यो वर्षभरी कोरोनाको भयावह, दुईवर्ष महामारी रहने निष्कर्ष - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

यो वर्षभरी कोरोनाको भयावह, दुईवर्ष महामारी रहने निष्कर्ष



एजेन्सी- विश्वभर २ लाख ३९ हजारभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको कोरोनाभाइरसको महामारी अझै दुई वर्ष कायम रहने अनुसन्धानकर्ताहरुको निष्कर्ष छ ।

अमेरिकाको मिन्नेसाता विश्वविद्यालयस्थित संक्रामक रोग अध्ययन तथा नीति केन्द्र (सिआईडीआरएपी) ले सार्वजनिक गरेको मोडलिङअध्ययनअनुसार भाइरस रोकिनका लागि ७० प्रतिशतभन्दा बढी व्यक्तिमा प्रतिरोधी क्षमता विकास हुनुपर्छ ।

आगामी दिन र वर्षहरुमा कसरी कोभिड–१९ फैलनसक्छ भन्ने प्रक्षेपण गर्न विज्ञहरुले सन् १७०० यताका आठवटा प्रमुख इन्फ्लुएन्जा महामारीबारे अध्ययन गरेका थिए , त्यस्तै उनीहरुले नोबेल कोरोना भाइरसबारे पनि तथ्याङ्क अध्ययन गरे ।

वैज्ञानिकहरुका अनुसार विगतका आठवटा महामारीमध्ये ७ वटा महामारी पहिलो लहर सिर्जना भएको ६ महिनाभित्र अर्को ठूलो लहरसहित प्रकट भएका थिए । त्यस्तै, केही महामारी सुरुवातको झन्डै २ वर्षसम्म स–साना लहरसहित खतराका रुपमा कायम थिए । ‘यो महामारीको समय झन्डै १८ देखि २४ महिनासम्म रहने देखिन्छ, यतिबेला मानव जनसंख्यामा हर्ड इम्युनिटी बिस्तारै विकास हुन थाल्छ,’ रिपोर्टमा भनिएको छ, ‘महामारी रोकिनका लागि हर्ड इम्युनिटीको गम्भिर थ्रेसहोल्ड पूरा गर्न कम्तिमा ६० देखि ७० प्रतिशत जनसंख्यामा इम्युन (रोग प्रतिरोधी क्षमता) विकास हुनुपर्छ ।’

हर्ड इम्युनिटी समुदायमा रोग प्रतिरोधी क्षमता विकास हुने प्रक्रिया हो । यस अवधारणाअन्तर्गत रोग जति धेरै फैलन्छ, त्यति नै मानव समूदायमा प्रतिरोधी क्षमता पनि बढ्छ ।

तर यो बिन्दुमा पुग्न समय लाग्नेछ, रगत परीक्षणको तथ्याङ्कअनुसार समग्र जनसंख्याको थोरै प्रतिशतमा मात्रै अहिलेसम्म संक्रमण देखिएको छ र संभावित भ्याक्सिन बन्न वर्षाै नलागेपनि कम्तिमा केही महिना अझै लाग्नेछ ।

संक्रमणबाट मुक्त भएका मानिसमा रोग प्रतिरोधी क्षमता विकास हुन्छ भन्ने स्पष्ट छैन, भइहाले पनि कति समयसम्म त्यस्तो प्रतिरोधी क्षमता कायम रहन्छ भन्ने स्पष्ट छैन ।

रिपोर्टले अन्य धेरै सम्भावित परिदृश्य देखाएको छ, जस्तो – २०२० को अन्त्य वा जाडोयाममा ठूलो संख्यामा बिरामीको लहर आउनेछ र २०२१ मा निरन्तर सानो लहर आइ नै रहनेछ ।

अनुसन्धानकर्ताहरुले १८ देखि २४ महिनासम्मका लागि मानिसहरु कोभीड–१९ सँग जुध्न तयार हुनुपर्ने पनि बताएका छन् । जबकी, अहिले धेरै क्षेत्रमा हटस्पटहरु खुला गरिएका छन् ।

मानव समुदायमा निरन्तर फैलिरहेकै अवस्थामा यो भाइरस र महामारी अन्नत कमजोर हुन थाल्ने पनि विज्ञहरुले बताएका छन् । उनीहरुका अनुसार यो भाइरस सिजनल प्याट्रनमा एडजस्ट हुन थाल्नेछ र समयसँगै यसको कठोरता कम भएर जानेछ ।