चित्रबहादुर भन्छन: संघीयताले देश बेहाल भयो, खारेज गर्न ढिला नगरौं - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

चित्रबहादुर भन्छन: संघीयताले देश बेहाल भयो, खारेज गर्न ढिला नगरौं



बागलुङ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले देशको बेहाल भएकाले यसलाई छिट्टै खारेज गर्नुपर्ने छन्। उनले देश खोक्रो भएको जिकिर पनि गरेका छन् ।

राष्ट्रिय जनमोर्चा जैमिनी नगर कमिटीले बिहीबार कुश्मीशेरा बजारमा गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले सानो मुलुकका लागि संघीयता सेतो हात्ती भएको बताएका हुन्।

‘अहिलेको महँगी हेर्नुस् अनि जनतालाई लगाएको कर पनी हेर्नुस त’ केसीले भने ‘यो सबै संघीयताको परीणाम हो।’ संघीयता खारेजीको विकल्प नभएको बताए। चिनको जस्तो साशन व्यवस्था नेपालमा पनि सुरु होलाकी भनेर केही शक्तिहरू त्रसित भएको भएपनि तत्कालका लागि नेपालमा चिनको जस्तो शासन प्रणालीको सम्भावना नरहेको बताए।

‘चीन जस्तो समृद्ध मुलुकको जस्तो स्वाभिमानी पद्धती नेपालमा लागू गरे देशमा राम्रो हुन्थ्यो’ केसीले भने ‘तत्कालका लागि त्यो सम्भव देखिँदैन।’

यस्तै राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष तथा पार्टीका प्रवक्ता दुर्गा पौडेलले अंगीकृत नागरिकता व्यवस्थाले देशमा झनै संकट आइपरेको बताइन्। नागरिकता व्यवस्था खुकुलो बनाउँदा देशमा अंगिकृत नागरिकता धारीहरू बढी हुनसक्ने भन्दै पौडेलले अंगिकृत नागरीकता व्यवस्थालाई अझै कडाइ गर्नुपर्ने धारणा राखिन्।

प्रदेशसभाका सदस्य कृष्ण थापाले अहिलेको व्यवस्थाले प्रदेश झन् गम्भिर अवस्थामा पुगेको बताए।

गण्डकी प्रदेशलाई संघले सहयोग नगरेको भन्दै उनले संघीय सरकारले प्रदेशहरूलाई समेत भेदभाव गरेको आरोप लगाए। जिल्ला अध्यक्ष अमर थापाले जनमोर्चाले जिल्लाका १० वटै पालिकाका प्रत्येक वडामा पुगी राष्ट्रिय स्वाधिनताको लागि गाउँ जागरण अभियान सम्पन्न गरेको बताए। जनमोर्चाको लागि बिभिन्न चुनौती आइपरे पनि जनताको साथ र सहयोगले अगाडी बढ्ने उनले बताए।

जैमिनी नगर समितीका अध्यक्ष डिलबहादुर श्रीषको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रक्तीम सांस्कृतिक परिवारले विभिन्न प्रस्तुती देखाएका थिए।