कांग्रेसको नेतृत्व छोड्न सभापति देउवा तयार - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

कांग्रेसको नेतृत्व छोड्न सभापति देउवा तयार



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व छाड्न तयार भएका छन् । उनले अब पार्टीको नेतृत्व गर्ने अवसर युवा पुस्तालाई दिने उद्घोष समेत गरेका छन् ।

शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रममा उनले सभापतिको रुपमा यो आफ्नो अन्तिम कार्यकाल रहेको स्पष्ट पारे । उनले भने, ‘पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठूलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन ।’

आफूले नेतृत्व लिएर पार्टीलाई र पार्टी निकट भातृ संगठनलाई बलियो बनाएको सभापति देउवाले दाबी गरे । उनले थपे, ‘अहिले सबै ठाउँमा नेविसंघले जितेको छ । यो पनि सत्य कुरा हो । सधैँ हारेको नेविसंघ जितेको छ, सानो पार्टी ठूलो पार्टी भएको छ ।’

नेतृत्वलाई गाली गरे संगठन बलियो नबन्ने बताउँदै देउवाले सबै नेता र कार्यकर्तालाई एकजुट भएर काम गर्न निर्देशन दिए । देउवाले आफ्नो कार्यशैलीप्रति असन्तुष्टलाई लक्षित गर्दै भने, ‘काम गर्नुस् न पार्टी ठूलो बनाउनुस्, बलियो बनाउनुस् । विरोध गरेर पार्टी बन्नेवाला छैन, पार्टी बनाउने जनसम्पर्क नै हो । जनतामा जानुपर्छ ।’

उनले आपसी लडाइँले पार्टी दुर्घटनामा जान सक्ने भएकाले यसतर्फ सचेतसमेत गराएका थिए ।