चुनावको कुरा गर्नुस्, सरकार परिवर्तनको होइन : देउवा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

चुनावको कुरा गर्नुस्, सरकार परिवर्तनको होइन : देउवा



नारद गौतम

बूढानीलकण्ठ (काठमाडौँ), पुस २० गते ।  पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दलबीचको सहमतिबाटै संविधान संशोधन र निर्वाचन हुने बताउनुभएको छ ।

सदन खोल्ने सहमतिको वातावरण बनेको हो त भन्ने जिज्ञासामा सभापति देउवाले भन्नुभयो, “अब अनिश्चितकालका लागि संसद् बन्द गर्ने कार्य उचित होइन, एमाले पार्टीभित्रै पनि त्यसमा छलफल भइराखेको छ, निरन्तर संसद् अवरुद्ध हुँदा यसले संसदीय व्यवस्थामाथि नै प्रश्नचिह्न लाग्छ, प्रजातन्त्रका लागि लडेको र संसदीय व्यवस्थामा लामो समयसम्म काम गरेको पार्टीले अब सदन खोल्नु हुनेछ भन्ने मलाई विश्वास छ । ’’

उहाँले पछिल्ला भेटवार्तामा सदन खोल्ने सङ्केत पनि पाएका छौँ भन्दै अब २४ गते बस्ने संसद् बैठक सुचारु हुने विश्वास पनि व्यक्त गर्नुभयो ।  संविधान संशोधनमा सीमाङ्कनलाई थाती राखेर जान लागिएको हो त भनी अर्को प्रश्नमा उहाँले त्यस्तो होइन, परिमार्जन पनि हुँदैन र यही प्रस्ताव अगाडि बढ्ने जनाउनुभयो ।

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले बुझाएको ज्ञापनपत्र बुझ्दै सभापति देउवाले भन्नुभयो, “अहिले संसद्मा पेस गरेकै विधेयक पारित हुन्छ, जस्तो हामीले पेस गरेका छौँ, त्यसमा तलमाथि हुँदैन । ”स्थानीय निकायको निर्वाचन गराउँदा संसद्को सबैभन्दा ठूलो पार्टी काँग्रेस नै स्पष्ट छैन, अबको चुनाव स्थानीय निकाय वा तह के को हुन्छ भन्दा सभापति देउवाले भन्नुभयो, “काँग्रेसको दृष्टिकोण भनेको अहिलेकै संरचनामा गर्दा निर्वाचन गर्न सजिलो हुन्छ, झन्झट पनि कम हुन्छ, ठाउँठाउँमा विवाद पनि अझै छन् भन्ने हो तर हाम्रो पार्टी जस्तोसुकै अवस्थामा पनि चुनाव हुनुपर्छ भन्ने चाहन्छ, त्यो तह वा निकायको किन होस् । ”

सभापति देउवाले आगामी माघ ७ भित्र होइन, आगामी मङ्सिरभित्रै स्थानीय, प्रदेशसभा र सङ्घको निर्वाचन भइसक्नुपर्छ, स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिले राष्ट्रियसभामा मतदान गर्ने हुनाले तीन तहकै निर्वाचन जरुरी भएको स्पष्ट पार्नुभयो ।  उहाँले तीनवटै निर्वाचनपछि मात्रै यो संविधान कार्यान्वयन भएको मानिन्छ भन्नुभयो ।

उहाँले स्थानीय तहको निर्वाचन चैतमा नभएमा वैशाखमा हुने र निर्वाचन आयोगलाई निर्वाचनको तयारी गर्न चाहिने चार महिना पनि उपलब्ध हुने बताउनुभयो ।  उहाँले आयोगसँग आफूहरूले पनि कुरा गरेको बताउँदै निर्वाचन हुनेमा विश्वस्त हुन र तीनवटै चुनाव अलग–अलग गर्दा पनि हुन्छ तर एकै पटक तीनवटै निर्वाचन हुन सक्दैन भन्नुभयो ।
संविधान संशोधनका लागि सरकारले दुई तिहाइ पु¥याउन सक्छ भन्ने पत्रकारको प्रश्नमा सभापतिले भन्नुभयो, “मजाले पुग्छ, यतिसम्म मलाई विश्वास छ कि एमालेले पनि भोट हाल्छ । ”

सरकार परिवर्तन र संयुक्त सरकारको सम्भावनाबारे राखिएको जिज्ञासामा सभापति देउवाले झोक्किँदै भन्नुभयो, “तपार्इंहरूसँग अरू प्रश्न छैनन् ? यही सरकारले निर्वाचन गराउँछ । ” उहाँले थप्नुभयोे, “अहिले चुनावको कुरा गर्नुस्, सरकार परिवर्तनको कुरा नगर्नुस्, यो गठबन्धन यथावत रहन्छ ।  चुनावी सरकारबारे कुनै छलफल भएको छैन, यही सरकारले चुनाव गराउँछ । ”

देउवाले थप्नुभयोे, “अहिलेका प्राप्त उपलब्धिलाई संस्थागत गर्नुको विकल्प छैन, सबै दलबीच सहमति, सहकार्य र एकता अनिवार्य छ, यो हाम्रो दायित्व पनि हो र जिम्मेवारी पनि हो । ”उहाँले काँग्रेस पार्टीको विभाग छिट्टै गठन हुने जानकारी दिँदै भन्नुभयो, “साथीसँग नाम मागेको छु दिएका छैनन् अब आफैँ गठन गर्छु, पदाधिकारीको मनोनयनबारे पार्टीभित्र छलफल भइरहेको छ, चाँडै गर्नेछु । ”

source :gorkhapara