कोरोनाविरुद्धको युद्ध जित्न एउटै विकल्प - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

कोरोनाविरुद्धको युद्ध जित्न एउटै विकल्प



काठमाडौं- कोरोना भाइरस संक्रमणले विश्व नै आक्रान्त बनेको छ भने यसमा नेपाल पनि अछुतो भने रहन नसक्ने देखिएपछि सरकारले सम्भावित जोखिमको लागि पूर्वतयारी गरिरहेको छ ।

सरकारले मंगलबारदेखि मुलुकभर एक साताका लागि लकडाउन गरेर थप होसियारी अपनाएको छ भने एकपछि अर्को निर्णय गरेर कोरोना भाइरसविरुद्धको सम्भावित क्षती कम गर्नेगरी योजना बनाइरहेको छ ।

आमजनताले सरकारले गरेको लकडाउनलाई मनैदेखि आत्मसात् नगरेको पाइएको छ । सरकारले निकै सोचविचार गरेर लकडाउन गरेकाले सबै पक्षले एकीकृत भएर यसलाई सफल पार्न जरुरी छ ।

लकडाउन गर्ने क्रममा सरकारले नागरिकलाई मानसिक रूपमा सुरक्षित बनाउन सक्नुपर्छ । दैनिक उपभोग्य वस्तुको आपूर्तिमा विशेष ध्यान पु¥याउनुपर्छ । ती वस्तुको कुनै प्रकारको अभाव हुन दिनुहुँदैन । नागरिक पनि भीडभाडसहित एकैपटक दैनिक उपभोग्यका वस्तु किन्न जानुहुँदैन ।

कोरोना भाइरस संक्रमणले सिंगो विश्वलाई नै त्राहित्राहि बनाएको छ । यस्तो अवस्थामा कसैले मूर्खतापूर्ण व्यवहार देखाउनुहुँदैन । महामारीका रूपमा फैलिएको कोरोन संक्रमणसँग शारीरिक रूपमा प्रतिरोध गर्न सकिँदैन ।

यसबाट बच्ने मुख्य उपाय भनेकै सतर्क र सावधानी हो । नेपालमा दुई जनामा कोरोना भाइरस संक्रमण देखिए पनि एक जनालाई सन्चो भइसकेको छ । संक्रमित एक युवती पनि निको हुने क्रममा छिन् । यसकारण, कोरोना संक्रमण हुनासाथ मरिने भय कसैले लिनुहुँदैन । आत्मबल उच्च बनाउने हो भने आत्मबलकै कारण कैयौं संक्रमण र रोगसँग सहजै जुध्न सकिन्छ । यसबेला सबै नेपाली उच्च मनोबल बनाएर घरमै बस्नुपर्छ ।

कोरोना भाइरसले नेपालमा पनि महामारीको रूप लिन सक्ने सम्भावनालाई मध्यनजर गरी सबै जना त्यस्तो अवस्था आउन नदिन विशेष चनाखो र सतर्क हुनुपर्छ । कोरोनाको महामारी फैलिन दिने वा नदिने भन्ने विषय नागरिककै हातमा छ ।

हामीले विशेष सतर्कता अपनाएर अन्य व्यक्तिसँगको घुलमिल बन्द गर्न सक्यौं र सरसफाइमा ध्यान दिन सक्यौं भने महामारीबाट मुलुकलाई सहजै बचाउन सकिन्छ । सरकारले अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गरिसकेकाले अब संक्रमण फैलिएको देशबाट यहाँ भाइरस आउन सक्ने सम्भावना छैन । तर, भारततर्फको नाका बन्द गरिँदा पनि मानिस नेपाल भित्रिने क्रम घटेको छैन ।

भारतमा संक्रमणको दर अत्यधिक रूपमा बढ्दो अवस्थामा छ । भारतीय विज्ञहरूले भारतमा भयावह अवस्था आउन सक्ने चेतावनी दिँदै आएका छन् । यसकारण, सरकारले भारतीय नाकालाई केही समयका लागि ठप्प नै पार्नुपर्छ । यसका लागि भारतीय नाकामा सुरक्षाकर्मीको संख्या बढाउनुपर्छ ।

संकट पर्दा नेपालका सबै राजनीतिक दल र जनता एकजुट हुने विशेष कौशल हामीसँग छ । संकटका बेला सबै राजनीतिक दलमा अद्भुत एकता देखिएको छ । सम्भवतः राजनीतिक दल र जनताबीचमा देखिएको यो एकतालाई आगामी दिनमा मुलुकको विकास र समृद्धिमा लगाउन सक्नुपर्छ ।

यो राष्ट्रका लागि सुनौलो अवसर हो । हामी सकारात्मक सोचसहित मुलुकको विकासमा लाग्नुपर्छ र सरकारले भनेअनुसार घरमै बसेर सावधानी अपनाउनु पर्छ । यसको विकल्प हामीसंग छैन ।

ठुला ठुला शक्तिराष्ट्रहरूले अपनाएको उपाय पनि यहि हो । त्यहाँका जनताले सरकारले भनेकै जस्तो निर्देशन मानिरहेका छन् भने हामी पनि हाम्रो सरकारले भनेझैँ घरमै सामाजिक दूरी बनाएर बसौँ, सम्भावित जोखिमबाट बचौं ।