पर्यटन उकास्नेवाला छ । अबको तीन वर्षपछि सैनामैनामा वर्षको १० लाख पर्यटक आउने पूर्वाधार तयार हुँदैछ ।

सडक सञ्जाल-

सडक संजालको हिसावले पछिल्लो पटक घोषणा भएका नेपालका नगरपालिकाभित्र पर्ने सैनामैना धेरै पुराना नगरपालिकाको हाराहारीमा पुगेको छ । ५५ किमी चक्रपथमध्ये ४६ किमी कालोपत्रे सम्पन्न हुँदैछ । आषाढसम्म १० वटा पुल सम्पन्न हुँदैछन् । माननीय विष्णु पौडेल दुईपटक अर्थमन्त्री बनेका कारणले यो चक्रपथ बाटो सम्पन्न हुन सफल भएको हो । डेढ अर्ब रुपैयाँ यसमा लागेको छ । नत्र यो सम्भव थिएन किनकि प्रदेशले २ करोड भन्दा बढी बजेट दिन सकेन ।

अहिले छेउछाउमा बस्ने विपन्न र गरिबको घरमा राजमार्ग पुगेको छ । यहि सडकले सैनामैनालाई समृद्ध बनाउनेछ यो, हाम्रो मेरुदण्ड हो । तस्ता धेरै सडक सञ्जाल हाम्रो नगरमा छन् । केहि कृषि सडक केहि राजमार्ग छन् । केहि राजमार्गहरू सिधै लुम्बिनीसँग जोडिएका छन् ।

  • प्रसङ्ग बदलौँ, कोरोना व्यवस्थापन कसरी गर्नुभयो ? कस्तो अनुभव भयो ?

नयाँ भाइरस भएकाले सुरुमा सबैलाई आतंकित बनायो । हाम्रो मात्रै होइन सारा दुनियालाई समस्या भयो । टोलटोलमा बेरिगेट लगाएर बस्नुपर्ने बाध्यता आयो । यहाँको सबैभन्दा समस्या के थियो भने भारत र तेस्रो मुलुकमा रोजगारीमा जाने नगरबासी त्यहाँ रेस्पोन्स नपाएर घर फर्कने अवस्था बन्यो यो ठुलो चुनौती बनेको थियो । तर यसमा पनि हामीले सुझबुझ अपनाएर काम गर्यौं, नगरबासीको सहयोगमा सबै टोलमा क्वारेन्टाइन बनाएर सिधै घर जानबाट रोक्यौ, कोरोना परिक्षणपछि क्रिटिकल विरामीहरूलाई रेफर गरेर अन्यलाई यहिं कोरोना अस्पताल बनाएर उपचार गर्यौं ।

अर्को अलपत्र मजदूरहरूलाई गाडीको व्यवस्थापन गरेर घर पठाउने व्यवस्था मिलायौं । यसरी पहिलो कोभिड पार लगायौं । दोस्रो लहरमा पहिलोको अनुभवले गर्दा आइसोलेसन बनाएनौं, हरेक घरमा एउटा कोठा आइसोलेसन बनाउन आह्वान गर्यौं । त्यसपछि सजिलो भयो । दुवै पटक संक्रमणबारे सचेतना फैलाउने काममा बढी जोड दियौं ।

घरघरमा आइसोलेसन, नगरपालिकाको कोभिड अस्पताल,दुई वटा एम्बुलेन्स, सैनामैनाको नागरिकलाई बोर्डरबाट अस्पतालसम्म ल्याउने सुबिधा, डाक्टरहरूको उपलब्धता गराएर काम गर्यौं । त्यतिखेर स्वास्थ्य जनशक्ति र नगरबासीले पनि हामीलाई सहयोग गरेकाले छिटो नियन्त्रण भयो ।

तेस्रो पटकको महामारी धेरै सहज भयो, पाठ पनि सिकिएको थियो ।  यो तीनवटा अनुभवले  अब कुनैपनि महामारीसँग लड्नसक्ने अनुभव, जनशक्ति र पूर्वाधार हामीसंग तयार छ । यसले पाठ पनि सिकायो, त्यसपछि हामीलाई लाग्यो आफ्नै ५०/१०० शैयाको अस्पताल नभएको खण्डमा भविष्यमा हुने संक्रमणबाट बच्न सकिन्न भनेर सबैतिर सहयोग मागियो । अहिले हामीकहाँ ५० बेड तत्काल संचालन गर्नसक्ने सबै सामाग्री उपकरण तयार छ ।

  • स्थानीय सरकार संचालनमा तपाईंले केहि फरक अभ्यास गर्नुभएको छ ?

स्थानीय सरकार संचालनमा हामीले केहि नमूना अभ्यास गरेका धेरै कुरा छन् । पहिलो त संयुक्त फोहर प्रसोधन केन्द्र हो । त्यस्तै सामुहिक उत्पादन प्रणाली पनि हाम्रो नौलो काम हो । त्यस्तै अन्तरस्थानीय तह विपद व्यवस्थापन हो । हामीले चार वटा पालिका मिलेर दमकल किनेका छौँ । एउटा पालिकाको एउटा हुँदा खर्च र जनशक्ति बढी लाग्ने भएकाले पनि हामीले यो अभ्यास गरेका हौँ । यसको अर्को फाइदा पनि छ । विपद पर्दा अर्को पालिकामा सेवा दिन्न बन्न पाईन्न त्यसैले पनि यो अभ्यास ठिक छ । अर्को एउटा पालिकाले दमकल राख्दा वर्षमा २५ लाख खर्च हुन्छ । अहिले त थोरै थोरै उठाएर पनि सकियो नि ।

  • चाहेर पनि तपाईंले यो अवधिमा गर्न नसकेका काम के छन् ?

अव्यबस्थित बसोबासी, भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई गएको पुष मसान्तभित्र लालपूर्जा दिने सपना थियो त्यो पुरा हुन सकेन । तर यसमा मेरो कुनै दोष छैन । केपी शर्मा ओलीको सत्कार ढलेपछि त्यो सम्भव भएन ।

हामीकहाँ नापेर दिनुपर्ने २१ सय बिगाह जमिन छ । १५ हजार चार सय असी परिवार अव्यबस्थित बसोबासी, भूमिहीन दलित र भूमिहीन सुकुम्बासी छन् । हामीले लागत संकलन, कम्प्युटरमा प्रव्रिष्टि, ९७ वटा कन्ट्रोल प्वाइन्टको स्थापना, जीपीएस कोडीङ लगायत सबै काम सकेर २०७८ साउनदेखि जग्गा नाप्न तयार थियौँ । तर सरकार गिर्यो, आयोग विघटन भयो सबै सकियो । त्यसपछि भूमिसम्बन्धी काम नगर्नु भन्ने पत्र आयो ।

पछि चर्को आलोचनापछि गठन भएको आयोगले केहि सुचना पठाएको छैन । गएको माघदेखि जग्गा नापजाँच गर्ने सुचना दिन अनुरोध गरेको छु । लगातार आग्रह गर्दापनि उहाँहरूले त्यो दिन चाहनुभएन । हामीले यो सवालमा सबै तयारी पुरा गरेका थियौँ । यतिसम्म कि पुषमा प्रमाणपत्र बाँड्ने हाम्रो कार्यतालिका नै थियो । त्यो आयोग र सरकार बदलीको कारणले हुन सकेन ।

अरू मैले चाहेर पनि गर्न नसकेको काम केहि छैन ।

  • पाँच वर्ष स्थानीय सरकार चलाउनु भयो, नगरबासी पनि खुसी रहेछन्, फेरी मेयरमा उठ्ने योजनामा हुनुन्हुन्छ ?  

मेयरमा उठ्ने योजना पार्टीको आदेशमा भर पर्छ, मेरो त्यस्तो योजना छैन । तर पार्टीले आदेश दिएको खण्डमा पछि हट्न मिल्दैन । पार्टीको सिपाही भएकाले पार्टीले दिने जिम्मेवारीबाट भाग्दिन ।

अर्को कुरा हामीले बनाएका योजना र पूर्वाधारका कारण अब आउनेले दुख गर्न पर्दैन ।

  • अन्त्यमा तपाईंलाई केहि भन्न मन लागेको छ ?

मैले पाँचवर्षसम्म काम गर्दा सहयोग गर्नुहुने पार्टीपंति, विपक्षी दलका नेता ज्युहरू, कार्यकर्ता,कर्मचारी, टोल विकाश संस्था र नगरबासीलाई अहिले सम्म बहुत ठुलो सहयोग पाएका छौँ, त्यसका लागि धन्यवाद दिन चाहन्छु ।

धन्यवाद ।