चुनावी सभा हुन् की प्रधानमन्त्री र मन्त्री बेच्ने पसल ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

चुनावी सभा हुन् की प्रधानमन्त्री र मन्त्री बेच्ने पसल ?



काठमाडौं । सत्तारूढ गठबन्धनका शीर्षनेता ‘चुनावी एजेन्डा’का आधारमा भन्दा आफ्ना उम्मेदवार जिताउन ‘प्रधानमन्त्री र मन्त्री बनाउने’ भन्दै मतदाताका घरदैलोमा छन् । विभिन्न जिल्ला गएर ‘गठबन्धन उम्मेदवारलाई जिताएको खण्डमा प्रधानमन्त्री तथा मन्त्री बनाइने’ भन्दै उनीहरूले मतदातालाई ‘मनोवैज्ञानिक दबाब’ दिन थालेको पाइएको हो ।

मतदातालाई मनोवैज्ञानिक दबाब !

जनतालाई विकास, समृद्धि र सुशासन एजेन्डामा सहमत गराउन छोडेर ‘तपाईंका क्षेत्रका उम्मेदवारलाई जिताएको खण्डमा प्रधानमन्त्री र मन्त्री नै बनाइदिन्छौं’ भन्दै जनतामा भ्रम छर्न थालेपछि सत्तारूढ दलका नेता आलोचित बन्न थालेका छन् ।

सत्तारूढ गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार तनहुँमा आयोजित कार्यक्रममा ‘तनहुँ क्षेत्र १ उम्मेदवार तथा कांगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताएर पठाएको खण्डमा प्रधानमन्त्री बनाउन सकिने’ भन्दै मतदातालाई मनोवैज्ञानिक दबाब दिएका छन् ।

यद्यपि, सत्तारूढ कांग्रेसभित्र प्रधानमन्त्रीका लागि यसअघि नै चार जनाले दाबी पेस गरिसकेका छन् भने कांग्रेस प्रवक्ता डा. रामशरण महतले पटकपटक विज्ञप्ति जारी गर्दै गठबन्धनले चुनाव जितेमा पार्टी सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने उद्घोष गर्दै आएका छन् ।

पौडेललाई प्रधानमन्त्री बनाउन सकिने बताएका माओवादी अध्यक्ष प्रचण्ड आफंै पनि चुनावमा गठबन्धनले जितेमा प्रधानमन्त्रीको जिम्मेवारी लिन तयार रहेको बताउँदै आएका छन् ।

चुनावका बेला नेताहरूले जित्नकै लागि विभिन्न हत्कण्डा अपनाउने गरेको र त्यसैको विकृत रूपमा प्रधानमन्त्री र मन्त्री पद बाँड्न थालिएको छ । जनतालाई एजेन्डामा सहमत गराउने हो तर अहिले सत्तारूढ गठबन्धनका नेताले आफ्ना उम्मेदवारलाई जिताएमा प्रधानमन्त्री तथा मन्त्री बनाउँछाैं भन्दै हिँडेका छन्, जुन गलत हो ।

डा. लोकराज बराल, प्राध्यापक तथा राजनीतिक विश्लेषक

यसअघि काठमाडौं क्षेत्र २ मा आयोजित चुनावी सभामा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले ‘गठबन्धनका उम्मेदवारलाई जिताएमा मन्त्री बनाइने’ भन्दै मत मागेका थिए ।

त्यस्तै, गठबन्धनले दार्चुला, चितवनलगायत जिल्लामा आयोजना गरेको चुनावी सभामा देउवा र प्रचण्डले ती आफ्ना उम्मेदवारलाई जिताएमा ‘मन्त्री बनाइने’ भन्दै आश्वासन दिएका थिए । प्रचण्ड र देउवाले यो क्रम जारी राख्दै आएका छन् ।

राजनीतिक विश्लेषक भने जनताले दलका एजेन्डालाई विश्वास गर्न छोडेपछि आफ्ना उम्मेदवार जिताउन प्रधानमन्त्री र मन्त्रीको फण्डा फाल्ने गरेको भन्दै ‘सो कार्य लोकतन्त्रका लागि घातक भएको’ बताउँछन् ।

राजीतिक विश्लेषण प्राध्यापक डा. लोकराज बरालले चुनावका बेला नेताले जित्नकै लागि विभिन्न हत्कण्डा अपनाउने गरेको र त्यसैको विकृत रूपमा प्रधानमन्त्री र मन्त्री पद बाँड्न थालिएको बताए ।

‘अहिले सत्तारूढ गठवन्धनका नेताहरूले आफ्ना उम्मेदवारलाई जिताएमा प्रधानमन्त्री तथा मन्त्री बनाउँछांै भन्दै हिडेका छन् जुन गलत हो,’ बरालले भने, ‘सत्तारूढ गठबन्धन र एमाले गठबन्धन दुवैबाट यस्तो कार्य भइरहेकाले ती कार्य रोकिनुपर्छ ।’

बरालले दलहरूले चुनावी घोषणापत्र तथा विकासका योजना लिएर कार्यकर्तासमक्ष जानुपर्नेमा विगतदेखि नै उनीहरू चुक्दै आएकाले अन्य ‘फन्डा’ लिएर जनतासमक्ष गइरहेको औंल्याए । ‘सबैका एजेन्डा नक्कलीजस्ता देखिएका छन्, जनताले विश्वास गर्न छोडेका छन्, नेतामा स्वार्थीपन हावी भएकाले पनि विभिन्न समस्या आइरहेको छ,’ विश्लेषक बरालले भने ।

विश्लेषक बरालले सत्तारूढ गठवन्धनभित्र धेरै जनाले प्रधानमन्त्रीमा दाबी गर्न थालेकाले गठबन्धनले जितेको खण्डमा समस्या आउन सक्ने बताए । ‘सत्तारूढ गठबन्धनका नेता प्रचण्डले नै रामचन्द्रलाई प्रधानमन्त्री बनाउन सक्ने बताउनुभएछ, उहाँको यो बोली भोलि आफ्नै लागि समस्या हुन सक्छ किनकि उहाँ आफैं पनि प्रधानमन्त्री बन्ने चाहनामा हुनुहुन्छ,’ बराल भन्छन् ।

राजनीतिक विश्लेषक बरालले प्रमुख दलबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा एकले अर्कालाई गालीगलौज र आरोपप्रत्यारोप गर्ने क्रम बढेको भन्दै ‘यस्ता कार्य दल र तिनका नेताका लागि शोभनीय नभएको’ बताएको राजधानीले लेखेको छ ।