कांग्रेस प्रचण्ड-नेपाल समुहसँग मिलेर अगाडी बढ्छ: कोइराला - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

कांग्रेस प्रचण्ड-नेपाल समुहसँग मिलेर अगाडी बढ्छ: कोइराला



काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले ने नेकपा दाहाल-नेपाल समूहसँग मिलेर जानुपर्ने बताएका छन् । बुधबार चितवनमा पत्रकारसँग कुरा गर्दै कोइरालाले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल-नेपाल समूहले दर्ता गर्ने जानकारी दिए ।

उनले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानुको अर्थ नहुने बताए । प्रतिनिधिसभा सदस्य डा. कोइरालाले भने, ‘नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ । त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन ।’

उनले सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने जनाउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने जानकारी दिए । फरक प्रसंगमा महामन्त्री डा. कोइरालाले आगामी भदौ ७ गते महाधिवेशन सुरु हुने जनाउँदै अब भने मिति नसर्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विवादलाई अड्काएर आफू नेतृत्वको सरकारलाई टिकाइराख्न चाहेपछि कांग्रेसले पूर्वनिर्णयबाट पछि हट्न सक्ने संकेत दिएको छ । प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपछि गत बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकले नेकपा वैधानिक रूपमा विभाजित भइनसकेको अवस्थामा दुवै पक्षलाई निषेध नगरी अघि बढ्ने निर्णय लिएको थियो ।

कांग्रेसले दाहाल–नेपाल समूहसँग मिलेर अविश्वासको प्रस्ताव ल्याउने विषयमा अनौपचारिक संवाद भइरहेको दुवै पक्षका नेता बताउँछन्।