कांग्रेस बिबाद: सभापति र सांसदले एकले अर्कालाई कारबाही सिफारिस - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कांग्रेस बिबाद: सभापति र सांसदले एकले अर्कालाई कारबाही सिफारिस



राजविराज । दुई खेमामा विभक्त देखिएका सप्तरी काँग्रेसका नेता कार्यकर्ताले एक अर्का बिरुद्ध अनुशासनको कारवाही गर्न पार्टीको केन्द्रिय समितिसँग माग गरेका छन् ।

अघिल्लो दिन मंगलबार जागरण अभियान कार्यक्रम अन्तरगत स्थानिय पविमाविको खेल मैदानमा काँग्रेस सप्तरीद्वारा आयोजना गरिएको बिरोधसभामा आशन ग्रहणको क्रममा मर्यादा क्रम मिचेको भन्दै काँग्रेसका नेता कार्यकर्ताबीच एक आपसमा मञ्चमै विवाद भएको थियो ।

मर्यादा क्रम मिचेर आशनग्रहण गराइएको विषय उठाउँदा आफूलाई सभापति दिनेश यादव पक्षधरले मञ्चमै दुरव्र्यहार तथा धक्का दिएर तल लडाइदिएको भन्दै सोही पार्टीबाट निर्वाचित संघीय सांसद तेजुलाल चौधरीले बिरोध सभा गरी सभापति यादवसहित सो घटनामा संलग्न भएका पाँच जनामाथि अनुशासनको कारवाही गर्न माग गर्दै केन्द्रिय समितिमा पत्र पठाएका थिए ।

त्यसको भोली पल्टै बुधबार सभापति दिनेश यादवले पनि पत्रकार सम्मेलन गरी पार्टीलाई कमजोर बनाउने र पार्टीको कार्यक्रम भाड्ने उद्देश्यले सांसद चौधरीले सुनियोजित ढंगले सभास्थलमा बितण्डा मच्याएको आरोप लगाएका छन् ।

उनले सांसद चाैधरीमाथि अनुशासनको कारवाही गर्न केन्द्रिय समितिमा बुधबारै पत्राचार गरेका छन् । सभापति यादवले भने, ‘वर्तमान निरंशुक सरकार बिरुद्ध आयोजना गरिएको बिरोध सभालाई भाड्न र पार्टीलाई कमजोर बनाउन मञ्चमै आएर होहल्ला तथा अशोभनिय व्यवहार देखाएपछि सांसद चौधरी तथा मञ्चासिन नेता कार्यकर्ताबीच सामान्य धक्कामुक्की मात्र भएको हो, उनीमाथी कुनै हातपात भएको छैन् ।’ उनले पार्टीलाई क्षति पु-याउने तथा अनुशासन विपरीत काम गर्ने सांसद चौधरीलाई अनुशासनको कारवाही गर्न जिल्ला समितिको बैठकबाट निर्णय गरि केन्द्रिय समितिलाई पत्राचार गरिएको जानकारी पनि दिए ।

यसरी सभापति यादव र सांसद चौधरीले एक अर्कालाई पार्टीबाट कारवाहीको माग गरेपछि काँग्रेसभित्रको विवाद झनै चुलिएको छ ।