चुनावी माहोल ! मित्रता तोड्ने पर्व « Himal Post | Online News Revolution
Logo

चुनावी माहोल ! मित्रता तोड्ने पर्व



  • दीपक घिमिरे

फेसबुकमा एउटा दाइ थिए । नाम उल्लेख नगरौ तर मैले निक्कै सम्मान गर्ने । राजनैतिक आस्था अलग अलग दलमा भए पनि मैले उनलाई कहिले वैचारिक बहसमा निम्ता दिइन कारण उनलाई मैले राजनैतिक सम्मान होइन जेष्ठताको सम्मान प्रकट गर्दथे ।

मैले कुनै दलको राजनीति गर्दैन । हरेकको जस्तो प्रस्ट राजनैतिक आस्था एउटा दलमा मेरो छैन तर वैचारिक रूपमा म आफूलाई कम्युनिस्ट भन्न रुचाउछु । उनी दाइलाई कम्युनिस्ट भन्ने बित्तिकै पारो चढिहाल्ने । मैले कम्युनिस्टको समर्थन गरेर स्टाटस पोस्ट गर्दा उनी रिसाउने तर उनले कम्युनिस्टलाई पेलेर लेख्दा पनि म कहिले रिसाईन । किनकि म कुनै दलको अन्धभक्त थिइन ।

एक दिन सामान्य कुरामा सामान्य विवाद भयो तर उनले हिजो सम्मको भाईचार बिर्सिय अनि म्यासेजमै धम्की दिए । म धम्की देखि डराईन बरु उनको मन दुखेको ठानेर विवादित पोस्ट डिलेट गर्दिए अनि उनी शान्त भए । अर्को दिन उनले मैले भन्दा खतरनाक कम्युनिस्ट विरोधी स्टाटस पोस्ट गरे , मैले सम्झाउन खोजे । उनी आफूलाई निक्कै अध्यनशिल अनि अग्रज सम्झिन्छन । मैले मान्छु पनि उनलाई अग्रज तर बकम्फुसे कुरामा उनी जिद्धी गर्न थालेपछी सकियो उनको र मेरो मित्रता । आजभोली हामी मित्र छौ मात्र बाटोमा भेटिदा । सामाजिक सञ्जालमा उनी आफ्नै बाटो , म आफ्नै बाटो ।

चुनावको संघारमा यस्ता अनेकौँ घटना सामाजिक सञ्जालमा भएका छन् । मेरो मात्र समस्या होइन यो । हरेक व्यक्ति आफ्नो दललाई जोगाउन अर्को दलमा आस्था राख्ने सँग दैनिक सामान्य विवाद गरिरहन्छन र परिरहन्छ पनि । एउटा भाइ छन् सामाजिक सञ्जालबाटै परिचित भएका । उनी एउटा दलको अन्धभक्त नै हुन । उनलाई उनको दलले गरेका हरेक काम सोरै आना सही लाग्छ तर अर्को दलले गरेका राम्रा काम पनि गलत लाग्छन । सकारात्मक कामको नकारात्मक कमेन्ट गर्न खप्पिस छन् । उनी आफ्नो दलले गरेको कामलाई सही देखाउन मरिहत्ते गर्छन् तर अरू दलले गरेका राम्रा कामलाई गलत साबित गर्न इतिहास पल्टाउछन अनि विगतका कमजोरी लाई जोडेर विरोधमा उत्रन्छन ।

एउटा उखान छ नि “ मूर्ख देखि दैव डरायो ! “ ठ्याक्कै उनी त्यस्ता । राम्रो कामको त सपोर्ट गर भाइ भन्यो उहीँ विगतको रटान । सम्झायो सम्झायो लास्टमा नकारात्मक टिप्पणी । युवा सकारात्मक सोचको हुनु पर्छ भन्ने दिमागमै नभएका उनी जस्ता सँग बहस गर्नुको अर्थै रहेन । उनी सँगको बर्षौको मित्रतापनी नजिकै आएको चुनावले भताभुङ्ग पार्दियो । हामी बोल्छौ , हास्छौ जिस्कन्छौ तर मनमा उ प्रति त्यति आदर म भित्र पनि छैन र उसको मनमा त म एउटा जंगली नै हु । उनका हरेक स्टाटसले मैले आस्था राख्ने दलका समर्थकहरु जंगली हुन , हत्यारा हुन ।

चुनाव सँगै बदलिएको समाजले मानिसलाई साच्चिकै अलग अलग बनाउदै छ । हाम्रो हैन राम्रोलाई चुनौ भन्ने महान् नारा हरेकले बोके पनि आफ्नो दलले उठाएको उमेद्वार साधु र अर्कोदलले उठाएको उमेद्वार दानव देख्ने प्रबृतीले सामाजिक मेलमिलाप मित्रता खल्बल्याउदै छ । यसको मारमा सबैभन्दा बढी सामाजिक सञ्जाल प्रयोगकर्ता नै छन् ।

म आफूलाई स्वतन्त्र देखाउन निक्कै कोसिस गर्दछु । हरेक दिन लेख्ने स्टाटसमा मैले कसैलाई सपोर्ट गरेर लेख्दैन तर मान्छे यति सम्म अन्धभक्त छन् कि उनको दललाई सपोर्ट गरेर लेखियो भने तपाईँ जस्तो महान् भनेर फुरुङ्ग पार्छन , अलिकति गाली गरेर लेख्यो भने साले दलाल सम्म भन्दिन्छन । तर ठिकै हो भनेर मनन गर्दैनन किनकि उनीहरू अन्धभक्त हुन ।

गाउँकै एक जना दाइ छन् जो अहिले मलेसियामा छन् । आफ्नै घरको दाइ जस्तै इज्जत र सम्मान गर्दछु । तर चुनावको मुखमा उनी र मेरो सम्बन्ध मात्र हेल्लो हाईमा सीमित छ । उनले आस्था राख्ने दललाई मैले कहिले काहीँ गाली गर्दछु त्यो उनलाई अपाच्य हुन्छ । उनले गरेको कमेन्टमा मैले नकारात्मक रिप्लाई दिदैन किनकि म झगडा गर्ने मुडमा हुँदैन । उनी इज्जतिला दाइ हुन , जाबो दलिय कुरामा किन लडनु भन्ने मेरो सोच हुन्छ तर उनी त्यस्तो सोच्दैनन । उनी म माथि आक्रामक बन्छन , म सहन्छु ।

बच्चै देखि सँगै खेलेको दाइ सँग पनि चुनावी माहोलले सम्बन्धमा दरार ल्याउदैछ । मैले जतिनै सम्मान उनलाई गरे पनि उनको दललाई पनि सम्मान गर्न पर्छ भन्ने छैन । उनी त्यही चाहन्छन तर यो बुझ्दैनन कि मैले सम्मान उनलाई गरेको हु दललाई होइन । यदि दलिय सम्मान चाहन्छन भने अरूले आस्था राख्ने दललाई पनि उत्तिनै सम्मान गरून् जति उनी चाहन्छन ।

कुनै एउटा दल विशेषको म कहिले हुन सक्दैन किन भने मैले एउटा दलको पुच्छर पकडेर आफूलाई राजनीतिज्ञ साबित गर्नु छैन । तर दलहरूका राम्रा कामको खुलेर समर्थन अनि गलत कामको खुलेरै विरोध गर्ने मेरो अधिकार हो । मैले विरोध गर्दा किन टाढिन्छन मित्रहरू ? किन बुझ्दैनन चुनाव पछाडि हामी एउटै थलोमा आएर हास्ने हो , एउटै थलोमा नाच्ने हो भन्ने कुरा ?

साँच्चै भन्नेहो भने समाज यसरी परिवर्तन हुँदैछ कि आफन्त इष्टमित्र भन्दा नजिकको सम्बन्ध अब दलहरूले जोडनेछन । एउटै दलमा आस्था राखे हाडनाता भन्दा नजिकको सम्बन्ध होइन भने ठुलो दुश्मनी । अब छोराको लागि बुहारी र छोरीको लागि ज्वाइँ खोज्दा पनि दल हेरेर मात्र घरमा कुरा पुर्‍याउने छन् । पहिलेको जस्तो जात गोत्र हैन दलिय आस्थानै मुख्य सर्त हुनेछ । हेर्दै जानुस ।

चुनावले नेतालाई भन्दा कार्यकर्तालाई छुनु नै समाज बिखण्डनको एउटा जरो गाडनु हो । केन्द्रमा बसेर सँगै चियर्स गर्ने नेताहरू हास्दै रमाउछन तर यता टोल समाजमा कार्यकर्ता एक आपसमा लडदैछन । भोलि चुनाव सकिन्छ , फेरि दुख पर्दा नेता हैन यिनै टोलछिमेकी चाहिन्छन भन्ने कुरा हामीले भुल्दैछौ ।

हो दलिय आस्था फरक फरक दल प्रति हुन्छ तर लडनै पर्छ भन्ने त छैन नि । स्टाटस बाट लडने , कमेन्टमा लडने अनि अनफ्रेन र ब्लकै गर्ने प्रचलन अहिले सामाजिक सञ्जालमा व्याप्त भएको छ । नेता लडनु पर्ने समयमा हामी शुभचिन्तक लडदैछौ । एउटा सामान्य कुरा मा विवाद गरेर मित्रता तोडदैछौ ।

स्वतन्त्र हु भनेर चिनाउन खोज्ने म जस्ता सामाजिक सञ्जाल प्रयोगकर्ता त चुनावी माहोल बाट टाढा रहन सक्दैनौ भने दलिय आस्थालाई छातीमा टासेर हिडनेहरु लाई कति छटपटी हुन्छ होला ? उनीहरू आफ्नो दललाई सकारात्मक देखाउन या जनताको दल देखाउन अर्को दललाई आपेक्ष लगाउछन अनि आफ्नो दललाई लगाएको आपेक्ष पचाउन नसकेर उत्रन्छन लडाइको मैदानमा ।

गलतलाई स्वीकार गरेर सुध्रनुको साटो आक्रामक बन्ने फोहरी मानसिकताको चपेटामा म मात्र पक्कै छैन किन भने फेसबुकमा लडेर बोलचाल नै बन्द भएका मित्रहरू मैले धेरै देखेको छु । यस्तो अवस्था चुनावको समय सीमा भित्र मात्र हो । आखिर किन आउँछ यस्ता गलत प्रबृती ? किन लडने हामी नेता र दलका लागि ? सकारात्मक कामको सपोर्ट गरौँ , नकारात्मक कामको खुलेर विरोध गरौँ । तर दलिय विषयलाई लिएर सामाजिक सञ्जालमा नलडौ ।