नेपाली कांग्रेस र राप्रपा संयुक्तबीच कार्यगत एकता - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेपाली कांग्रेस र राप्रपा संयुक्तबीच कार्यगत एकता



भक्तपुर– उपनिर्वाचनका लागि नेपाली कांग्रेस र राष्टिय प्रजातन्त्र पार्टी संयुक्तबीच चुनावी कार्यगत एकता हुने भएको छ। मंसिर १४ गते हुने भक्तपुर क्षेत्र नं १ प्रदेश ‘क’का लागि कार्यगत एकता हुने भएको जनाइएको छ।

आइतबार पत्रकार सम्मेलन गरी दुबै पार्टीका जिल्लास्तरीय नेताहरुले दुई पार्टीबीच चुनावका लागि कार्यगत एकता घोषणा गरेका हुन्। उक्त क्षेत्रमा निर्वाचनमा तत्कालिन एमालेका उम्मेदवार स्वर्गीय हरिशरण लामिछाने निवार्चित भएका थिए। त्यसबेला लामिछानेले १२ हजार सात सय ८९ मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका उम्मेदवार जीवन खत्रीले नौ हजार नौ सय ७७ मतका साथ निकटम प्रतिस्पर्धी भएका थिए।

गएको चुनावमा राप्रपा संयुक्त यस क्षेत्रमा उम्मेदवार थिएनन्। तर यही क्षेत्रमा भएको पछिल्लो स्थानीय चुनावमा भने उक्त पार्टीले उम्मेदवार थिए। त्यसबेला उसले करिब पाँंच हजार सात सय मत पाएको थियो। कांग्रेस र राप्रपा संयुक्तबीचको कार्यगत एकतासँंगै चुनावी सरगर्मी अझ बढेको छ।

नेपाल मजदुर किसान पार्टीले निर्वाचनमा त्यस क्षेत्रका पार्टीका उम्मेदवार (हाल पनि उही) निरज लवजूले सात हजार ११ मत पाएर तेश्रो स्थान सुरक्षित गरेका थिए।

अहिले उपनिर्वाचनमा नेकपाबाट देवीप्रसाद ढकाल (डिपी) उम्मेदवार छन्। ढकाल यसअघिको निर्वाचनमा तत्कालिन माओवादीका उम्मेदवार थिए। उनले सात सय ८४ मत ल्याएका थिए। ढकाललाई उम्मेदवार बनाउँदा तत्कालिन एमालेकै कार्यकर्ताहरुबाट चर्काे विरोध भएको थियो।

विरोधको क्रममा नेकपाको जिल्ला पार्टी कार्यालय सूर्यविनायकमा तालाबन्दीसमेत भएको थियो।