चुनाव सार्ने सरकारको निर्णयपछि राजपाको आन्दोलन झन अराजक बन्दै ,देउवा अप्ठेरोमा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

चुनाव सार्ने सरकारको निर्णयपछि राजपाको आन्दोलन झन अराजक बन्दै ,देउवा अप्ठेरोमा



काठमाडौं, २ असार ।

दुई नम्बर प्रदेशको चुनाव सार्ने सरकारको निर्णयपछि राष्ट्रिय जनता पार्टीको आन्दोलन झन अराजक बन्दै गएको छ ।

दोस्रो चरणको चुनावका लागि वातावरण बनाउने भन्दै कांग्रेस र माओवादी गठबन्धनले विहिबार राजपाले भनेअनुसार दुई नम्बर प्रदेशको चुनाव सार्ने निर्णय गरेका थिए । राजपाका नेताहरुको विश्वास मानेर प्रधानमन्त्री शेरबहादुर देउवाले नै दुई नम्बर प्रदेशको चुनाव सार्न अग्रसरता लिएका थिए । तर, अहिले राजपाका आन्दोलनकारीले अराजक गतिविधिलाई तीव्रता दिएपछि प्रधानमन्त्री अप्ठेरोमा परेका छन् । स्रोतका अनुसार उनले यसलाई ‘धोका’ रुपमा लिएका छन् ।

राजपाले भनेअनुसार चुनाव सार्ने निर्णय सरकारले गरेपनि उसले अहिलेसम्म आन्दोलन फिर्ता लिएको छैन् । बरु आन्दोलनलाई चर्काउँदै राजपाका कार्यकर्ताले गतिविधि बढाएका छन् । यसक्रममा शुक्रवार सिराहाको गोलबजारमा प्रहरी सवार बसमा तोडफोड गरेका छन् । उता नवलपरासीको परासी बजारमा नेपाली कांग्रेसका प्रचार सामाग्री र झण्डा जलाइएका छन् ।

स्थानीयका अनुसार अराजक बन्दै गएका आन्दोलनकारीले रिक्सा चालकमाथि समेत दुव्र्यवहार गरेका छन् । उनीहरुले औषधी पसल पनि चल्न दिएका छैनन् । त्यस्तै, महोत्तरीमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको कार्यालयमा तोडफोड गरेका छन् ।