सुतेको कांग्रेसको होश खुल्यो: देउवामाथि व्यापक दवाव - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सुतेको कांग्रेसको होश खुल्यो: देउवामाथि व्यापक दवाव



काठमाडौं- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा बुधबार पुल उद्घाटन गर्न रोकेर प्रहरीले नियन्त्रणमा लिएको घटनाले तरंग ल्याएको छ । बेहोश अवस्थामा रहेको काँग्रेस फेरि जुर्मराएको छ । सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुन सभापति शेरबहादुर देउवामाथि दबाब बढेको छ ।

देउवाले आज तनहुँ घटनाका अलावा विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक डाकेका छन् । बैठकले समग्र देशको राजनीतिक र काँग्रेसको भावी रणनीतिबारे छलफल गर्ने बुझिएको छ ।

प्रतिपक्षी भएर सत्तापक्षमाथि सधै आक्रामक बन्नुपर्नेमा काँग्रेस झन् रक्षात्मक बनेको अवस्था छ । अब देउवामाथि काँग्रेस सरकारविरुद्ध आक्रामक बन्ने दबाब बढेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले पुल उद्घाटनमा रोकिएपछि कडा कदम चाल्ने सकेत गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतन्त्रविरोधी भनेर अब उत्पन्न हुने परिस्थितिको सामना गर्न चेतावनी दिए । समकालिन राजनीतिमा प्रभावशाली नेताहरुमध्ये पौडेलले मात्र ओलीलाई यो हदसम्मको चुनौती दिन सकेका छन् । उनले ओली लोकतन्त्रका लागि नभई ज्यान मुद्दामा १४ वर्ष जेल परेको टिप्पणी गरे । यसले पनि राजनीतिकवृत्तमा तरंग ल्याइदिएको छ ।

पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएको घटनाले काँग्रेसभित्र नयाँ प्रकारको आक्रोश समेत जन्मिएको छ । वरिष्ठ नेतामाथि समेत यस्तो भयो भने देशभरका काँग्रेस कार्यकर्तामाथि कस्तो व्यवहार भयो ? यो प्रश्न उठाउन थालिएको छ । यसपटक पौडेलले आक्रामक तरिका अपनाएर बेहोशतुल्य काँग्रेसलाई जगाउन खोजेका छन् ।

बुल्दीखोला पुल उद्घाटनको अवरोध घटनाले काँग्रेसलाई जागरुक बनाउन खोजेको छ । उनले पुल उद्घाटन मात्र गरेनन् सरकारलाई कडा चुनौती दिए । पौडेलको यो कदमले उनलाई काँग्रेसभित्र लोकप्रीय बनाएको छ । काँग्रेसको विरोधीसँग जुध्न सक्ने सन्देश पनि पौडेलले दिएका छन् । साथै, सभापति देउवामाथि दबाब सृजना गरेका छन् ।