नेपालको कोरोना-सन्दर्भ !! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नेपालको कोरोना-सन्दर्भ !!



डा. गोविन्द शरण उपाध्याय

नेपालमा कोरोना भेटिएको छैन भनेर बढी हौसिनु पर्दैन । भारतीय सीमा र त्रिभुवन विमानस्थलबाट कोरोना बोकेका कति मान्छे नेपालका सहर र गाउँमा छिरेका छैनन् भन्न सकिन्न ।

कोरोनाबाट हामी कोही पनि सुरक्षित छैनौँ । कोरोना सङ्क्रमित न भेटिएको हो कि लुकाइएको छ ? भन्न सकिने अवस्था छैन ।

“मैले नेपाल छिर्ने वेलामा सिटामोल खाएर आएको थिएँ, विमानस्थलमा थाहा नै भएन” भनेर फुटानी गर्दै गरेको मान्छे मैले भृकुटीमण्डपमा गफिएको सुनेको छु ।

जनतालाई दुख पर्दा कालोबजारी गर्ने पनि नेपाली नागरिक नै हुन् । कालोबजारी र भ्रष्टाचारको मानसिकता बोकेकाहरूले जे-पनि गर्न सक्छन् । कोरोनामा पनि भ्रष्टाचारीका लागि व्यापार बन्न सक्छ ।

दुर्भाग्यवश, नेपालका नेता, कर्मचारी तथा व्यापारीहरूको सधैँ मिलेमतो बुझेका जनताले तीप्रति कति विश्वास गर्ने नगर्ने बुझेका छैनन् । कोरोनाका विषयमा उनीहरू गम्भीर छन् भन्ने विश्वास गर्न सकिन्न ।

सेवाका सवालमा नेपाल सरकारप्रति विश्वास प्राप्त गर्न नेपालको सरकारी तन्त्रले धेरै परिश्रम गर्नुपर्ने सबैले बुझेका छन् । धेरै जसो नेपाल सरकारका कथनहरू पानीका फोका साबित भएका छन् र हुने निश्चित छ । भन्दा बढी नलेखौँ ।

विदेशबाट नेपाल पस्ने नेपालीहरूले स्वेच्छाबाट १४ दिन एक्लिएर बस्नमा गौरव ठान्नुपर्छ । निरोग छु भनेर अरूलाई जोखिममा पार्नु हुँदैन । परिवारका सदस्यहरूले पनि एक्लो बस्न सघाउनु पर्छ ।
कोरोनाको जोखिम सबैमा समान हुन्छ । तत्कालै लक्षण देखिन भन्दैमा रोग छैन भन्न मिल्दैन ।

स्मरण रहोस् यो सङ्क्रमणबाट मर्ने पहिलो व्यक्ति मेडिकल डाक्टर नै थिए ।

पहाड, हिमाल तथा तराई कुनै पनि ठाउँ कोरोनाबाट सुरक्षित छैन । जातजाति, वर्ण, धर्म तथा भूगोलको भिन्नताबाट कोरोनाबाट जोगिन सकिन्न । सबै मिलेर कोरोनालाई परास्त गर्न सम्भव हुन्छ । जीवन रहे आफन्त रहन्छन्, फेरी पनि रमाइलो गर्न मिल्छ ।

पाहुनाको सम्मान गर्नु हाम्रो संस्कृति हो तर कोरोना फैलिरहेको अवस्थामा पाहुनाको सम्मान गरौँ तर नजिकबाट होइन । साच्चिकै भन्ने हो भने पाहुना बन्न नगएको नआएको नै राम्रो ।

हिन्दु जीवन दर्शनका केही अभिन्न पक्ष बिहानै उठ्ने, स्नान गर्ने, भोजन गर्न जाँदा हात गोडा धुने, सूर्य नमस्कार गर्ने, दैनिक प्राणायाम गर्ने तथा सूर्य किरणमा स्नान गर्नेजस्ता दैनिकी राम्रो हुन्छ ।

हालै भारतको लखनउमा “कोरोना बाबा” बनेर एउटा मुस्लिम धर्मगुरुले कोरोनाको औषधि बेचेर धेरै जनतालाई ठगेको सुनियो । यसै सन्दर्भमा, नेपालमा पनि केही स्वयम्भू चिकित्सक बन्ने छन् र आफ्नो नाम चम्काउने प्रयत्न गर्ने छन् ।

“कोरोनाको औषधि हामीसँग छ” भन्नेहरूको विश्वास नगरौँ किनभने आजसम्म कोरोनाको औषधि बनेको छैन । सावधानी नै यसको औषधि हो । हिन्दीको प्रसिद्ध भनाई छ – सावधानी हटी, दुर्घटना घटी ।

अर्कालाई दोषारोपण गर्नु भन्दा, आलोचना गर्नु भन्दा आफू र आफ्ना छिमेकीलाई यस विषयमा ठिक-ठीक जानकारी दिएर सचेत गराऔँ । शङ्कास्पद व्यक्तिका विषयमा सम्बन्धित निकायलाई जानकारी प्रदान गरौँ र अरूलाई सङ्क्रमणबाट जोगिन मदत गरौँ ।

केही चर्चका अगुवाहरूले कोरोनाबाट जोगिन बाइबल र चर्चको शरण लिन र धर्म परिवर्तन गर्न समेत अभिप्रेरित गरिरहेको देखियो । यस्ता अन्धविश्वासमा न परौँ । बाइबल पढेर रोग ठिक हुने भए विश्वमा अस्पताल चाहिन्थेन । स्वधर्म मानौँ तर अन्धविश्वास न फैलाऊँ ।

भिडभाडबाट जोगिऔँ, मानसिक रूपमा कोरोनालाई “जित्ने छौँ” भन्ने भावना राखौँ र सुरक्षाका उपायहरू अवलम्बन गर्दै स्वधर्मको आचरण गरौँ । खुसीले स्वास्थ्यका नियमहरू कठोरताका साथ पालन गरौँ ।