कांग्रेस एकजुट भएर निर्वाचन लड्यो भने बाम गठबन्धन हार्छ : महामन्त्री कोइराला - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कांग्रेस एकजुट भएर निर्वाचन लड्यो भने बाम गठबन्धन हार्छ : महामन्त्री कोइराला



काठमाडौं,कात्तिक ७ 

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले वाम गठबन्धन बने पनि कांग्रेसले निर्वाचन जित्ने दाबी गरेका छन् । भारतको कोलकातामा बसेर उद्योग व्यवसाय गरेका सर्लाहीका दिनेश सिंहलाई पार्टी प्रवेश गराउँदै कोइरालाले एक भएर निर्वाचन लड्दा कांग्रेस आत्तिनुनपर्ने बताएका हुन् ।

‘वामपन्थीले तालमेल गरेर ध्रुवीकरण गरे । तर, यसबाट कांग्रेस आत्तिनुपर्ने अवस्था छैन ।’ कोइरालाले भने, ‘हामीले पनि केही दलसँग तालमेलको प्रयास गरेका छौँ । सहयोग पनि पाउँदै आएका छौँ । कांग्रेस एकजुट भएर निर्वाचन लड्दा हामी जित्छौँ ।’ वाम गठबन्धनबाट नआत्ति चुनावी प्रचारमा लाग्न पनि उनले नेता कार्यकर्तालाई निर्देशन दिए ।

कोइरालाले आफ्नै निवास महाराजगन्जमा सोमबार आयोजित कार्यक्रममा सिंहलाई कांग्रेसको साधारण सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन् । कोइरालाले कांग्रेस सबैको रोजाइको पार्टी भएको पनि जिकिर गरे । सिंहले भारतमा लामो समय व्यापार र सामाजिक काममा सक्रिय रहे पनि अब कांग्रेसमा आबद्ध भएर जनताका लागि काम गर्ने बताए ।