कांग्रेसले भनेकै व्यक्ति राष्ट्रपति बन्छ- विश्वप्रकाश शर्मा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कांग्रेसले भनेकै व्यक्ति राष्ट्रपति बन्छ- विश्वप्रकाश शर्मा



इलाम : नेपाली कांग्रेसका महामन्त्री एवम प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्नेमा ढुक्क रहन आग्रह गरेका छन्।

उनले कांग्रेसले प्रस्ताव गरेको र कांग्रेसको सहभागिता संलग्नता सहितको उम्मेदवारलाई राष्ट्रपति बनाएर साझा अपनत्व बन्ने बनाउने अवस्थामा पुग्नेमा विश्वास व्यक्त गरे। इलामको फिक्कलमा पत्रकारहरुसंग कुराकानीका क्रममा कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को भन्ने बारेमा शर्माले विधिवत छलफलपछि सम्भावित उम्मेदवारको नाम र निर्णय सार्वजनिक हुने बताए।

‘अहिले मैले फलानो फलानो भनेर नाम भन्नु उचित हुँदैन्। एक सय एक योग्य नेतृत्व हामीसंग उपलब्ध छ अनुभवी नेतृत्व छ। जसले संविधानको रक्षाको लागि शितल निवासमा बसेर राष्ट्रपति निवासमा बसेर बढो शितल ढंगले सोचेर राजनीतिक आग्रह पुर्वाग्रह भन्दा माथि उठेर संविधानको संरक्षण गर्ने हामीसंग एक दर्जन नेताहरु उम्मेदवारको रुपमा हुनुहुन्छ। त्यसले गर्दा म काठमाडौ फर्किएपछि बैठक बस्छौ। र, सम्भावित उम्मेदवारको बारेमा छलफल गर्छौ।’

उनले कांग्रेस एक्लैलेभन्दा पनि सवैदलको साझा सहमतीबाट देशले योग्य राष्ट्रपति पाउने बताए। उनले कांग्रेसको मतभार मात्र राष्ट्रपति बन्नका लागि पर्याप्त नभएकाले अन्य दलसंग समेत छलफल अघि बढाइने बताए।

‘हामीले नै छलफल गरेर टुङ्ग्याउन गणित पुग्दैन्। २५–२६ हजार मतभार चाहिन्छ हामीसंग केबल १६ हजार मतभार छ। १६ हजार मतभारमा अरु दलको पनि मतभार गाँसेर जाँदै गर्दा छलफल र बिमर्शपछि उम्मेदवार टुङ्ग्याउन बढि उचित हुन्छ। अहिले इलामको डाँडामा बसेर उम्मेदवार भन्न थाल्यो भने पनि परिपक्वता हुँदैन्। कांग्रेसले समर्थन गरेर अघि सार्ने उम्मेदवार नै देशको राष्ट्रपति बन्नुहुन्छ । यति चाहि किटानी गरेर भनिराख्छु।’ उनले भने

शर्माले राष्ट्रपति नेपाली कांग्रेसले पाउने माओवादी वा अर्को पाउने भन्ने कोणभन्दा माथि राखेर साझा अपनत्व ग्रहण गर्न सक्ने व्यक्ति छानिनुपर्ने बताए। ‘राष्ट्रपति नेपाली कांग्रेसले पाउने माओवादी वा अर्को पाउने भन्ने कोण भन्दा अलि माथि राखेर सोच्नुपर्छ। राष्ट्रपतिलाई संविधानले यो संविधानको संरक्षक पनि भन्छ पालक पनि भन्छ त्यस हिसाबले अभिभावक चयनको विषय पनि हो। त्यो अभिभावकको चयन गर्दै गर्दा अहिले संसदको जस्तो समीकरण बनेको छ।’ उनले भने ‘एक खालको गठबन्धन भएर चुनावमा जाने अर्को खालको गठबन्धन भएर सरकार बनाउने त्यसभित्र पनि समस्या आउने यो बेलामा यस्तो व्यक्तित्वमा राजनीतिक दल बिच सहमती हुन जरुरी छ। जसलाई सबैले साझा अपनत्व गर्न सकोस्।’

उनको नेपाली कांग्रेस जनताबाट निर्वाचित ठूलो दल भए पनि राजनीतिक परिस्थितीका कारण सरकार बाहिर बलियो प्रतिपक्षी भएको बताए। उनले प्रतिपक्षी भए पनि राष्ट्रपति चयनका लागि कांग्रेस नै निर्णायक बन्ने जिकिर गरे।

‘नेपाली कांग्रेस संसदमा जनताबाट निर्वाचित भएको सबैभन्दा ठूलो दल हो। ठूलो दल भएको हिसाबले सरकारकै नेतृत्व गर्नुपर्थ्यो‍। अथवा सरकारमा प्रतिनिधित्व हुनुपर्थ्यो त्यो परिस्थितीबस भएन्। अब जहाँ पुगेको छ राजनीति त्यहाँबाट सम्हालेर जानका लागि कंग्रेसले प्रस्ताव गर्ने उम्मेदवारलाई कांग्रेसको सहभागिता संलग्नता सहितको उम्मेदवारलाई राष्ट्रपति बनाएर साझा अपनत्व बन्ने बनाउने अवस्थामा पुग्नुपर्छ।’

शर्माले निर्वाचन ताकाको गठबन्धन तोडिएपछि कांग्रेसले गुमाएको पद र प्रतिष्ठाको बारेमा केन्द्रीय समितिको बैठकमा गम्भीर आत्मसमिक्षा गरेर जिम्मेवार दलको भुमिका निर्वाह गर्ने भएकाले राष्ट्रपति निर्वाचन एउटा नविन बिन्दु बन्ने परिस्थितीमा पुग्ने उल्लेख गरे। नेपाली कांग्रेस लामो राजनीतिक इतिहास बोकेको पार्टी भएकाले कारण साना समस्याहरुबाट विचलित नहुने जिकिर गरे।

‘नेपाली कांग्रेस लामो राजनीतिक जिवनमा उत्साहको सफलताको असफलताको परिणाममा पुगेको परिणाम गुमाएको सबै अनुभवबाट खारिएको दल हो।
एउटा झट्कामा भुल्कोमा भए जस्तो गरी बनेको पनि हैन्। नेपाली कांग्रेस एउटा ठक्करले मात्र पनि ढल्ने पार्टी हैन्। १२/१४ रेक्टर स्केल निर्माण भएको चिज हो।’ उनले भने ‘जनताको विचमा जाँदै गर्दा समिक्षा गर्ने विषय चाहि ५७ सिट मात्र जित्यौ। धेरै दल मिलाएर जाँदा पनि कुनै समय २ तिहाई भएको दल ४८ र ५६ मा बहुमत ल्याएको दल आज हामी बहुमत पनि किन भएनौ। अथवा ठूलो दल भएर नेतृत्व गर्न किन सकेनौ। नेतृत्व नलिँदै गर्दा अर्को साथीलाई बनाएर गठबन्धन किन जोगाएनौ समग्र समिक्षा हुन्छ।’

उनले गठबन्धन तोडिएका कारण कांग्रेसले देशका मुख्य पद गुमाएको स्मरण गर्दै असावधानीका कारण भएको गम्भिर दुर्घटनाबाट आत्मसमिक्षा गर्दै बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने एउटा ट्रनिङ पोइन्टको रुपमा लिएर जाने बताए।

‘नेपाली कांग्रेस भित्र उत्साहको क्षण आउँदा सदैव उत्साह हुँदैन थियो र अहिले निराशा आउँदै गर्दा यसलाई निराशा भन्दिन साथीहरुमा गम्भिर असन्तुष्टी आयो। जितेर पनि किन आयो भने हाम्रो राष्ट्रपति नहुने प्रधानमन्त्री नहुने मुख्य मन्त्री नहुने मन्त्रीहरु नहुने जे आए यो बिषय नहुनुप¥थ्यो । दुर्घटना भयो हाम्रो असावधानीले भयो । नेपाली कांग्रेसले यो घटनालाई आफु भित्र चिन्तन गर्ने आत्मसमिक्षा गर्ने रुपान्तरण गर्ने र बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने एउटा टर्निङ पोइन्टको रुपमा लिएर जान्छ ।’

उनले भने ‘ फेरी पनि निरन्तर बगिरहने नदीको रुपमा कांग्रेस रहन्छ । निरन्तर यात्रामा नेपाली कांग्रेस रहन्छ । नेपाली कांग्रेस नै भोलिका दिनमा बहुमतका साथ आगामी निर्वाचनपछि नेतृत्व गर्ने दलको रुपमा आउँछ। त्यो मेरो केवल अनुमानको कुरा हैन्। यो पार्टीको नेतृत्व गरिरहेको महामन्त्रीको आत्मविश्वासको कुरो हो नेपाली कांग्रेस फेरी पनि बलियो दल भएर नेतृत्वमा आउँछ।’