देउवा अफ्ठ्यारोमा: असन्तुष्टहरू सबै एक भए - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

देउवा अफ्ठ्यारोमा: असन्तुष्टहरू सबै एक भए



काठमाडौं- देश कोरोना महामारीले थलिएका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा भने जात्रा चलिरहेको छ । एउटा समुहले विधि र प्रक्रियाको वकालात मात्र गरिरहेपनि र अर्को पक्षले धमाधम एकलौटी नियुक्ति लगायतका निर्णय गरेपछि तनावको अवस्था आएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभागलगायत गरेको मनोनयन खारेज गर्न असन्तुष्ट पक्षका नेताहरूले दबाब दिने भएका छन्।

देउवाले १४ औं महाधिवेशनको मुखमा विभागदेखि शुभेच्छुक संस्थासम्म एकलौटी मनोनयन जारी राखेपछि वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले विरोध गरेका हुन्। देउवाले २० भन्दा बढी विभागमा एक हजार भन्दा धेरैलाई मनोनित गरिसकेका छन्।

शनिबार देउवाइतरका केन्द्रीय सदस्यको बैठकले विधान विपरीत सभापतिले मनोनयनलगायत काम गरिरहेकोले खारेज गर्नुपर्ने निष्कर्ष निकालेका हुन्। विधानमा महाधिवेशन सकिएको छ महिनाभित्र विभाग गठन गर्नुपर्ने उल्लेख छ। तर देउवाले चार वर्षे कार्यकाल सकेपछि धमाधम विभाग र शुभेच्छुक संस्थामा एकलौटी मनोनयन जारी राखेका छन्।

शनिबार करिब तीन घण्टा चलेको भर्चुअल बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू रामशरण महत, अर्जुननरसिंह केसी, शेखर कोइराला, महेश आचार्य, गुरू घिमिरे, चन्द्र भण्डारी, प्रदीप पौडेल, नवीन्द्रराज जोशी, कमला पन्त, जीवन परियार, बद्री पाण्डे, गगन थापा, धनराज गुरूङलगायत सहभागी थिए।

सभापतिले महाधिवेशन प्रभावित पार्ने गरी पद बाँडिरहेकोले अब कसरी अगाडि बढ्ने रणनीति तय गर्न बैठक बसेको एक केन्द्रीय सदस्यले जानकारी दिए।

सभापतिले विधान विपरीत के-के काम गरेका छन् भन्नेबारे केन्द्रीय सदस्यहरू गुरू घिमिरे, जीवन परियार र बद्री पाण्डेले बैठकमा प्रतिवेदन नै पेश गरेको ती केन्द्रीय सदस्यले जानकारी दिए।

विभागलगायतमा सभापतिले गरेका मनोनयन खारेजीका लागि अनशनदेखि घेराउसम्मका दवावमुलक कार्यक्रम गरेर जाने भन्ने बैठकको निष्कर्ष छ। तर आज कुनै ठोस निर्णय भने गरिनसकेको उनले बताए।

‘एकपटक सभापतिलाई भेटेर विधानविपरीत हुने गरी काम नगर्नुस्। अहिलेसम्म गरेका विधान विपरीतका काम खारेज गर्नुस् भन्छौं,’ ती नेताले भने, ‘उहाँले अटेरी गर्नुभयो भने अनशनदेखि घेराउसम्मका कार्यक्रम छँदैछ।’

तत्कालीन सभापति सुशील कोइरालाका पालामा विभाग गठनलगायतमा देउवाले असन्तुष्टि जनाएपछि खारेज गरिएको थियो। त्यहि नजिर अहिले देउवाइतर केन्द्रीय सदस्यहरूले देखाएर विभागलगायतमा मनोनयन खारेज गर्नुपर्ने माग राखेका छन्।

बैठकमा सहभागी केन्द्रीय सदस्य चन्द्र भण्डारीले सक्रिय सदस्यता, भातृ संस्था, जनसम्पर्क समिति, समायोजन प्रक्रिया र विभाग गठनबारे सभापतिलाई यसअघि नै भेटेर ध्यानाकर्षण गराए पनि नमानेपछि आज बैठक बस्नुपरेको बताए।

पार्टीका ४७ वटा विभागमध्ये देउवाले २० वटा विभागमा आफू पक्षीय नेता–कार्यकर्तालाई जिम्मेवारी दिएका पौडेल पक्षधर नेता–कार्यकर्ताहरुको आरोप छ ।