सिक्का बेच्न पाँचतारेमा सम्मेलन : राज्य र कानुनको उडाए धज्जी - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

सिक्का बेच्न पाँचतारेमा सम्मेलन : राज्य र कानुनको उडाए धज्जी



काठामाडौं-

डा. जाफर नामका पाकिस्तानी नागरिकले गत ३१ मे र ३ जुनमा काठमाडौंको र्‍याडिसन होटेलबाट एक प्रवचन दिए, जुन फेसबुक लाइभ भयो, युट्युबमा समेत राखिएको छ । १ जुनमा बुटवलमा त्यस्तै प्रवचन भयो । त्यो प्रवचन क्रिप्टोकरेन्सी ‘वानक्वाइन’बारे थियो ।यो खबर आजको नयाँ पत्रिकामा छ ।

त्यति मात्रै होइन, उनले एक साता काठमाडौं र धुलिखेलका होटेल तथा रिसोर्टमा बसेर नेटवर्किङका लिडर भनिने ५० जनालाई तालिम दिएका थिए ।

वानक्वाइनमा नेपालका तर्फबाट ठगको नेतृत्व गर्नेमा गोविन्द श्रेष्ठ रहेको त्यही भिडियो हेर्दा प्रस्ट हुन्छ ।

उनका मुख्य सहयोगीमा हीरा भण्डारी, चुडाबहादुर थापा, पंकज बजगाईं, इन्द्रबहादुर कार्की, राज श्रेष्ठ भरत श्रेष्ठ, अशोक श्रेष्ठ र फिरोज बजगाईंलगायत छन् । उनीहरूसहित अन्य ५० जनालाई डा. जाफरले नेटवर्किङको तालिम दिएका थिए ।
ठूला होटेलमा अड्डा
ठगहरूले काठमाडौंलगायत प्रमुख सहरका तारेहोटेललाई अड्डा बनाएर ठगीधन्दा सञ्चालन गरिरहेका हुन् । काठमाडौं र विभिन्न सहरका तारेहोटेलमा विभिन्न विदेशी मोटिभेटरलाई ल्याएर नेटवर्क व्यवसायमा लाग्नका लागि उत्प्रेरित गराइरहेका छन् । यसअघि पुरानो बानेश्वरको सिद्धार्थ फुडल्यान्डमा प्रहरीले नेटवर्कको भाषण दिइरहेका वेला ५० जनालाई पक्रिएपछि सानातिना होटेलमा ठगको गिरोह बस्न छाडेका छन् । ती क्वाइनका लिडरहरूले ठूलो रकम खर्च गरेर तारेहोटेलमा सेमिनार गर्ने गरेका छन् । तारेहोटेलमा प्रहरीले छापा नमार्ने तथा अन्य स्थानभन्दा धेरै सुरक्षित रहने भएका कारण धेरै रकम खर्च गरेर पनि तारेहोटेल रोज्ने गरेका हुन् ।

देशभर नक्कली क्रिप्टोकरेन्सीको जालो 
नक्कली क्रिप्टोकरेन्सीको जालो देशभर फैलिएको पत्ता लागेको छ । नयाँ पत्रिकाले विभिन्न स्रोतबाट पाएको जानकारीअनुसार मुलुकका अधिकांश भागमा पुगेर ठगहरूले नक्कली र गैरकानुनी क्रिप्टोकरेन्सी बिक्री गर्ने गरेका छन् । मुलुकका ठूला सहरमा मात्रै होइन, साना–साना बजार केन्द्रसम्म पुगेर क्रिप्टोकरेन्सीमार्फत ठगी गरेका छन् । अहिलेसम्म ठगहरूले मुलुकभित्र र बाहिरका नेपालीबाट अर्बौँ रुपैयाँ ठगी गरिसकेको अनुमान नेपाल राष्ट्र बैंक स्रोतको छ ।

नेपालमा यसअघि नेटवर्क मार्केटिङमार्फत ठगी गर्नेमध्ये अधिकांश यो पेसामा आबद्ध भएको पाइएको छ । उनीहरूले ग्र्याभिटी क्वाइन मात्रै होइन, इथर, बिटक्वाइन, अल्टक्वाइन, वानक्वाइन, एटिसीक्वाइन, बस्र्टक्वाइन, जिसिआरलगायत क्वाइनमार्फत ठगी गरिरहेका छन् । नेपालमा १५ भन्दा बढी क्रिप्टोकरेन्सीको नाममा ठगी भइरहेको पनि राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

क्रिप्टोकरेन्सी बेच्न रिटेल काउन्टर
देशका विभिन्न स्थानमा बिटक्वाइन र अन्य क्रिप्टोकरेन्सीको कारोबार गर्न दलालहरूले सहरैपिच्छै एक्सचेन्ज काउन्टरको व्यवस्था गरेका छन् । ठगहरूले सोझासाझा जनता ठग्नका लागि देशका मुख्य सहरहरूमा क्रिप्टो एक्सचेन्ज काउन्टर सञ्चालन गरेर बसेका छन् । काठमाडौं, पोखरा, नेपालगन्ज, धनगढी, चितवन, हेटौँडा, विराटनगर तथा धरानमा अवैधानिक कार्यालय नै राखेर भर्चुअल करेन्सीको कारोबार हुने गरेको हो । ठमेल, दरबारमार्ग, पाटन, महाराजगन्जलगायत क्षेत्रमा काठमाडौंमा बिटक्वाइन र अन्य क्वाइनको काउन्टरहरू सञ्चालनमा रहेको यस क्षेत्रमा काम गर्नेहरू बताउँछन् ।

उनीहरूले सम्पर्क नम्बर राखेर खुलमखुला रूपमा करोबार गरिरहेका छन् । यो कारोबारमा संलग्नमध्ये धरैजसो मोबाइल नम्बरमा सीधै कुरा गर्दैनन् । मोबाइल नम्बर राख्ने, तर त्यो मोबाइल नम्बरमा सम्पर्क गर्नका लागि ह्वाट्स एप वा भाइबरको प्रयोग गर्नुपर्ने हुन्छ । काठमाडौंमा बिटक्वाइनको कारोबारका लागि बिटसेवाडटकम भन्ने वेबसाइट र मोबाइल एप्लिकेसन नै प्रयोग गरिएको छ । त्यस्तै, बिटक्वाइननेपालडटकमले पनि बिटक्वाइनको कारोबार गरिरहेको छ । बिटसेवा एप हजारचोटि डाउनलोड भइसकेको छ । यसले बिटक्वाइनलाई खरिद तथा बिक्री गर्ने र बीचमा बसेर मार्जिन पनि लिने गरेको छ । तर, वेबसाइट र एप दुवैमा सम्पर्क नम्बर, व्यक्ति तथा इमेल भने उल्लेख छैन ।

ठगी गर्न सोसल साइटको प्रयोग
नक्कली क्रिप्टोकरेन्सीमार्फत ठगी गर्नेले सामाजिक सञ्जालको अत्यधिक प्रयोग गर्ने गरेका छन् । फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जाललाई ठगहरूले यी क्वाइनको मार्केटिङ गर्ने थलो बनाइरहेका छन् । फेसबुक र ट्विटरमा दर्जनौँ पेज, ग्रुप, एकाउन्ट र ह्यान्डल प्रयोग गरी अवैध क्रिप्टोकरेन्सीको मार्केटिङ गर्ने गरिएको छ । ठगहरू सोसल साइटमा विभिन्न विज्ञापन गर्ने मात्रै होइन, लगानीकर्तासँग अन्तत्र्रिmयासमेत गर्ने गरेका छन् ।

जिल्ला–जिल्लामा ग्र्याभिटी सेमिनार
गत १३ जेठमा नेपालगन्जको ह्वाइटहाउस रिजेन्सी होटेलमा ग्र्याभिटी सक्सेस सेमिनार आयोजना भयो । बिहान ९ बजेदेखि ४ बजेसम्म आयोजना भएको सेमिनारमा ‘अन्तर्राष्ट्रिय लाइफ कोच’ भनिएका छम गुरु, जिपी पौडेल र मुस्कान नेपालीले सम्बोधन गरेका थिए । पश्चिम क्षेत्रका सय लिडरले भाग लिएको कार्यक्रममा सहभागिताका लागि हजार रुपैयाँ लिइएको थियो । ग्र्याभिटी क्वाइनमार्फत ठगी गर्नेले यस्तै सेमिनारहरू देशका विभिन्न ठाउँ र नेपालीहरू वैदेशिक रोजगारीमा रहेका मुलुकमा आयोजना गर्ने गरी मानिसहरूलाई फसाउने गरेको स्रोतको भनाइ छ । नेपालगन्ज बसेर एक व्यक्तिले काठमाडौं नयाँ बानेश्वरका युवालाई ठगी गरेकोसमेत पाइएको छ । नेपालगन्जका विजय चौधरीले नयाँ बानेश्वरका अर्जुन खड्कालाई ठगी गरेका हुन् । खड्काले २ सय डलरको प्याकेज किनेका थिए ।

ग्र्याभिटीका मास्टर माइन्ड अविनाश साह
ग्र्याभिटी क्वाइन ठगीका नाइके अविनाश साह भएको खुलेको छ । उनी केहीअघिसम्म ग्लोबल करेन्सी रिजर्भ ९जिसिआर० नामक क्वाइनको नेटवर्क मार्केटिङमा संलग्न थिए । त्यो समूहमा साहबाहेक मिङमार लामा, जिपी पौडेललगायत २०–२५ जना थिए । जिसिआरले नेटवर्क मार्केटिङ बन्द गरेपछि अविनाश र जिपीलगायतको समूह ग्र्याभिटी क्वाइन बनाएर ठगी गर्न लागेको हो । क्वाइनको विकास भने इप्लानेटनामक कम्पनीका कृष्ण झाले गरेका थिए ।