कार्यकर्ता निरास पार्दै काङ्ग्रेस: समाधानका उपाय नै विवादका जड बनेपछि... - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

कार्यकर्ता निरास पार्दै काङ्ग्रेस: समाधानका उपाय नै विवादका जड बनेपछि…



काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसभित्रको विवादले नयाँ रुप लिएको छ। पछिल्लो समय देखिएको किचलोमा नयाँ प्रस्तावहरूले आगोमा घिउ थप्ने काम गरेका छन् ।

चार पटकसम्म काङ्ग्रेस केन्द्रीय समितिको बैठक स्थगित हुँदापनि विवादहरू थपिने क्रम भने जारी छ । समाधानको प्रयास गर्नको लागि अपनाइएका उपायहरू नै विवादका जड बनेका छन् ।

महाधिवेशनको कार्यतालिका, नेविसंघ, तरुण दल र विभाग गठनको विषयमा प्योकजमा सहमति नभएसम्म केन्द्रीय समितिमा नजाने पौडेल पक्षको अडानले केन्द्रीय समिति बैठक आह्वान हुँदै स्थगित हुने श्रृंखला दोहोरीरहँदा पनि विवाद समाधान हुने संकेत देखिएको छैन ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पछिल्लो पटक बहिस्कार गरे यता कांग्रेस केन्द्रीय समिति चार पटक स्थगित भइसकेको छ ।

फेरि पुस १० गतेका लागि बैठक बोलाइएको छ । जुन कारण बैठक स्थगित हुने परस्थिति बन्यो, त्यसको समाधानका लागि भने खासै काम भएको छैन ।

पार्टी भित्र विवाद समाधानका लागि भन्दै वार्ता टोली नै बनाएर काम गरे पनि केवल जग हँसाई मात्र बनिरहेको छ । कुनै समाधान त्यो टोलीले खोज्न सकेको छैन ।

नेताहरुका अनुसार बरु विवादले नयाँ नयाँ रुप लिइरहेको छ । पार्टी महाधिवेशन कार्यतालिका र कार्यकाल थपको विषयमा दुवै पक्ष सहमति नजिक भएपनि भातृ संस्था नेपाल विद्यार्थी संघ र तरुण दलका विषयमा विवाद गहिरिएको छ ।

सभापति शेरबहादुर देउवा पक्षधर नेपाल विद्यार्थी संघ र तरुण दलमा नेतृत्व पाउनुपर्ने अडानमा छ । नेविसंघमा पार्टी विलय गराएर काँग्रेसमा गएका विजयकुमार गच्छादार समुह र कृष्ण सिटौला समुहलाई पनि नेविसंघमा एक एक महामन्त्री दिन देउवा पक्षले गरेको प्रस्तावबाट पौडल समूह थप चिढिएको छ ।

तरुण दलमा पनि देउवा पक्षले सचिव थप्ने प्रस्ताव गरेको छ भने वर्तमान अध्यक्षलाई कायम गरी महासचिवमा पौडल पक्षसँग नयाँ अनुहार दिन भनेको छ ।

तरुण दलमा अध्यक्ष र महासचिवबीच द्वन्द्व छ । पौडेल पक्ष महासचिव हटाउन तयार छैन । सचिव थप्न पनि मानिरहेको छैन । पौडेल पक्ष धेरै पद राखेर आफ्नो समूहमा देउवा पक्षले खेल्न खोजिरहेको बुझाइमा छ ।

सभापति देउवा पक्षका वार्ता टोली प्रमुख उपसभापति विमलेन्द्र निधी १४ औं महाधिवेशनको कार्यतालिका र म्याद थपमा खासै समस्या नभएको भन्दै नेविसंघ र तरुण दलमा प्रतिनिधित्वको विषयले कुरा मिल्न समय लागेको स्वीकार गर्छन् ।

केन्द्रीय समिति बहिस्कार गरी नियमित जसो छलफलमा रहेको पौडेल पक्षभित्रै पनि यी सबै विषयमा एक मतको धारणा छैन ।

वरिष्ठ नेता रामचन्द्र पौडेल नेविसंघ र तरुण पदाधिकारी संख्या थप्न नहुने पक्षमा छन् । महामन्त्री डा. सशांक कोइराला, प्रकाश्मान सिंह, कृष्ण सिटौलालगायतका नेता पदाधिकारीको संख्या थप्दा पनि खासै समस्या नुहनेमा छन् ।

दुई तिहाइ सरकारको अघिल्तीर कमजोर प्रतिपक्षको रुपमा रहेको काँग्रेस त्यसमा पनि आफैं भित्रको घर झगडामा रमाउँदा सरकारलाई त हाइसन्चो भएकै होला ।

विगतका आफ्नै कमी कमजोरी सुधार गर्दै सरकारको नराम्रा कामको समेत आलोचना गरेर जनतामा जानुपर्ने बेला घर झगडा नै प्रिय मान्ने काँग्रेस नेताहरुबाट कार्यकर्ता तथा शुभेच्छुकहरुमा उत्साह थपिएला भन्दा झन् घट्दै गैरहेको छ ।