काङ्ग्रेस विवाद: देउवाको दाउ र पौडेलको भाउ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

काङ्ग्रेस विवाद: देउवाको दाउ र पौडेलको भाउ



काठमाडौँ- नेपाली काँग्रेसभित्र अब हुने १४औँ महाधिवेशनलक्षित शक्ति सङ्घर्ष तीव्र रूपमा बढेको छ । आगामी फागुनमा चारवर्षे कार्यकाल सकिन लाग्दा संस्थापन पक्ष र अर्को पक्षबीच शक्ति आर्जन गर्ने होडबाजीमा शक्ति सङ्घर्षले उचाइ लिएको हो ।

संस्थापन पक्ष अरू एक वर्ष अवधि थप्न चाहन्छ भने अर्को पक्ष कार्यतालिकासहित महाधिवेशन गराउने सर्तमा मात्रै अवधि थप्नुपर्ने अडानमा छ । महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने पक्षमा चर्को दबाब दिँदै आएको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकलाई बहिष्कार गरेको छ ।

अघिल्लो बैठकमा पौडेल पक्षका दुई नेता आएर महाधिवेशनको कार्यतालिका आउनुपर्ने अडान राख्दै बाहिरिए पनि आइतबारको बैठकमा कोही पनि उपस्थित भएन । त्यति मात्र होइन, केन्द्रीय कार्यसमितिको बैठक चलिरहँदा वरिष्ठ नेता पौडेल भने उपत्यकाबाहिर रहेका छन् ।

कुल ८४ सदस्यीय कार्यसमितिको बैठकमा बहुमत सदस्य उपस्थित नभएको जानकारी पार्टी सचिवालयले दिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले विभिन्न विषयमा छलफल गरी निर्णय पनि सार्वजनिक गरेको छ तर सङ्गठनलाई दूरगामी असर पर्ने खालका निर्णय भने गरिएको छैन । बैठकमा उपसभापति विमलेन्द्र निधिले शनिबार राति दुवै पक्षबीच भएको छलफल सहमतिनजिक पुगिएको जानकारी गराएका थिए ।

सभापति देउवाले उपसभापति निधिलाई सहमतिको वातावरण बनाउने जिम्मेवारी दिएको छ । यसैगरी उपसभापति विजयकुमार गच्छदार एवं केन्द्रीय सदस्यद्वय बालकृष्ण खाँण र रमेश लेखकले सरकारका गतिविधि, सङ्घीय संसद्को अधिवेशन, उपनिर्वाचनको नतिजा, पार्टीका गतिविधिका बारेमा बैठकलाई जानकारी गराए।

बैठकपछि कुरा गर्दै केन्द्रीय सदस्य खाँणले काँग्रेसमा सहमति जुट्छ र एकढिक्का भएर अगाडि बढ्छ, त्यसका लागि छलफल चलिरहेको जानकारी दिए। नेता खाँणले भने, “काँग्रेस जनताको हकहित र संविधानको रक्षा गर्न एकजुट भएर लाग्छ, सरकारले ल्याउन लागेको संवैधानिक परिषद् र अन्य कानुनका विषयमा बैठकमा गम्भीर छलफल भएको छ, बम विस्फोट लगायतका विषयमा बैठकले निर्णय पनि गरेको छ ।”

अर्का केन्द्रीय सदस्य बहादुरसिंह लामाले वरिष्ठ नेता पौडेलसहितका नेताहरू बैठकमा अनुपस्थित रहेको जानकारी दिए। पौडेल पक्षबाट सहमति निर्माणका लागि पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा गठित तीन सदस्यीय कार्यदलका सदस्य हृदयराम थानीले महाधिवेशनको कार्यतालिका नआएसम्म बैठकमा नजाने स्पष्ट पारे।

सहमतिकै वातावरण निर्माणका लागि पौडेल पक्षका काठमाडौँमा उपलब्ध प्रभावशाली नेताहरूको बैठक महामन्त्री डा.शशाङ्क कोइरालाको निवासमा आइतबार साँझ अबेरसम्म बस्यो । केन्द्रीय कार्यसमितिको बैठकमा जानु अगाडि नै सहमति हुनुपर्ने भनाइ नेताहरूको छ ।