चोलेन्द्रले पैसा लिएर गरेका फैसला खोज्दै बार - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

चोलेन्द्रले पैसा लिएर गरेका फैसला खोज्दै बार



काठमाडौँ – नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पैसा लिएर गरेको फैसलाको सूचना भए उपलब्ध गराउन कानुन व्यवसायी र सेवाग्राहीहरूलाई आग्रह गरेका छन् । सोमबार सर्वोच्च अदालत परिसरमा बारले दिएको धर्ना कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले पैसा खाएर गरेको फैसलाको सूचना भए नेपाल बारमा उपलब्ध गराउन कानून व्यवसायी र सेवाग्राहीहरूलाई आग्रह गरेका हुन् ।

उनले प्रधानन्यायाधीश जबराले गरेको फैसलाहरूले विकृति, बिसंगति, बिचौलिया र भ्रष्टाचार भइरहेको आरोप लगाउँदै नेपाल बारले पनि प्रधानन्यायधीशले गरेको फैसलाको अध्ययन र संकलन गरिरहेको बताए । अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशले पैसा लिएर गरेको फैसलालाई राखेर जनताबीचमा पेश गरिने बताए । उनले न्यायालयमा बिकृति र बिसंगति भइरहेको भन्दै कानून व्यवसायीहरू आन्दोलनमा उत्रिएको दुई हप्ता भइसक्दासमेत राजनीतिक दल कानमा तेल र मुखमा बुझो हालेर बसेको आरोप लगाए।

अध्यक्ष श्रेष्ठले राज्यको महत्वपूर्ण अंगमा आएको समस्याका बारेमा चुप लागेर बस्ने भए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिए । ‘दलहरू अझै पनि कानमा तेल र मुखमा बुझो लगाएर बसिरहनु भएको छ, के न्यायपालिका राज्यको अंग होइन ? राज्यको एउटा महत्वपूर्ण अंगमा यो अवस्था आउँदा चुप लागेर बस्ने हो ?’ उनले भने, ‘हामीले किन राजीनामा मागिरहेका छौँ भन्ने कुरा आज हामी प्रतिनिधिसभामा संसदमा सहभागी भएका राजनीतिक दल र संसदीय दलहरूमा राजीनामा किन भन्ने कुरा दिन गइरहेका छौँ । त्यसपछि राजीनामा किन मागेका छौँ भन्ने कुरा विस्‍तृतमा राख्नेछौँ, अर्को विनम्र अनुरोध गर्दछु, उहाँले गर्नुभएका कर्तुत, विवादित प्रधानन्यायाधीश संलग्न भएको जति पनि फैसलाहरू, जसले गर्दा विसंगति, विकृति, विचौलिया र भ्रष्टाचार भइरहेको छ, ती फैसलाहरू नेपाल बार एशोसिएशनले संकलन, अध्ययन गरिरहेको छ, तपाईहरूसँग भएको, तपाईहरूलाई अन्याय परेको, तपाईहरूसँग अत्यन्त पैसा लिएको फैसलाहरू बारमा दिनुहुन विनम्र अनुरोध गर्दछु । ’

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले तीन वर्ष न्यायपालिका र सेवाग्राहीमाथि अन्याय गरेको आरोप लगाउँदै अब अन्याय हुन नदिने बताए। उनले प्रधानन्यायाधीश जबराले धनाढ्यहरूको मुद्दामा मात्रै काम गरिरहेको तर १५/१६ वर्ष अघिका मुद्दा नहेरेको दाबीसमेत गरे ।