चितवनमा एक-अर्का गठबन्धनको मत तान्न ब्यस्त - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

चितवनमा एक-अर्का गठबन्धनको मत तान्न ब्यस्त



चितवन- राष्ट्रिय रुपमा चर्चामा रहेको चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे एक-अर्काको गठबन्धनको मत तान्न लागिपरेका छन्।

पूर्वप्रधानमन्त्री दाहाल कांग्रेस फकाउँदैछन् भने पाण्डेलाई एमाले फकाउन भ्याइनभ्याई छ। कांग्रेस र एमालेबाट सो क्षेत्रमाप्रतिनिधिसभातर्फ उम्मेदवार छैनन्। आफ्नो गठबन्धनबाहिरको मत तान्न सकेमा जित सुनिश्चित हुने भन्दै उनीहरु एकअर्काको गठबन्धनबाट मत तान्न लागिपरेका हुन्।

कांग्रेस निकट बुद्धिजीवी प्राडा सूर्यकान्त घिमिरे दाहालकी पुत्री रेनुलाई भरतपुर महानगरमा प्रमुख बनाउँदा कांग्रेसको सहयोग रहेकाले पुनः सहयोग मिल्न सक्ने अपेक्षा दाहालको रहेको बताउँछन्। तर कांग्रेस झन् बढी चिढिएकाले दाहालको त्यो अपेक्षा पूरा हुने घिमिरे सम्भावना कमै देख्छन्।

कांग्रेसले चुनावमा राप्रपाका उम्मेदवार पाण्डेलाई चुनाव चिह्न रुख लिन आग्रह गरेको थियो। पाण्डेले एमालेको मत पनि आफूले पाउने भएकाले त्यो अस्वीकार गरेका कारण स्थानीय निर्वाचनमा रुष्ट बनेका एमालेका केही मत पाण्डेले पाउन सक्ने घिमिरे बताउँछन्।

वाम बुद्धिजीवी रमाकान्त सापकोटा दाहालले कांग्रेसबाट पाउने मत र पाण्डेले एमालेबाट पाउने मत बराबर नै हुने अनुमान गर्छन्। परिणाम भविष्यवाणी गर्न नसकिए पनि गठबन्धनको मत यताउता जाने संख्या बराबरी नै हुने उनको आकलन छ।

स्थानीय तहको निर्वाचनमा चिढिएको एमालेले निर्वाचन पेचिलो हुने हुँदा निर्वाचनको दिनसम्ममा दाहाललाई मतदान गर्ने उनले बताए। भरतपुर महानगरपालिकाको निर्वाचनमा पराजित एमालेका उम्मेदवार देवी ज्ञवाली अहिले दाहालको चुनावी प्रचारमै छन्।

माओवादी केन्द्रका अध्यक्ष दाहालले चुनावी सभाहरुमा कांग्रेसलाई फकाउनमै समय बिताउने गरेका छन्। अधिकांश भाषणमा उनी बिपी कोइराला र गिरिजाप्रसाद कोइरालाको उद्देश्य प्राप्तिका लागि आफू लागिपरेको बताउँदै आएका छन्।

शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता आफू भएको भन्दै उनले हस्ताक्षरकर्ता कोइरालाको सपना आफैँले मात्रै साकार गर्न सक्ने बताउँदै भोट माग्दै आएका छन्।
पाण्डे पनि एमाले फकाउनमा आफ्नो समय खर्चिंदै आएका छन्। हिजो छोरी जिताउने कांग्रेसलाई छाडेर एमालेको साथ लिन आएका दाहालले एमालेलाई पनि छाड्ने हुँदा सजग हुन एमालेलाई पाण्डेले अपिल गर्दै आएका छन्।

दाहालका मुख्य प्रतिस्पर्धी पाण्डे राप्रपा (प्रजातान्त्रिक) का केन्द्रीय उपाध्यक्ष एवं वन तथा भू–संरक्षण मन्त्री हुन्। तत्कालीन क्षेत्र नं ४ र ५ मिलाएर बनाएको हालको क्षेत्र नं ३ मा पाण्डे पुनः कांग्रेसको समर्थनमा निर्वाचन लड्दैछन्।

२०७० मा तत्कालीन क्षेत्र नं ४ मा कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला दोब्बर मत ल्याएर विजयी भएका थिए। कांग्रेसको सुरक्षित स्थान खोज्दै कोइराला त्यो समयमा चितवन आएका हुन्। तत्कालीन क्षेत्र नं ५ बाट पाण्डे विजयी भए। २०७० को निर्वाचनमा कांग्रेस र राप्रपाले एकएक सिट जितेको थियो।

तर गत स्थानीय निर्वाचनमा भने यो ठाउँमा वामपन्थीहरुले प्राप्त गरेको मत धेरै छ। क्षेत्र नं ३ मा माडी नगरपालिका र भरतपुर महानगरपालिकाका २९ मध्ये १९ वडा पर्छन्। गत स्थानीय तहको १९ वडाको मत हिसाब गर्दा माओवादी केन्द्र र एमालेभन्दा कांग्रेसको मत बढी छ। १९ वडामध्ये पाँच वटा एमालेले, तीन वटा माओवादी केन्द्रले तथा ११ वटा वडा कांग्रेसले जितेको छ।

भरतपुर महानगरका १९ वटा वडामा माओवादीको मत १३ हजार ६३६ छ। यसमा माडी नगरपालिकाको माओवादीले प्राप्त गरेको मत तीन हजार ८७२ थप्दा १७ हजार ५०८ हुन आउँछ। महानगरको १९ वडामा एमालेको मत २१ हजार १३० र माडी नगरपालिकाको मत तीन हजार ८२६ थप्दा २४ हजार ९५६ हुन्छ। यो दुवै मतलाई जोड्दा वाम गठबन्धनको मत ४२ हजार ४६४ हुन्छ।

यता भरतपुर महानगरका १९ वटा वडाको कांग्रेसको मत २३ हजार २३७ छ। माडी नगरपालिकामा कांग्रेसले ल्याएको मत तीन हजार ८२९ हो। कांग्रेसको कूल मत २७ हजार ६६ हुन्छ। यसमा राप्रपाको मत आठ हजार ३४१ जोड्दा ३५ हजार ३०७ हुन्छ। वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा सात हजार मतले अगाडि छ।

स्थानीय तहको निर्वाचनपछि जिल्लामा ४१ हजार ३३ मत थपिएका छन्। पछि थप भएका मतमध्ये क्षेत्र नं ३ मा बढी भएको भनिए पनि छुट्टिन सकेको छैन। समग्र मतलाई हेर्दा दुवै उम्मेदवार तेस्रो र चौथो दलका रुपमा रहेका छन्। पहिलो कांग्रेस छ भने दोस्रो एमाले छ। वाम गठबन्धनको मत सुरक्षित गर्न सके दाहाल विजयी हुने देखिन्छ भने लोकतान्त्रिक गठबन्धनको मत सुरक्षित गर्दै एमालेका मत तान्न सकेमा पाण्डे विजयी हुने देखिन्छ।रासस