प्रदेश र संघको निर्वाचन फागुनमा सार्ने गठबन्धनको तयारी - Himal Post Himal Post
  • २६ श्रावण २०७९, बिहीबार
  •      Thu Aug 11 2022

प्रदेश र संघको निर्वाचन फागुनमा सार्ने गठबन्धनको तयारी



काठमाडौं– सत्ता गठबन्धनमा प्रदेश र संघको निर्वाचन फागुनमा सार्ने विषयको छलफल भएको छ । छिटो चुनाव गर्नेबारे चर्चा चलिरहेका बेला गठबन्धनमा भने निर्वाचन सार्ने विषयले प्रवेश पाएको छ ।

पछिल्लो समय गठबन्धनका शिर्ष नेताहरुले मनोनयन दर्ता वा सपथबाट कार्यकाल गन्ने भन्ने विषयमा छलफल चलाएको बताइएको छ । कांग्रेसका एक पदाधिकारीले उक्त विषयमा छलफल भएको बताए।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा समेत उक्त विषयले प्रवेश पाएको छ। निर्वाचन मंसिरमा गर्नुभन्दा फागुनमा सार्दा सहज हुने उक्त विषय प्रवेश गराउने कांग्रेस नेताको आशय थियो।

सत्ता गठबन्धनमा रहेका अन्य नेताहरु समेत ‘सकारात्मक’ नै रहेको बताउँदै पार्टीमा पहिल्यै छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने बैठकमा ती नेताको भनाइ थियो।

सांसदहरुले शपथ भने फागुनमा मात्रै लिएका थिए। त्यही कारणले संसद् फागुनसम्म रहनुपर्ने एक पक्षको तर्क छ। अर्को पक्षले भने मनोनयन दर्ता गरेको मितिलाई मान्यता दिनुपर्ने बताइरहेको छ।

सभामुख अग्निप्रसाद सापकोटाले पनि वर्तमान प्रतिनिधि सभाको कार्यकाल कहिलेसम्म रहने भन्नेमा छलफल सुरु भएको बताएका छन्।

सोमबार संसदीय मामिला पत्रकारसँग भएको अन्तर्क्रियामा उनले निर्वाचन घोषणापछि संसद्को अवस्था के हुने भन्ने बारेमा उपसभामुखको शपथका दिन राष्ट्रपति कार्यालयमा सामान्य कुराकानी भएको बताए।

छलफलका क्रममा संसद्को कार्यकाल मनोनयन गर्ने दिनसम्म रहन्छ भन्ने सबैको बुझाइ रहेको उनले बताए। ‘संसद्को कार्यकाल नसकिँदै विघटन हुँदा सभामुख र उपसभामुख बाहेक सांसदको पद नरहने अवस्था हो’, सभामुख सापकोटाले भने, ‘यसबारेमा संविधानविद्सँग छलफल गरेर निष्कर्षमा पुगिन्छ।’

निर्वाचन आयोगले भने सरकारलाई मंसिर २ गतेलाई निर्वाचन मिति सिफारिस गरेको छ।