काँग्रेसलाई बाम गठबन्धनको प्रश्न : ‘प्रदेश बिभाजनको पक्षमा सही गर्नेहरु अब के भनेर आउनुहुन्छ ?’ - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

काँग्रेसलाई बाम गठबन्धनको प्रश्न : ‘प्रदेश बिभाजनको पक्षमा सही गर्नेहरु अब के भनेर आउनुहुन्छ ?’



तिलोत्तमा,२ मङ्सिर ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले राष्ट्रिय स्वाभिमानको रक्षाका लागी बाम गठबन्धनको नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । उंहाले राष्ट्र जोगाउने र नेपाली जनताको शिर निहुरिन नदिने शक्ति बाम गठबन्धन मात्रै भएको दाबी गर्नुभयो ।

रुपन्देही क्षेत्र नम्बर एकका प्रतिनिधिसभा उम्मेदवार विश्वकर्माले काँग्रेस प्रति लक्षित गर्दै प्रदेश बिभाजनको पक्षमा हस्ताक्षर गर्नेहरुलाई जनताको माझमा जान नैतिकताले नसुहाउने टिप्पणी गर्नुभयो । उंहाले भन्नुभयो, ‘प्रदेश टुक्राउन सही छाप गर्ने प्राविधिक जनप्रतिनिधिहरु अब के भनेर जनताका घरमा जानुहुन्छ ?। ’

क्षेत्र नम्बर एक अन्तर्गत प्रदेश सभा क्षेत्र नम्बर २ अन्तर्गत शनिवार विभिन्न स्थानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता विश्वकर्माले सामाजिक एकता र समृद्धिका लागी बामगठबन्धन निर्माण भएको उल्लेख गर्नुभयो । नेता विश्वकर्माले आफूहरू ढुकुरे छाती लिएर मैदानमा नआएको भन्दै मुलुकको राष्ट्रियता, स्वाभिमान र समृद्धिको लागी गठबन्धन चुनावमा होमिएको उल्लेख गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेदवार दधिराम न्यौपानेले आफू जनताको भरिया बन्न चाहेको बताउनुभयो । उंहाले आफू नेता बन्न नभई भरिया बनेर नागरिककोे सेवामा लाग्न चुनावी मैदानमा उत्रिएको उल्लेख गर्नुभयो । नेता न्यौपानेले भन्नुभयो ‘ म यो देशको माटोको कसम खाएर राजनीतिमा होमिएको हुँ, म तपाईँहरूको भरिया बन्न चाहन्छु ।’ उंहाले मुलुकलाई समृद्ध राष्ट्र बनाउने दायित्व कम्युनिस्ट पार्टीको भएको बताउनुभयो । ‘अरू राष्ट्र सँग तुलना गर्ने मुलुक बनाउन गठबन्धन निर्माण भएको हो , उहाँले भन्नुभयो मुलुक बर्बाद हुने भयो भनेर हामी एक ठाउँमा उभिएका हांै । ’

क्षेत्र नम्बर १ अन्तगर्त प्रदेश सभा २ को तिलोत्तमा ७, ८ र ९ मा आयोजित प्रचारप्रसार कार्यालय उदघाटन गर्दै नेताहरूले देशैभरि बाम गठबन्धन प्रति जनलहर छाएको उल्लेख गर्नुभयो । त्यस अवसरमा नेकपा एमालेका जिल्ला अध्यक्ष शिवराज सुबेदी, सचिव जागेश्वरी चौधरी, क्षेत्रीय संयुक्त निर्वाचन परिचालन कमिटीका संयोजक ऋषीराम सापकोटा, प्रदेश निर्वाचन परिचालन कमिटी संयोजक यज्ञ गैरे, हेमन्त पाण्डे लगायतले बोल्नुभएको थियो ।