पेशा व्यवसायको रक्षाकालागि पनि लोकतान्त्रिक शक्तिलाई विजयी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

पेशा व्यवसायको रक्षाकालागि पनि लोकतान्त्रिक शक्तिलाई विजयी



बुटवल, ३ मंसिर । नेपाली काँग्रेसबाट रुपन्देही क्षेत्र नं. २ प्रतिनीधि सभाका उम्मेदवार युवराज गिरीले लोकतन्त्र रक्षाकालागि अहिले सबै जुट्नुपर्ने वेला आएको बताउनु भएको छ ।

नेपाल शिक्षक संघ बुटवल नगर समितिले शनिबार बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उम्मेदवार गिरीले लोकतन्त्र मासिँदा पेसा, व्यबसाय, रोजगारी सबै मासिने भएकाले आफ्नो सम्पत्तिको संरक्षण र पेशा व्यबसाय तथा रोजगारी रक्षाकालागि पनि लोकतान्त्रिक शक्तिलाई विजयी बनाउनु पर्ने बताउनु भयो ।

उहाँले शिक्षाको गुणस्तर सुधार तथा पेशागत हक हितकालागि आफूले पहलकदमी उठाउने बताउँदै निर्वाचनमा जिताउन आग्रह गर्नुभयो । अहिले एमाले माओवादीले बाम गठबन्धनका नाममा लोकतन्त्र समाप्त पार्ने र साम्यवादी व्यबस्था ल्याउने रणनीति बनाएको जिकिर गर्दै उहाँले साम्यवादी व्यबस्थामा व्यबसायिक, पेशागत, व्यक्तिगत, बाक लगायतका सबै स्वतन्त्रता गुम्ने उल्लेख गर्नुभयो ।

त्यस्तै क्षेत्र नं. २(१) बाट प्रदेश सभा उम्मेदवार काजिमान श्रेष्ठले आफू ट्रेड युनियन कर्मी भएकाले आफूले ट्रेड युनियन अधिकार मर्न नदिने बताउँदै शिक्षकका पेशागत अधिकार सुनिश्चितताकालागि आफ्नो उम्मेदवारी भएको बताउनु भयो ।

त्यस्तैगरी क्षेत्र नं. २(२) बाट प्रदेश सभा उम्मेदवार महेशमान सिंहले नेपाली काँग्रेस लोकतन्त्रको पहरेदार पार्टी भएकाले लोकतान्त्रिक मुल्य मान्यता, आचरण र व्यबहारको सवद्र्धन तथा व्यबसायिक तथा पेशागत सुरक्षाकालागि नेपाली काँग्रेस बाहेक अरु कोही नभएको बताउनु भयो ।

कार्यक्रम नेपाल शिक्षक संघ बुटवल नगर समितिका अध्यक्ष पूर्ण पौडेलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बोल्ने शिक्षकहरुले पेशागत सुरक्षाको सुनिश्चिताको आधार बनाउनलागि शिक्षकहरुले नेपाली काँग्रेसलाई जिताउने विश्वास व्यक्त गरेका थिए ।