संघर्षको अर्को नाम - 'कमरेड सुरक्षा' - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

संघर्षको अर्को नाम – ‘कमरेड सुरक्षा’



हिमालपोस्ट विशेष

बैदेशिक रोजगारिले डोर्‍याएर मरुभूमिमा ल्याई पुर्याएको यौटा संघर्षशिल नाम हो –कमरेड सुरक्षा, सक्रिय राजनैतिक जीवनलाई अल्पबिराम लगाउदै सुमधुर भविष्य निर्माणको लागि कतारको राजधानी दोहा आइपुगेकी ‘कमरेड सुरक्षा’ या नि गायिका नानु घले ।

बैदेशिक रोजगारीको शिलशिलामा अहिले कतार देशको राजधानी दोहामा कार्यरत रहेकी ‘कमरेड सुरक्षा’ पुर्व माओवादी लडाकु हुन् । सोह्र बर्षकै उमेरमा देश र जनताको मुक्तिका खातिर बन्दुक बोकेर युद्धमा होमिएकी नानु घलेलाइ पार्टीले प्रदान गरेको नाम हो ‘कमरेड सुरक्षा’ ।

राजनीतिमा पटक्कै चासो थिएन उनलाई । त्यसमाथि अझ युद्धको बारेमा त उनी अनभिज्ञ नै थिईन् । तर परिस्थिति त्यस्तै आइ पर्‍यो। भूमिगत भएका साथीहरु आए र स्कुल ड्रेस मै उनलाई लडाईं गर्नुपर्छ भनेर लिएर गए । कसको लागि लड्ने भनेर प्रश्न गर्नु अगावै उनलाई गरिब र दुखि जनताको मुक्तिको लागि लड्ने र देशमा गरिवको राज्य स्थापना गर्ने भनेर तालीम दिईयो । उनी आफु यसै गरिब छदै थिईन् । गरिवको लागि लड्नु आफ्नै लागि लड्नु जस्तै लाग्यो र उनी होमीईन् ‘जनयुद्ध’मा ।

तर लगत्तै पहाड झैं तेर्सिएका चुनौतिहरु र खहरे झैं उर्लेका आर्थिक समस्याहरुले उनको फर्कने बाटो छेकेको जस्तो मान्छिन र रोकिन्छिन, दोहा एयरपोर्टमा भाग्यमानिहरु उडेको जाहाजलाई हात हल्लाएर बिदाई गर्नु उनको बाध्यता बनेको छ ।

आफू सानै छँदा आमा गुमाएकी नानु सौतेनी आमाको दलनमा हुर्किएकी हुन् । परिस्थितिले मलाइ टुहुरी बनायो र त्यही कारणले नै म जनयुद्दमा लाग्नु परेको हो कि ? पुराना दिन सम्झदै उनले लख काटिन । सायद जन्मदिने बाबा आमा साथमा भईदिएको भए मलाइ लुकाउन पो सक्थे कि । मैले बन्दुक बोकेर हिड्नु पर्ने थिएन कि र जिन्दगी आज जस्तो नभएर अर्कै किसिमको पो हुन्थ्यो कि ? यो उनको परिकल्पना मात्र हो, साँच्चै लडाकु नभएको भए अहिले उनी के हुन्थिन् ठ्याक्कै अनुमान गर्न उनी पनि सक्दिनन् ।

आफ्नै जिन्दगीको अनेक आरोह–अवरोह खेपिरहेका बेला उनको गाउँमा जनयुद्धमा होमिने लहर चलेको थियो । त्यहि लहरले उनलाई महान जनयुद्दको एक हिस्सा बनाएको हो । नानु घले ‘कमरेड सुरक्षा’ भएर युद्द लडेको केही समयपछी देश शान्ति प्रक्रियामा प्रवेश गर्‍यो । उनी चितवनको शक्तिखोरमा रहेको आधार शिविरमा पुगिन् ।

नानु सम्झिन्छिन्– ‘लडाकु गणना भइरहेका बेला उनलाई शक्तिखोर आधार शिबिरमा राखिएको थियो । एक वर्षको अन्तरालमा दुइ पटक प्रमाणीकरण प्रक्रियामा उनलाई उभ्याईयो दुवै पटक उनि उत्तीर्ण भईन् । खासमा उनको इच्छा अनुसार ‘हेल्थ असिस्टेन्ट’ पढाउने र युद्धमा बिमारी भएका लडाकु अथवा युद्धको कारणले बिमारी भएका सर्वासाधारण जनताको उपचार गर्ने भनेर उनी जनयुद्दमा होमिएकी थिईन । तर भित्रको परिस्थिति अर्कै थियो । केही रहरहरु जनयुद्दका कारण अधुरा रहेपनि देशमा आमुल परिवर्तन आएको थियो त्यसैमा उनि सन्तुष्ट थिईन ।

नानुको जीवन कहानी पनि उस्तै विचित्रको रहेछ । शक्तिखोर शिविरबाट निस्केर उनले चितवन बाटै एसएसली परीक्षा दिएकी थिइन् । बिबिध कारणले पढाई पुरा हुन सकेन फेरी पनि उनि सन्तुष्ट छैनन् । त्यो समयमा पढाई त छुट्यो तर उनको पढ्ने रहर भने मरेको छैन । अब नेपाल फर्केर फेरी एसईई दिने सोचमा छन् उनी ।

हुर्कदै गरेको छोरालाई काखमा लुटुपुटु पार्ने रहरलाई अधुरै छोडेर मरुभूमि तिर हान्निएकी नानुको अबको यौटै उद्देश्य भनेको छोराको भविष्य सुरक्षित पार्नु हो । त्यही छोरालाई राम्रोसँग पढाउन सके उसले केही गर्ला अथवा छोरा पक्कै कतै स्थापित होला । त्यही बिषयमा बढी सोच्छिन् अचेल उनी । यो निरन्तरको आफ्नै संघर्ष र जीवनको लडाइँबाट नथाकेरै उनी कतार आएको छ-सात वर्ष हुन लागिसकेको छ । पार्टी प्रति उनको केहि गुनासो पनि छैन । अहिले जत्तिको टाठीबाठी आफु छु । त्यो सबै पार्टीमा सिकेको कुराको प्रभाव हो भन्ने मान्दछिन् उनी ।

वर्षमान पुन सँगसँगै खाना खाएको अनुभव छ उनीसँग । अनि ओनसरी घर्तिसँगसँगै गफगाफ गरेको अनुभव छ । अझै पनि पार्टीले खटायो भने जुनसुकै स्थानमा पुग्न सक्छिन उनी । पार्टीले दिएको जिम्मेवारी कहिल्यै बोझिलो लागेन, यतिका बर्ष पछी पनि पार्टी प्रति उत्तिकै आस्थावान सुरक्षा अहिले पनि पार्टी कमाण्डको सम्पर्क मै छिन । पार्टीको प्रवाश ब्युरोमा सक्रियताका साथ् काम गरिरहेकी घले नेपाल फर्केर पनि थप योगदान गर्न तयार छन् । घले भन्छिन पार्टीले भन्छ भने म तुरुन्तै नेपाल फर्कन्छु ।

आफुसंगै सिविरमा भेटिएका नेताहरु अहिले देशको उच्चतम पदमा पुगेको देखेर पनि उनको मनमा अलिकति डाह या इर्ष्या समेत छैन । उत्तिकै शान्त भएर उनी भन्छिन् किस्मतमा जे लेखेको छ त्यत्ति मात्र पाइन्छ, त्यो भन्दा बढीको आशा गर्नु हुदैन । अहिले मैले जे पाइरहेको छु त्यो मेरो किस्मतमा थियो र उहाँहरुले जे पाउनुभयो त्यो उहाँहरुको किस्मतको कुरा हो डाह गरेर अरुको भाग पाउन सकिदैन । जति आफ्नो भागमा पर्यो त्यतिमै सन्तुष्ट हुनुपर्दछ ।

यति भएरपनि उनले आफ्नो सौखलाई बचाएकै छिन् । त्यही क्रममा उनका लोकदोहोरी एल्बमहरु बजारमा आइसकेका छन् – फूलै फुलेन, सालैजो, नुवाकोटे नानी आदि गीतहरु उनले गएका हुन् । जुन लोकप्रिय समेत भएका छन् । लोक गीतका शब्द लेख्न, भाका बनाउन र तुरुन्तै दोहोरी खेल्न पनि उत्तिकै खप्पिस छन् कमरेड सुरक्षा । दोहामा बिदाको दिन प्राय: स्टेज कार्यक्रममा गीत गाएर नै बिताउँछिन् ।

‘सालैजो’ लोकभाका पश्चिमी भेगको भए पनि नानुले नुवाकोटे नानी बनेर यताको श्रोताका लागि पनि भाका भित्राएकी हुन् । ‘मनको बह कसैलाई नकह भन्छन्,’ कतार विमानस्थलको सेक्युरिटीको जागिर साह्रै दुख पनि छैन र अति सजिलो पनि छैन । सुटकेस बोकेर दिनहु नेपाल फर्किरहेका दाजुभाई दिदीबैनीहरुको लावालस्कर देख्दा उनलाई पनि भर्खरै उडेर जाउँ कि जस्तो हुन्छ । तर परिस्थितिका पहाडहरु निकै ठुला छन् तिनलाई छिचोल्नु बाँकि नै छ । उनले घर फर्कने सपनालाई कतै कुनामा थन्क्याउछिन् ।

कतारमा ‘ग्रुप सेक्युरिटी सर्भिस’ (जीएसएस) को जागिर उनको मुख्य काम हो । दोहा इन्टरनेशनल एयरपोर्टमा खासगरी अति ‘संबेदनशील फ्लाईट’ स्क्यान गर्ने सुरक्षा निकायमा काम गर्छिन उनले । उनको समुहले दैनिक नेपालबाट अमेरिका हिंडेका दर्जनौं दाजुभाई दिदीबैनी हरुलाई स्क्यान गर्छन र जहाज तर्फ पठाउछन् । उनको टिमले ‘रेडी टु फ्लाई’ सिग्नल दिएपछि मात्र जहाज रनवेमा निस्कन्छ । यो निकै चुनौतिपूर्ण काम हो । फरक फरक किसिमका दर्जनौं तालीमहरु गरेपश्चात उनि यो कामको लागि छानिएकी हुन् ।

तर नानुको भित्री रुची भने भिन्नै रहेको छ । गायन उनले छाड्नै नसक्ने रहर हो । उनको त्यस्तै समाजसेवामा पनि निकै चासो छ । उनले आफ्नो रुममा नै च्यारिटी बक्स राखेकी छन् र हरेक दिन तरकारी राशन किन्दा फर्केको छुट्टा पैसा त्यसैमा खसाउने गर्छिन् । अलिकति जम्मा हुने बित्तिकै कसैलाई सहयोग गर्न पाउँदा उनलाई अति आनन्द लाग्छ रे ।

कमरेड सुरक्षा दोहाको सामाजिक सकृयतामा पनि निकै रमाउछिन् । अहिले राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपाल –कतार शाखाकी सस्थापक उपाध्यक्ष रहेकी नानु घले अन्य संस्थाहरुमा समेत आवद्ध रहेकी छन् । लोकगीत र दोहोरी गायनमा खुबै रुची राख्ने नानु आफ्नै जिन्दगीको कथा–व्यथा भुल्न पनि गाउने–रमाउने दुनियाँमा आएकी रहिछन् ।

कति समय बसिरहने परदेशमा? यो प्रश्न उनको मनमा खेल्ने मात्र होइन हरेक आफन्त र साथीभाईले समेत सोधिरहने प्रश्न हो । अरुले सोध्दा त जसो तसो जवाफ दिन्छिन नानुले तर जब हुर्कदै गएको छोराले ममी कहिले फर्कने, कहिले हामि संगै बस्ने भनेर सोध्छ तावा भने भक्कानो फुट्ला जस्तो हुन्छ उनको । अनि योजना बनाउछिन अब त छिट्टै फर्कनु पर्ला कि ।

तर लगत्तै पहाड झैं तेर्सिएका चुनौतिहरु र खहरे झैं उर्लेका आर्थिक समस्याहरुले उनको फर्कने बाटो छेकेको जस्तो मान्छिन र रोकिन्छिन, दोहा एयरपोर्टमा भाग्यमानिहरु उडेको जाहाजलाई हात हल्लाएर बिदाई गर्नु उनको बाध्यता बनेको छ ।

अहिले भने नानु घले र उनको समुहका केहि साथिहरुले कसरि नेपाल फर्कन सकिन्छ त भन्ने प्रश्नमा ब्यबहारिक बाटो नै खोज्न लागि परेका छन् । उनीहरुले हेटौडाको पदम पोखरी भन्ने ठाउमा ‘कार्ड्स कर्पोरेशन’ भन्ने कम्पनि खोलेर नेपाल फर्केर काम गर्न चाहने युवाहरु लाइ कृषि, पशु पालन र मत्यपालन लगायत काममा आत्मा निर्भर बनाउने योजनामा छन् उनीहरु । कतारमा पनि “गो ब्याक इन नेपाल” नारा लिएर उनीहरुको संस्था सक्रिय भएको छ । नेपाल फर्कन प्रेरणा दिने संस्थामा उनि उपाध्यक्ष छन् । यहि संस्था मार्फत फर्कने बित्तिकै देखि ब्यस्त हुनेगरी उनले स्वदेश फर्कने योजना बनाईरहेकी छन् ।

अब के गर्ने रहर छ त भन्ने प्रश्नमा घले भन्छिन; ‘सगरमाथा चढ्ने रहर छ’ । उनलाई थाहा छ सगरमाथा आरोहण निकै खर्चिलो र उत्तिकै जोखिमयुक्त काम हो फेरिपनि उनलाई सगरमाथा चढ्ने रहर छ । त्यसको लागि तालिम कहाँ गर्ने, आवस्यक सामलको जोहो कसरि गर्ने तिनै कुराको अध्ययन र खोजीमा लेगेकी छन् अहिले । कोहि अनुभवी मान्छे भेटियो भने सोधिहाल्छिन हिमाल आरोहणको बारेमा । मोबाईल बाट गुगल गरिरहन्छिन सगरमाथाको बारेमा र हिमाल आरोहणको बारेमा ।

अरु कुरा त सकिएला तर खर्च जोहो कसरि गर्ने ? उनको त्यहि चिन्ता छ अहिले । ठुला ठुला कम्पनीहरुले स्पोन्सर गर्छन रे सगरमाथा आरोहीलाई भन्ने थाहा छ उनलाई आफ्नो लागि पनि कोहि स्पोन्सर भेटियो भने उनको अबको लक्ष भनेको सगरमाथा आरोहण नै हो यो हुटहुटि उनको मनमा खेलिरहेको छ । आँटे कसो नपुग्ला र हो यहि सोचेर सगरमाथा आरोहणको योजना बनाउदै छन् उनि ।

उनको सगरमाथा आरोहणको धोको छिट्टै सफलता पुर्वक पुरा होस् –हाम्रो पनि शुभकामना

प्रस्तुति – हिमाल पोस्ट