कांग्रेसमा रडाको: जिल्ला सभापतिहरू देउवाविरुद्ध उत्रिए - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

कांग्रेसमा रडाको: जिल्ला सभापतिहरू देउवाविरुद्ध उत्रिए



काठमाडौं- नेपाली का‌ग्रेसका जिल्ला सभापतिले पार्टीको १४औँ महाधिवेशन घोषणा भइसकेको परिस्थितिमा पार्टीका विभिन्न विभागमा मनोनयन गर्नु हास्यास्पद भएको जनाएका छन्।

काठमाडौँ उपत्यकामा उपलब्ध र अन्य माध्यमबाट सम्पर्कमा रहेका का‌ग्रेसका जिल्ला सभापतिको बुधबार सम्पन्न बैठकले वर्तमान केन्द्रीय समितिलगायत सम्पूर्ण समितिले आफ्नो कार्यकालको अवधि पूरा गरिसकेको अवस्थामा विभागमा अवैधानिक एवं स्वेच्छाचारी ढंगले मनोनयन गरिएको आरोप लगाएको छ।

बैठकले लामो समय कसैलाई पनि जिम्मेवारी नदिइ स्वेच्छाचारी तवरले सञ्चालन गरी महाधिवेशनको पूर्वसन्ध्यामा गठन भएका विभागलाई अमान्य ठहर गरेको कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए।

बैठकले केन्द्रीय समितिको बहुमतले उल्टाएका महासमितिको निर्णय अक्षरशः पार्टीको १४औँ महाधिवेशनमा प्रस्तावका रूपमा अगाडि बढाउने निष्कर्षसमेत निकालेको उनले बताए। जिल्ला सभापतिले पार्टीको कार्यविधिअनुसार समायोजन सम्पन्न भएका डडेल्धुरा, सिन्धुपाल्चोक, सोलुखुम्बुलगायतका जिल्लामा विभिन्न बहानमा रोकिएको क्रियाशील सदस्यता फाराम तत्काल उपलब्ध गराउन माग गरेका छन्।

बैठकले विधानअनुसार तत्काल कारबाही गरिनुपर्नेलाई नगरी महाधिवेशनको कार्यतालिका प्रकाशित भइसकेपछि प्रतिशोधको आधारमा कारबाही गरिएको जनाउँदै त्यस प्रकारका गतिविधि रोक्नु नेतृत्वसँग आग्रह गरेको छ। साथै आसन्न १४औँ महाधिवेशनबाट आर्थिक पारदर्शिता, स्पष्ट राजनीतिक दृष्टिकोण, स्थानीय तहसम्मका मतदाताले प्रत्यक्ष अनुभूति गर्ने गरी भावी रणनीतिक योजनासहित नीति तथा नेतृत्व स्थापित गर्ने अभियानको घोषणासमेत गरिएको छ।

यसैगरी पार्टी एकीकरण वा प्रवेश गर्ने समूह वा व्यक्तिको हकमा पार्टीको विधानअनुसार पार्टीको तल्लो तहबाटै क्रियाशील सदस्यता दिने व्यवस्था सुनिश्चित गर्न जिल्ला सभापतिले माग गरेका छन्। बैठकले मुलुकमा भ्रष्टाचार, अनियमितता, कुशासन बढेको, कोरोना नियन्त्रण र व्यवस्थापनमा सरकारले प्रभावकारीरुपमा काम गर्न नसकेको निष्कर्ष निकाल्दै त्यसविरुद्ध संघर्षमा उत्रन आवश्यक निर्णय र निर्देशनका लागि नेतृत्व समक्ष आग्रहसमेत गरेको छ। रासस