प्रचण्ड र नेपालको ‘किचकिच’ले देउवालाई गठबन्धन घाँडो ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रचण्ड र नेपालको ‘किचकिच’ले देउवालाई गठबन्धन घाँडो !



मंगलवार बसेको सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचनसम्बन्धी लामो छलफल भयो । आफ्नो पार्टीको संरचना गाउँ र वडा तहसम्म बिस्तार हुन नसकेको भन्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधानले दिएको अधिकारलाई प्रयोग गरेर भएपनि स्थानीय निर्वाचन मङ्सिरमा गरिनुपर्ने धारणा राखे ।

उस्तै धारणा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को थियो । प्रचण्डले पनि संविधानले स्थानीय तहका पदाधिकारीको म्याद सकिएको छ महिनाभित्र चुनाव गर्नुपर्ने संवैधानिक प्रावधानका बारेमा बोले । वैशाखमै निर्वाचन गर्न तयारी नपुग्ने दलील प्रचण्ड र नेपालको थियो ।

तर कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भने स्थानीय निकाय खालि राख्न नहुनेमा अडीग रहे । ‘तपाईंहरू गठबन्धन गर्ने हो कि कसरी चुनाव लड्ने हो, आफैं मिलाउनुस । तर संविधानले स्थानीय तह खालि राख्ने परिकल्पना पनि गरेको छैन । त्यसैले वैशाखमा निर्वाचन गर्नैपर्छ । ममाथि पनि त दबाब छ,’ देउवाले भनेको कुरा थियो यो ।

स्थानीय तहको निर्वाचन समयमै नगर्दा देउवामाथि लोकतन्त्रविरुद्ध गएको आरोप लगाउन प्रतिपक्षी दल नेकपा एमाले तम्तयार भएर बसेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनाव समयमै नगराएर कर्मचारीलाई जिम्मा दिन खोजेको भन्दै केही दिनअघि प्रधानमन्त्री देउवाको आलोचना गरेका थिए ।

सत्तारूढ गठबन्धनमा रहेका दलहरूका लागि देउवाले धेरै त्याग गरेका छन् । आफू प्रधानमन्त्री भएलगत्तै अध्यादेश ल्याएर एमाले विभाजन गर्न सहयोग गरिदिए । त्यही विषयलाई लिएर एमालेले इतिहासमै सबैभन्दा लामो समय संसद अवरुद्ध गर्दै आइरहेको छ । देउवाले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको देशैभरि चर्को आलोचना भएको थियो ।

देउवाले माओवादी र एकीकृत समाजवादीले मागेअनुरुप नै मन्त्रालयको भागवण्डा गरे । अन्य राजनीतिक नियुक्तिहरूमा पनि देउवाले गठबन्धनका अन्य दलहरूको आग्रह सुनिरहेका छन् । संसदमा रहेको अवरोध हटाउन आग्रह गर्दै देउवा स्वयं ओलीनिवास बालकोट पनि पुगे । अर्थात गठबन्धन जोगाउन, संसदको अवरोध खोल्न, निर्वाचन गर्न र अन्य दैनिक प्रशासनिक काम गर्न देउवा निकै सक्रिय बनेका छन् ।

तर विगत केही दिनयता सत्तारूढ गठबन्धनका दलहरूले गर्ने ‘किचकिच’को सीमा नाघ्न थालेको महसुस देउवाले गरेका छन् । दैनिक प्रशासनिक कामहरूमा पनि प्रचण्ड र नेपालले हस्तक्षेप गर्न खोजेको बुझाइ देउवामा बढ्दै गइरहेको छ । बालुवाटार यतिबेला सत्तारूढ गठबन्धनकै दलहरूसँग रिसाएको छ ।

‘गठबन्धन नै प्रधानमन्त्रीका लागि घाँडो बन्न सक्नेतर्फ प्रधानमन्त्री सचेत हुनुहुन्छ,’ देउवानिकट एक नेताले भने, ‘प्रधानमन्त्रीलाई दैनिक कामकाजमा पनि हस्तक्षेप गर्ने प्रवृत्ति बढेको जस्तो देखिन्छ । उहाँ (देउवा) सकेसम्म गठबन्धन चुनावसम्म नै जाओस भनेर अघि बढिरहनु भएको छ तर हस्तक्षेप बढ्दै गएमा केही सोच्नुपर्ने हुन सक्छ ।’
स्थानीय निर्वाचन कहिले गर्ने भन्ने प्रश्नमा त देउवाले अडान लिएको जस्तो देखाएका छन् । वैशाखमै चुनाव गरेर देउवाले आफू लोकतन्त्र रक्षाका लागि प्रतिबद्ध भएको उदाहरण पेश गर्न चाहन्छन् । यसअघिको निर्वाचनमा वामगठबन्धनसँग पराजित कांग्रेसको साख फर्काउन देउवालाई चुनौती छ ।

निजी व्यापारी र व्यवसायीलाई सकेसम्म हानी नपुर्याउने कांग्रेसको नीतिविपरित सरकारका मन्त्रीहरूले कदम चालेकोप्रति पनि देउवाको ध्यानाकर्षण भएको छ । नेकपा एसबाट पर्यटन मन्त्री बनेका प्रेमबहादुर आलेले विगत केही दिनयता भाइरल हुने प्रयोजनकै निमित्त बतास अर्गनाइजेसनसँग निहुँ खोज्न थालेको भन्दै कांग्रेसकै नेताहरूले देउवालाई मन्त्रीलाई लगाम लगाउन आग्रह गरेका छन् ।

बतास समूहसँग निकै पुरानो दोस्ती रहेका देउवा यतिबेला चुप जस्तै देखिन्छन् । कारण हो, मन्त्री आलेलाई रोक्न खोजे या बतासप्रति सहानुभूति मात्र देखाए पनि देउवालाई यसअघि लाग्दै आइरहेको भ्रष्टाचारीको ट्याग पुष्टि हुन सक्नेमा देउवा सचेत छन् । त्यस्तै शिक्षामन्त्री देवेन्द्र पौडेलले निजी स्कूल र कलेजमा गएर गरेको निरीक्षणमाथि पनि देउवाले शुक्ष्म निगरानी राखेका छन् ।

आफ्ना मन्त्रीहरूलाई सहज वातावरण बनाएर मात्र काम गर्न निर्देशन दिनुपर्ने भन्दै देउवाले देउवाले प्रचण्ड र नेपालसँग छलफल गरिरहेका छन् । यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीको सबै ‘व्यापारिक नेक्सस’माथि धावा बोल्न थालेका प्रेम आलेले गरेका कामप्रति देउवाले टिप्पणी गर्न सकेका छैनन् ।

देउवामाथि प्रेसर बनाइएको तेस्रो विषय थियो एमसीसी । अमेरिकी सहयोग परियोजना अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई तत्काल संसदमा पेश गर्ने तयारी गरिरहेका देउवालाई गठबन्धनका नेताहरूले रोके । बरू एकीकृत समाज्वादीका वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको अध्ययन समिति गठन गरेर एमसीसीलाई केही महिनाका लागि ‘तामेली’मा राखिएको छ ।

गठबन्धन तोड्ने शर्तमा एमसीसी पास गर्न सहयोग गर्ने ओलीको प्रतिबद्धतालाई पनि देउवाले इन्टरटेन गरेनन् । देउवा गठबन्धनको भविष्य बचाउन लागिरहेका छन् तर गठबन्धनका नेताहरूले बेलाबखत दिने दबाबले आजित पनि छन् ।

कांग्रेसकै नेताहरूले चुनावमा एक्लै लड्नुपर्ने बताइरहेका बेला देउवाको गठबन्धनप्रतिको रुझान कम भएको जस्तो देखिएको छैन । आफूनिकट नेताहरूसँग देउवाले केही थोरै सीटमा तालमेल हुन सक्ने तर बढी सीटमा कांग्रेस एक्लै लड्ने बताइरहेका छन् । गठबन्धनमा रहेका दलहरूको आग्रहलाई बेवास्ता गर्न नसकेपछि देउवा आफ्नै दलका नेताहरूबाट आलोचित हुन पुगेका हुन् ।

राष्ट्रिय सभामा रहेका रिक्त पदहरूमा हुन गइरहेको माघ तेस्रो साताको चुनावमा सहकार्य गर्ने निर्णय गठबन्धनमा भइसकेको छ । एमालेले सातवटै प्रदेशमा सबै सीट गुमाउने निश्चित छ । तर कांग्रेसको ठूलो पंक्ति स्थानीय, प्रादेशिक र संघीय निर्वाचन एक्लै लड्नुपर्ने पक्षमा छ । देउवाले आफ्नो दल र गठबन्धनलाई कसरी मिलाएर लिएर जान सक्छन् त्यो भविष्यले नै बताउला ।