कांग्रेसमा देउवा र पौडेल 'आउट': यसरी जाँदैछ अर्को पुस्तामा नेतृत्व - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कांग्रेसमा देउवा र पौडेल ‘आउट’: यसरी जाँदैछ अर्को पुस्तामा नेतृत्व



काठमाडौं- नेपाली कांग्रेसमा महाधिवेशनको सरगर्मी बढेको छ । नेताहरू आफ्ना सिट सुरक्षित गर्न विभिन्न गतिबिधि गरिरहेका छन् । तर, यसपटकको महाधिवेशनको चित्र भने केहि फरक देखिन थालेको छ ।

कांग्रेसमा सभापति शेरबहादुर देउवा समूहबाट विमलेन्द्र निधीले १४ औं महाधिवेशनमा पार्टी सभापतिका लागि तयारी तिव्र पारेपछि स्वयम् देउवासहित दुईजना संस्थापन खेमाबाट सभापतिका उम्मेद्वार बन्ने र देउवा पछारिने स्थिति देखिएको छ ।

यता, आसन्न महाधिवेशनबाट देउवालाई विदा गर्न कम्मर कसेका इतर समूहबाट करिब आधा दर्जन सभापतिमा आकांक्षी देखिएका छन् । इतर समुहबाट एउटा मात्र उम्मेदवार हुने भनिए पनि उम्मेदवार भने टुंगो लागेको छैन । त्यहाँ उम्मेदवार छनौटमा बबण्डर हुने अवस्था अहिले नै देखिएको छ ।

सभापति शेरबहादुर देउवा भने कुनैपनि हालतमा १४ औं महाधिवेशनबाट पनि सभापति दोहोयाउने योजनामा छन् । त्यसैको तयारीको लागि उनले विभिन्न विभागहरू गठन गरिरहेका छन् । केहि नेताहरूलाई पार्टी प्रवेश गराइरहेका छन् र भातृ संगठनहरूलाई समय थप गरेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल तथा अर्का नेता कृष्ण सिटौला पनि सम्पर्क कार्यालय स्थापना गरेर सभापतिको दौडमा लागि कुंदिरहेका छन् । त्यसो त महाधिवेशन आउन समय छंदै देशव्यापी दौडधुप गर्दै नेता शेखर कोइरालाले महाधिवेशनबाट कोइराला परिवारबाट गुमेको विरासत फर्काउने रणनीति अख्तियारी गरिरहेका छन् ।

पार्टीको महाधिवेशन आउन ७ महिना बाँकी रहँदा कांग्रेसभित्र सभापति बन्ने दौडधुपले तिव्र पाउनु अस्वाभाविक भने होइन । तर राजनीतिक विश्लेषक किशोर नेपालको बुझाइमा कांग्रेसको आसन्न महाधिवेसनले ‘टेष्टेट’ नेताहरु देउवा र पौडेललाई नेतृत्वको लडाइबाट बाहिर राख्ने कृयाकलापहरु बढेको बताएका छन् ।

कांग्रेसलाई कोइराला विरासत मुक्त गराएका देउवा १४ औं महाधिवेशनका लागि फेज आउट भएको विश्लेषण सबैतिर भैरहेको छ । किनभने कार्याकाल दोहोराउने देउवाको सपनामा तुषारापात लगाउन देउवा खेमाबाट वर्तमान उपसभापति विमलेन्द्र निधि सभापतिको बलियो उम्मेद्वारको रुपमा उभिएका छन् । निधि देउवाका सबैभन्दा विश्वासीलो पात्र थिए र उनीसंग भएको जनमतले देउवालाई हत्याउन काफी छ ।

देउवा इतरका पौडेल र सिटौला समूहको ध्येय महाधिवेशनबाट देउवालाई हटाउने नै हो । त्यसका लागि मोर्चावन्दीको कसरत पनि जोडतोडका साथ भइरहेको छ । तर पौडेल तथा सिटौंला पक्ष एक हुने संभावना भने एकदमै न्यून रहेकाले देउवालाई रोक्न सहज देखिंदैन ।

राजनीतिक विश्लेषकहरू भने इतर पक्षबाट पाँच जना भन्दा बढी उम्मेदवार बन्ने संभावना रहेको अनुमान गर्छन । सिटौला समूह सभापतिका लागि बलियो गुट नभएपनि निर्णायक भने बन्न सक्ने अवस्था छ ।

इतर समुहले भनेझैँ देउवाविरुद्ध एउटा मात्र उम्मेदवार बनाउने हो भने देउवा फालिने पक्का छ । तर राजनीतिक समीकरण बदलिन भने बेर लाग्दैन । आफूले हार्ने देखे भने देउवाले जस्तोसुकै सम्झौता गर्नसक्ने विश्लेषक बताउँछन ।

यता बिमलेन्द्र निधि र सिटौला पक्ष पनि निरन्तर संवादमा रहेकाले समीकरण परिवर्तन हुनसक्ने बताइन्छ । सिटौलाले युवाहरूलाई लिएर पार्टीमा एउटा ‘सेन्टिमेन्ट’ बनाइसकेका छन् भने निधि मधेश एकलौटी बनाउन सक्छन । यदि अहिलेको भन्दा फरक समीकरण बन्नेहो भने पार्टीको १४ औँ महाधिवेशनले देउवा र पौडेल फाल्ने र अर्को पुस्तामा नेतृत्व जाने पक्का छ ।