संसदको निर्वाचनमा कांग्रेसले १०० भन्दा बढि सिट जित्ने दाबी - Himal Post Himal Post
  • २२ श्रावण २०७९, आईतवार
  •      Sun Aug 7 2022

संसदको निर्वाचनमा कांग्रेसले १०० भन्दा बढि सिट जित्ने दाबी



काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री सुनिलबहादुर थापाले आगामी प्रतिनिधिसभाको निर्वाचनमा पनि यही गठबन्धन कायम रहने बताएका छन् । उनले शीर्ष नेताहरु पनि संघ र प्रदेशको निर्वाचनमा यही गठबन्धन कायम गरेर जानेमा एकमत रहेको सुनाए ।

प्राइम टेलिभिजनसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।उनले मुलुकमा आएको संकटलाई पार लगाउनको लागि नै पाँच दलीय गठबन्धन बनेको स्मरण गराए । उनले अहिलेपनि कांग्रेस एक्लै चुनाव लड्न बलियो रहेको सुनाए ।

उनले नेपालमा गणतन्त्र ल्याउनको लागि कांग्रेस र माओवादी केन्द्रको ठूलो हात रहेको सुनाए । एमाले नेतृत्वले सरकारमा हुँदा संविधान तहसनहस बनाउनको लागि प्रयत्न गरेको उनको आरोप थियो ।

उनले कांग्रेस कुनैपनि हालतमा कमजोर नरहेको जिकिर गरे । उनले आफ्नो पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्नको लागि कम्युनिष्टहरुसँग सम्झौता गरेको भन्नु सर्वथा गलत हुने टिप्पणी गरे । उनले आगामी संसद्को निर्वाचनमा कांग्रेसले १०० सिटभन्दा बढि जित्ने पनि दाबी गरे ।

विहानीले दिनको संकेत गर्छ भनेजस्तै स्थानीय तहको निर्वाचनको परिणामले पनि अबको संसद्को निर्वाचनमा कांग्रेसले एक सय सिटभन्दा बढि जित्ने थापाको दाबी थियो ।