कांग्रेसमा देउवाविरुद्ध मोर्चाबन्दी: साझा उम्मेदवार खोजिँदै - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कांग्रेसमा देउवाविरुद्ध मोर्चाबन्दी: साझा उम्मेदवार खोजिँदै



काठमाडौं- नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा देउवाविरुद्ध साझा मोर्चाबन्दी हुने भएको छ । कांग्रेसको संस्थापनइतर समूहको बैठकले सभापतिको साझा उम्मेदवार बनाउने विषयमा छलफल भएको छ ।

शुक्रबार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको संस्थापनइतर समूहका नेताहरूको बैठकले सभापतिको लागि साझा उम्मेदवार बनाउने विषयमा छलफल अगाडि बढाएको नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बताए । पार्टीभित्र रूपान्तरणको खाँचो भएको भन्दै पार्टीलाई नेतामुखी नभई नीतिमुखी बनाएर अघि बढाउनुपर्ने आवश्यकता भएकाले सबैको साझा उम्मेदवार बनाउने प्रयत्नको प्रयास थालिएको बताए ।

‘पार्टीभित्र संस्थापन र संस्थापनइतर भनेर चिनिएका साथीहरूबीचमा आग्रह, पूर्वाग्रहबाट मुक्त भएर हामी जो लड्छौँ एक जना लड्छौँ र एक जनाको स्थिति निर्माण गर्नुपर्छ भन्ने विषयमा छलफल केन्द्रित हो र त्यसका निम्ति के-कस्ता मोडालिटी र आधारहरू बनाउनुपर्छ र ती आधारहरूको निर्माण गर्दै समग्र रूपबाट एउटा उम्मेदवार बनाउने प्रयत्नको प्रारम्भिक प्रयास हो ।’

नेता केसीले क्रियाशील सदस्यतामा देखिएको आन्तरिक विवाद, राष्ट्रिय परिस्थिति र समसामयिक राजनीतिका विषयमा सर्वोच्च अदालतबाट आउने फैसलापछिको परिदृश्यको सम्बन्धमा पनि छलफल भएको जानकारी दिए ।

बैठकपछि नेतृ शुजाता कोइरालाले संस्थापनइतर समूहमा सभापतिको उम्मेदवारको विषयमा कुनै विवाद नभएको बताइन् । आफूहरू एक भएर अघि बढ्ने उनले प्रतिक्रिया दिइन् ।

‘हामीबीचमा विवाद छैन । विवाद हुँदैन र एक जनाले उम्मेदवार दिन्छ, त्यसबारेमा हामीले छलफल गरिरहेका छौँ । निर्णय भइसकेको छैन तर अब छिटो हुन्छ । हामी सबै एक छौँ । हामी एक भई जान्छौँ’ उनले भनिन् ।

कांग्रेसको १४औँ महाधिवेशन नजिकिएसँगै संस्थापन र संस्थापनइतर पक्षका नेताहरूले आ-आफ्नो भेलालाई निरन्तरता दिइरहेका छन् । कांग्रेसमा आधादर्जन बढी नेताहरूले सभापतिको आकांक्षा देखाएका छन् ।