पटक-पटक चिप्लिन्छन देउवा: लुटिन्छ कांग्रेसको इज्जत - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

पटक-पटक चिप्लिन्छन देउवा: लुटिन्छ कांग्रेसको इज्जत



काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रवाद देखाउन खोज्दा चिप्लिएका छन्। उनि कालापानीको विषयमा निरन्तर तर चर्को अभिव्यक्ति दिएका छन् । पछिल्लो समय ओलीलाई लक्षित गरी बोलेका केहि अभिव्यक्तिहरू निया उनको लागि प्रत्युत्पादक बनिरहेका छन् ।

उनले कालापानीको नेपाली भू-भाग भारतको नक्शामा पर्नुमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दोषी देखाइरहेका छन् । ओली र मोदीको सल्लाहमै नक्सा छापिएको उनको आरोप छ । ओलीकै अनुमतीले भारतले कालापानीलाई आफ्नो नक्शामा राखेको पनि उनले आरोप लगाए ।

यहि आरोप उनका लागि उनलाई विवादमा तान्ने प्रमुख कसी बन्यो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले देउवालाई आरोप पुष्टि गर्न चुनौती दियो । यो बोलीले उनी निकै आलोचित भए । सामाजिक सञ्जाल देखि आम रूपमा देउवाको खिल्ली उड्यो ।

कालापानीको विषयमा नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीसँग टेलिफोन कुराकानी गरेको विषयलाई देउवाले पार्टीको लेटरप्याड राखेर प्रवक्तामार्फत् विज्ञप्तिमा उल्लेख गर्न लगाए । प्रधानमन्त्री भइसकेका नेताले भारतीय राजदूतसँग गरेको टेलिफोन कुराकानी गरेको विषय औपचारिक लेटरप्याडमा राखेर उल्लेख गर्नुलाई देउवाको अपरिपक्वता भनियो । सत्तापक्षबाट आलोचना भयो । भारतीय पक्ष पनि असन्तुष्ट भयो ।

सुदूरपश्चिम गृहजिल्ला भएका देउवाले कालापानीबारे अभिव्यक्ति दिंदा संयमता नअपनाएको विषय चर्चामा छ । उनले नेपाल विद्यार्थी संघका नेतालाई बोलाएर कालापानीविरुद्ध प्रदर्शन गर्न निर्देशन दिए ।

यसरी राष्ट्रवादी देखिन खोज्दा देउवा चिप्लिएको धेरैले चर्चा गरेका छन् । देउवा जस्तो परिपक्क्व नेताले राष्ट्रियताको सवालमा हल्का खाले टिप्पणी गर्नु सहि भने होइन ।

यतिमात्र होइन देउवा पछिल्लो समय सबैजसो निर्णयमा आलोचित भएका छन् । वीवीसीको अन्तर्वार्ताबाट गिर्न सुरू भएको उनको साख राष्ट्रवादसम्म आइपुगेको छ । रौतहट नरसंहारका नाइके आलमको विषयमा दिएको उनको भाषणले उनको मात्र होइन पार्टीकै छबीमा दाग लागेको छ । पार्टी भित्रै पनि उनीमाथि सभापति भएर पनि गुट चलाएको र अन्य गुटलाई हेप्ने गरेको आरोप लाग्ने गरेको छ ।

यसरी सभापति नै हरेक पटक चिप्लिनेहो भने अब काङ्ग्रेसको भविष्य के होला ? यस्तो आलोचना हुँदापनि पार्टीका नेताहरू र उनका सहयोगीले सचेत नगराउने र नरोक्ने प्रवृत्तिले काङ्ग्रेसभित्र गलतविरुद्ध बोल्ने कोहि छैनन् भन्ने प्रष्ट हुन्छ ।