कुहिरोको काग नबनोस काँग्रेस - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कुहिरोको काग नबनोस काँग्रेस



-मधु ज्ञवाली-

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समेतको मिलि भगतमा असंबैधानिक `कु´ मार्फत आफ्नै पार्टिको स्पष्ट बहुमत रहेको संसद बिघटन गरेसँगै नेपालको राजनिति एकाएक तातेको छ ।

संसद बिघटन सँगै सत्ताधारी दल नेकपा डबल यसै बिषयलाई लिएर दुई चिरा परिसकेको अवस्था छ ।

भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेको ओली नेतृत्वको सरकारले आफ्नो पार्टीभित्रको आन्तरिक किचलो ब्यवस्थापन गर्न नसकेर राज्यसत्ताको चरम दुरूपयोग गर्दै असंबैधानिक रूपमा एकाएक आफ्नै पार्टीको स्पष्ट बहुमत भएको ब्यवस्थापिका संसद हठात बिघटन गर्दा मुलुककै अभिभावक, संविधानको संरक्षक समेत रहेकी राष्ट्रपतिले स्वबिवेक प्रयोग गरेर यसलाई रोक्नु पर्नेमा राष्ट्रपति समेत यसको साझेदार बन्नु आफैमा डरलाग्दो बिषय बनेको छ ।

निरन्तर रूपमा आफ्नो पार्टीमा आफू ईतरका नेताहरू, प्रतिपक्षि दल, अन्यदलहरू,पत्रकार, कलाकार, नगरिक समाज, बुद्धिजिवी बर्ग र आफ्नो कुकृत्यको खिलाफमा बोल्ने आम सर्वसाधारणलाई समेत विभिन्न बहानामा अपमानित गर्ने धरपकड गर्ने तर्साउने गर्दै आएको यो सरकारको संसद बिघटनको कदमलाई असंबैधानिक ‘कु’ को रूपमा मात्र बुझ्न सकिँदैन । अन्तत यो कदम असंबैधानिक ‘कु’ मार्फत निरंकुस तानाशाहि शासनतर्फ उन्मुख हुने निश्चित जस्तै देखिएको छ । यसको दृष्टान्तको रूपमा संसद बिघटन पश्चात् स्वत: कामचलाउ सरकारमा परिणत हुनु पर्नेमा त्यसो नहुनु भटाभट मन्त्रिपरिषद बिस्तार गरिनु संबैधानिक निकायहरूमा नियुक्ति गरिदै जानू लगाएत लाई लिन सकिन्छ ।

देशमा आइपरेको यस्तो संकटपुर्ण अवस्थामा संसदको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसतर्फ राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतको ध्यान केन्द्रित भएको छ । सबैले हेरिरहेका र भनिरहेका छन् काँग्रेसले अब के गर्छ ?

सबैले चासोका साथ हेरिरहेको यस्तो अवस्थामा नेपाली काँग्रेस सरकारले चालेको यो प्रतिगामी कदमको बिरूद्धमा तत्कालै चट्टानी अडानको साथ सडकमा उभिनु पर्नेमा ‘कु’ गरेको यतिका दिन बित्दासम्म ढुलमुले देखिनुले सबैमा निरासा छाएको छ ।

सामान्य अवस्थमा हेर्दा एउटा लोकतान्त्रीक दलको लागि निर्वाचनमा जाने र जनमत लिने कुरा स्वागत योग्यनै हुन्छ तर निर्वाचन के कस्तो अवस्थामा हुदैछ संविधान सम्मत छ छैन भन्ने कुरा महत्वपुर्ण हुन आउँछ । तसर्थ यो निरासालाई चिरेर छिटो भन्दा छिटो काँग्रेस सडकमा ओर्लेर सरकारलाई घुँडा टेकाउन तर्फ लाग्नुपर्छ न्यायालयले समेत काँग्रेसले के भनिरहेको छ भनेर हेर्न बाध्य पार्नु पर्छ । तबमात्र जनतामा देशको स्थिर र विस्वासिलो शक्ति भनेकै काँग्रेस हो भनेर पुन:स्थापित गर्न सकिनेछ ।

त्यसकालागि काँग्रेस नेतृत्व सर्वप्रथम सत्ता स्वार्थबाट टाढा रहनु पर्छ । कामचलाउ भैसकेको यो सरकारले गरेका सबै संबैधानिक अङ्गमा भएका नियुक्तिहरू अस्विकार गर्नुपर्छ, जनतामा भ्रम पर्नेगरी सरकारका कुनै पनि गतिबिधिमा सहभागी हुनु हुदैन र ब्यवस्थाको रक्षाको एक सुत्रिय माग सहित अगाडि बढ्नु पर्दछ ।

यो काँग्रेसका लागि सुनौलो अवसरसमेत हो सत्ताधारी दल बिभाजित भएर एउटा समूह सत्तामा छटपटाई रहेको छ भने अर्को समुह तीन पुर्व प्रधानमन्त्रीको नेतृत्वमा हार गुहार गर्दै काँग्रेसको नेतृत्व खोज्दै काँग्रेसको दैलोमा न्यायको भिख माग्दै आईरहेको छ । यस्तो अवस्थामा उनिहरूको आवजलाई पनि काँग्रेसले सुनिदिनुपर्छ । तर काँग्रेसले उनीहरूसँग संयुक्त आन्दोदनको बाटो लिनु हुदैन किनभने उनीहरू तिनै जना (झलनाथ, माधवकुमार, प्रचण्ड)को विगत् त्यति विश्वास गर्न लायक छैन त्यसबाट सचेत हुँदै आफ्नै तरिकाले काँग्रेस एक्लै आन्दोलनमा जानू उपयुक्त हुन्छ ।

झट्ट हेर्दा आजको परिस्थिति काँग्रेसको लागि अनुकल देखिएको छ । सुबिधाजनक बहुमत प्राप्त सत्ताधारि दल बिभाजित भएर मध्यावधि निर्वाचनमा जादै छ । यस्तो अवस्थामा काँग्रेसको लागि निर्वाचन अधिकाधिक अनुकुल हुन्छ र यहि अवस्थामा निर्वाचन भएमा काँग्रेसले बहुमत प्राप्त गर्ने कुरामा समेत सायदै दुईमत होला तर त्यसो भन्दैमा काँग्रेसले आफ्नै नेतृत्वमा निर्माण गरेको संबिधानको मर्मलाई कुल्चेर क्षणिक लाभको निमित्त वर्तमान सरकारले असंबैधानिक रूपमा घोषणा गरेको मध्यावधि निर्वाचनमा भाग लिने भुल गर्नु हुदैन ।

काँग्रेसको ध्यान ब्यवस्था बचाउने तर्फ केन्द्रित हुनु पर्दछ । ईतिहासमा कैयौ पटक काँग्रेस नेताहरू सत्तास्वार्थ भन्दा टाढा रहेर लामो र कठिन संघर्ष मार्फत तत्कालिन शासकहरूलाई पराजित गरेर देशलाई संबैधानिक शुन्यताबाट मुक्त गर्दै सहि दिशा दिन सफल भएको कुरा सबै सामु छर्लङ्ग छ । तसर्थ वर्तमान नेतृत्व पनि देशमा आईपरेको यो संबैधानिक संकटलाई सुजबुझ पुर्ण तरिकाले सबैलाई साथमा लिएर निकास दिनेतर्फ लाग्नु पर्दछ । आजको यो संकटबाट देशलाई बचाउने जिम्मा पुनः काँग्रेसको काँधमा आईपुगेको छ । काँग्रेसको सामुहिक नेतृत्वले अत्यन्त सुजबुझपुर्ण तरिकाले अबको बाटो तय गर्नु पर्दछ ।

आम जनता र कार्यकर्ताले भनिरहेका छन् काँग्रेसको अबको बाटो आफ्नै नेतृत्वमा जारी गरेको बहुलवादमा आधारित संबिधानको रक्षा गर्दै संसद पुनःस्थापनाको एक सुत्रिय माग सहित सडक संघर्ष नै हो सत्ता स्वार्थमा लटपटिएर कुहिरोको काग नबनोस काँग्रेस ।