चुनाव हार्ने डरले कांग्रेसले फिर्ता लियो नेताहरूमाथि गरेको कारबाही - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

चुनाव हार्ने डरले कांग्रेसले फिर्ता लियो नेताहरूमाथि गरेको कारबाही



नेपाली कांग्रेसले तनहुँ, बारा र चितवनमा कारबाही गरेको नेता कार्यकर्तामाथिको कारबाही फिर्ता गरेको छ ।

२०७४ साल र २०७९ सालको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको चुनावमा बागी उम्मेदवार र प्रस्तावक समर्थकलाई गरिएको कारबाही फिर्ता लिइएको केन्द्रीय अनुशासन समिति संयोजक आनन्द ढुंगानाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

चितवन- २, बारा- २ र तनहुँ- १ मा उपचुनाव हुँदैछ । ती चुनावमा पार्टीभित्रको असन्तुष्टिले परिणाममा असर गर्ने भएकाले कांग्रेसले कारबाही फिर्ता लिएको हो ।

तनहुँ १ मा कांग्रेसका गोविन्द भट्टराई, चितवन २ मा कांग्रेसकै जीतनारायण श्रेष्ठ र बारा २ मा गठबन्धनका उम्मेदवार छन् ।

प्रेस विज्ञप्ति

वि.स. २०७४ साल र वि.स. २०७९ सालमा भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिएका र त्यस्ता वागी उम्मेदवारका प्रश्तावक र समर्थक बसेका तथा पार्टी र पार्टीको उम्मेदवारको हित विपरितका गतिविधिमा संलग्न भएका कारण, पार्टी विधान र नियमावली बमोजिम स्वतः कारवाहीमा परेका तथा पार्टीको जिल्ला, प्रदेश र केन्द्रीय अनुशासन समितिको निर्णयबाट अनुशासनको कारवाहीमा परेका तनहुँ, चितवन र बारा जिल्लाका पार्टीका सम्पूर्ण सदस्यहरुको अनुशासनको कारवाही आजैका मितिदेखि लागु हुने गरी फुकुवा गरिएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आगामी बैठकबाट केन्द्रीय अनुशासन समितिको यस निर्णय कार्यान्वयन प्रयोजनका लागि मात्र लागु हुने गरी पार्टी विधानको धारा ७१ को अधिकार प्रयोग गरी पार्टी विधानको धारा ४ (१३) (ग), धारा ३४ (१) (घ) र धारा ३४ (८) (ग) र धारा ३४ (८) (ङ) को व्यवस्था निलम्वन हुने व्यहोरा समेत सम्बन्धित सबैका जानकारीका लागि सूचीत गरिन्छ ।

यसर्थ, पार्टी अनुशासनको कारवाही फुकुवा भएका तनहुँ, चितवन र बारा जिल्लाका सम्पूर्ण साथीहरुले २०८० बैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ क्षेत्र नं. १ का पार्टीका उम्मेदवार श्री गोविन्द भट्टराई र चितवन क्षेत्र नं. २ का पार्टीका उम्मेदवार श्री जीतनारायण श्रेष्ठ तथा पार्टीले समर्थन गरेका बारा क्षेत्र नं. २ का उम्मेदवार श्री उपेन्द्र यादवलाई विजयी बनाउनका लागि सक्रियतापूर्वक क्रियाशील रहन समेत यसै विज्ञप्ति मार्फत अनुरोध गरिन्छ ।

आनन्दप्रसाद ढुंगाना
संयोजक
केन्द्रीय अनुशासन समिति