चुनावको निहुँमा जबरजस्ती चन्दा माग्दै वाम गठबन्धन - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

चुनावको निहुँमा जबरजस्ती चन्दा माग्दै वाम गठबन्धन



नेपालगन्ज –  निर्वाचन आयोगको आचार संहितालाई चुनौती दिँदै चुनावको निहुँ पारेर राजनीतिक दलले नेपालगन्जका व्यापारीसँग ‘जबरजस्ती’ रुपले चन्दा असुल्न सुरु गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले व्यापारीसँग चन्दा असुल्न सुरु गरेको पीडित स्वयंले गुनासो गरेपछि यस्तो तथ्य बाहिर आएको हो ।

निर्वाचन आयोगको आचारसंहिता तेस्रो संशोधन–२०७४ अनुसार उम्मेदवारले कसैसँग पनि करकापमा चन्दा असुल्न पाईदैन । यदी कसैले स्वेछिक रुपमा पाँच हजार भन्दाबढी चन्दा दिन चाहेमा बैंकिङ प्रणालीमार्फत अनिवार्य रुपले गर्नुपर्छ । आयोगको आचारसंहिता विपरित वाम गठबन्धनले नेपालगन्जका प्रत्येक व्यापारीसँग लाखौं रुपैयाँ चन्दा मागेको पीडित व्यापारीको दुखेसो छ ।

वाम गठबन्धनका आर्थिक कमिटी संयोजक एवम् खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति र सह–संयोजक ललितकुमार रौनियारको संयुक्त हस्ताक्षर सहितको पत्र देखाउँदै एक व्यापारीले नागरिकसँग भने, ‘चन्दा दिनुस् भनेर वाम गठबन्धनको एउटा टोली चिठ्ठी छाडेर गएको छ, चन्दा दिएपनि/नदिएपनि चुनावपछि मूल्यांकन गर्ने भनेर घुमाउरो भाषामा ‘थ्रेट’ दिए, यो त एक खालको आतंक नै हो ।’ आफूसँग उनीहरूले ३० देखि ५० हजार रुपैयाँ सहयोगको अपेक्षा गरेको र त्यति धेरै रकम दिनसक्ने अवस्था नरहेको पीडित व्यापारीले बताए । केहीदिन देखि चन्दा संकलनमा सक्रिय रहेको वाम गठबन्धनले काटेका पत्र नेपालगन्जका अधिकांस व्यापारीको हातमा परेको छ । चन्दा आतंकले यहाँका व्यापारी त्रसित भईरहेका छन् । थरी–थरीका राजनीतिक दलले चन्दा माग्ने डरले उनीहरू तनावमा छन् ।

दवावमा परेका अधिकांश व्यापारीले गुपचुप रुपमा चन्दा बुझाइसकेका छन्, भने कतिपयले चन्दा दिन नसक्ने अडान राखिरहेका छन् । ‘स्थानीय तहको चुनावमा पनि सक्दो सहयोग गरेकै हो, अहिले फेरि एमाले र माओवादीले चिठ्ठी दिएका छन्,’ अर्का व्यापारीले भने ‘व्यापार बट्टा एक सुक्को पनि छैन, चन्दा दिने की आफ्नो बैंक कर्जा पनि तिर्ने ?’

नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले निर्वाचन परिचालनका लागी आर्थिक कमिटी बनाइएको बताए । ‘बाम गठबन्धनले आर्थिक संकलन कमिटीको जिम्मा किस्मत जीलाई दिएको छ, उसैले सहयोग संकलन गर्ने काम गरिरहेको छ,’ उनले भने । दातालाई अनुरोध गरेर स्वेछिक रुपमा सहयोग संकलन गर्ने काम भइरहेको कोइरालाले दाबी गरे । उनले थपे, ‘यो जमानामा जवरजस्ती चन्दा उठाउन सम्भव छैन ।’

राजनीतिक दल र तिनीहरूका भाृत संगठनको चुनाव आउँदा नेपालगन्जका व्यापारी झस्किन्छन् । चुनावको समयमा राजनीतिक दललाई पटक–पटक चन्दा सहयोग गर्ने, तर आफूहरूलाई अप्ठ्यारो पर्दा सहयोग नपाउने गरेको दुखेसो यहाँका व्यापारीले खुलैर पोख्ने गर्छन् ।

चन्दा असुलीका कारण जिल्लाका राजनीतिक दलहरु बद्नाम भइरहेका छन् । नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाले प्रतिनिधी सभा र प्रदेश सभा चुनावका लागि आफ्नो पार्टीले कसैसँग पनि अहिले सम्म सहयोग नमागेको बताइन् । ‘हामीले चन्दा दिनुस् भनेर कसैलाई भन्दैनौं, पार्टीलाई जिताउन आफ्नै शुभेच्छुकले स्वेछिक रुपमा चन्दा दिएपछि मात्र लिन्छौं,’ उनले भनिन् । कसैलाई दवाव दिएर चन्दा माग्नु निर्वाचन आचार संहिता विपरितको कार्य भएको सभापति कोइरालाले बताइन् । चुनावमा कसरी आर्थिक परिचालन गर्ने भन्ने विषयमा लोकतान्त्रिक गठबन्धनबीच छलफल हुन बाँकी रहेको कोइरालाको भनाई छ ।

आयोगले जारी गरेको निर्वाचन कसुर सजाय ऐन–२०७३ मा आचार संहिता विपरित चन्दा असुली जस्ता कार्य गरेमा एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी रद्द गर्न सक्ने सम्मको कानुनी व्यवस्था रहेको क्षेत्रीय निर्वाचन अधिकारी बसन्त अधिकारी बताउँछन् । ‘तथ्य, प्रमाण फेला परेमा उच्च अदालतमा मुद्दा दायर गर्न सकिने व्यवस्था पनि ऐनले गरेको छ, यसका साथै जिल्ला निर्वाचन आचार संहिता अनुगमन समितिले सिफारिस गरेपछि केन्द्रिय निर्वाचन आचार संहिता अनुगमन समितिले पनि सिधै कारबाही गर्न पाउँछ,’ उनले भने । राजनीतिक दल वा उम्मेदवारले जवरजस्ती चन्दा असुलेको सम्बन्धमा क्षेत्रीय निर्वाचन कार्यालयमा उजुरी प्राप्त भएमा सिधै निर्वाचन आयोगमा पनि निवेदन पठाईने अधिकारीले प्रष्ट्याए । जिल्ला स्तरमा निर्वाचन आचार संहिता अनुगमन गर्न संयोजकको जिम्मेवारी मुख्य निर्वाचन अधिकृतलाई दिइएको छ ।

मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जबरजस्ती चन्दा माग्नु आचार संहिता विपरितको कार्य भएको बताएका छन् । ‘बिना प्रमाण हामीले कारबाही गर्न मिल्दैन, जबरजस्ती रुपमै चन्दा लिइएको पुष्टी भएमा हामी कारबाही गर्छौ,’ उनले भने । प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला निर्वाचन प्रमुख जिल्ला अधिकारी एव्म जिल्ला निर्वाचन आचार संहिता अनुगमन समितिका सदस्य रमेशकुमार केसीले ‘करकाप’ मा कसैले पनि चन्दा माग्न नपाईने कानुनी व्यवस्था रहेको बताउँदै भने, ‘कसैसँग पनि करकापमा चन्दा लिन पाईदैन, तर, कसैले स्वेछिक रुपले चन्दा दिन्छ भने पाँच हजार भन्दा बढी रकम बैंकमार्फत लिनुपर्छ ।’ कसैले करकापमा चन्दा लिएको पुष्टी भएमा कारबाहीको भागीदार हुने प्रजिअ केसीले बताए ।

नागरिकबाट