टिकट वितरणको जिम्मा देउवालाई दिएपछि कांग्रेसमा बबण्डर Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

टिकट वितरणको जिम्मा देउवालाई दिएपछि कांग्रेसमा बबण्डर



काठमाडौं– निर्वाचन नजिकिएसँगै नेपाली कांग्रेसमा लफडा सुरू भएको छ । पार्टी सभापति शेरबहादुर देउबाले निर्वाचनमा टिकट वितरण गर्दा मनलाग्दी गर्ने आशंकासहित संस्थापन इतर समूहले छलफल गरेको छ ।

शेखर कोइराला समूहको शनिबार बैठक बसेको छ। बैठकमा सहभागी नेताहरुले सभापति शेरबहादुर देउवाले पार्टीमा न्यायोचित व्यवहार नगरेको दाबीसहित अब भागबन्डा खोज्नुपर्ने अवस्था आएको बताएका छन्।

पत्रकारसँग कुरा गर्दै नेता गुरुराज घिमिरेले सभापति देउवाको अहिलेसम्मको व्यवहार हेर्दा आगामी संसदीय निर्वाचनमा पनि न्यायोचित व्यवहार गर्ने नदेखिएको बताए।

‘८ महिनामा भएका एक दर्जन निर्णयमा प्रतिस्पर्धी समूहका एक जनालाई पनि समेट्नुभएको छैन। राष्ट्रिय सभाको निर्वाचन, स्थानीय तह निर्वाचन, केन्द्रीय समिति सदस्य मनोनयन, भ्रातृ संस्थाको अध्यक्ष मनोनयनमा प्रतिस्पर्धी समूहका व्यक्तिसँग सल्लाह गर्नुभएन। समेट्दा पनि समेट्नुहुन्न। यसबाट के बुझियो भने आगामी संसदीय निर्वाचनमा पनि उहाँले समेट्नुहुन्न,’ घिमिरेले भने ।

न्यायोचित निर्णय नहुने भए भागबन्डामा जानुपर्ने उनको तर्क छ। ‘सभापति देउवाले पार्टीभित्र न्यायोचित निर्णय गर्नुुहुन्न भने ४० प्लस चाहियो,’ घिमिरेले भने, ‘सभापतिको अभिभावकीय ठाउँबाट सोचेर अगाडि बढाउनुभएको भए यो विवाद आउने थिएन। अब अस्तित्वको लडाइँ लड्नुपर्ने भयो।’

त्यस्तै कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा टिकट वितरण गर्दा मनलाग्दी हुन नहुने बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा नेता केसीले दलभित्रको विविधतालाई बुझेर न्यायोचित टिकट वितरण हुनुपर्ने माग गरेका हुन्।

‘सर्वदलीय गठबन्धन समितिले यसमा छलफल गरोस्। एकातिर मापदण्ड र अर्कोतिर मन पर्नेलाई टिकट दिने काम नहोस्। यसले परिणाम गम्भीर बनाउन सक्छ,’ केसीले भने, ‘गठबन्धनको लक्ष्य पनि पूरा हुँदैन। मनपरी गर्दा गठबन्धन जुन लक्ष्यका लागि बनेको हो, त्यो लक्ष्य पूरा हुँदैन।’

नेता केसीले संस्थापन पक्षले न्यायोचित टिकट वितरण गर्ने विश्वास रहेको बताए। संस्थापनले मनपरी गरेर टिकट दिन थाले त्यसको परिणाम गम्भीर हुने चेतावनी उनले दिए। कांग्रेसको गठबन्धनभित्र रहेका दलहरूले गठबन्धनबाहिरका दलसँग तालमेल गर्ने विषय नियम विपरीत हुने भएकाले यसबारे छलफल आवश्यक रहेको उनको भनाइ छ।