चितवनका अधिकांश आयूर्वेदिक उपचार केन्द्रहरु अवैध रुपमा सञ्चालन - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

चितवनका अधिकांश आयूर्वेदिक उपचार केन्द्रहरु अवैध रुपमा सञ्चालन



१ माघ, चितवन ।

चितवनका अधिकांश आयूर्वेदिक उपचार केन्ऽहरु अवैध रुपमा सञ्चालन भएको प्रमाण फेला परेको छ । भरतपुर र नारायणगढ क्षेत्रमा सञ्चालित अधिकांश आयूर्वेदिक उपचार केन्द्रले सम्बन्धित निकायबाट अनुमति नै नलिएको र अनुभवका आधारमा बिरामीको उपचार गरिरहेको फेला परेको हो ।

आयूर्वेदिक उपचारकेन्द्रहरुले व्यवसाय सञ्चालनको अनुमति नलिएको, योग्यताबिनै उपचार गरेको तथा आवश्यक पूर्वाधारबिना नै उपचार केन्द्र सञ्चालन गरेको पाइएको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय र उपभोक्ता अधिकार संरक्षण मञ्चले बिहीबार गरेको संयुक्त अनुगमनका क्रममा यस्तो प्रमाण फेला परेको हो ।

 

मिडियामा आकर्षक विज्ञापन गर्ने तर विज्ञापनअनुसार सेवा नदिएर ठगी गरेको भन्दै चितवनका आयुर्वेदिक सेवा केन्द्रमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत ओम नारायण शर्माले बताए । अनुगमनको क्रममा दुईवटा आयुर्वेदिक सेवा केन्द्रमा सिल गरिएको र डाक्टरसहित ६ जनालाई नियन्त्रणमा लिइएको शार्माले जानकारी दिए ।

भरतपुरको अनमोल आरोग्य केन्द्रबाट डा.रिमा कर्ण, रमा पौडेल र बबिता ढकाललाई नियन्त्रणमा लिएको छ भने नारायणगढको बेलचोकमा रहेको अनमोल उपचार सेवा केन्द्रबाट डा. अमित सहनी, हेमलाल बराल र अनिल गिरीलाई नियन्त्रणमा लिएको शर्माले बताए ।

अनुगमनका क्रममा भरतपुरको अनमोल आरोग्य केन्द्रबाट २ कार्टुन र अनमोल उपचार सेवा केन्द्रबाट ५ कार्टुन म्याद सकिएको औषधि फेला पारेको थियो ।

अनुगमन टोलीले नारायणगढको वैदिक आयुर्वेदिक औषधालयलाई बन्द गर्न निर्देशन दिएको छ । प्रक्रिया पूरा नगरी सञ्चालन भएको पाइएकाले तीन दिनभित्र बन्द गर्न निर्देशन दिएको जिल्ल्ाा जनस्वास्थ्य कार्यालय भरतपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मी महतोले बताए ।

उपभोक्ता हित संरक्षण मञ्चका सचिव प्रकाश सिग्देलले योग्यताको प्रमाणपत्रबिना नै उपचार केन्द्र सञ्चालन गरेर उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरेको भन्दै कडा कारबाही गरिनुपर्ने बताए । ‘दर्ता नगर्ने, कर नतिर्ने, योग्यता विनै उपचार केन्द्र चलाएर जनताको स्वास्थ्यसँग खेलवाड गर्नेलाई कडा कारबाही गर्नुपर्छ’ सिग्देलले भने ।