कोरोना सङ्क्रमण: महिला र बच्चालाई भन्दा पुरुषमा बढी खतरा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कोरोना सङ्क्रमण: महिला र बच्चालाई भन्दा पुरुषमा बढी खतरा



बीबीसी– चीन हुँदै विश्वभर फैलिएकाे काेराेना भाइरसकाे असर पुरुषको तुलनामा महिला तथा बच्चालाई कम देखिएको छ।

मृतकको आँकडामा पनि पुरुषको तुलनामा महिला तथा बच्चाको संख्या कम छ।

चाइनिज सेन्टर्स अफ डिजिज कन्ट्रोलले कोरोना भाइरस संक्रमित ४४ हजार मानिससँग अध्ययन गरेको थियो। तीमध्ये २.८ प्रतिशत पुरुष र १.७ प्रतिशत महिलाको मृत्यु भएको छ।

अध्ययन अनुसार कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेमध्ये बच्चा र किशोर ०.२ प्रतिशत छन्। यस्तै, ८० वर्षभन्दा बढी उमेरका १५ प्रतिशतको ज्यान गएको छ।

के महिला तथा बच्चालाई कोरोना भाइरसको डर कम देखाउँछ?

यसलाई दुई तरिकाले बुझ्न सकिन्छ। पहिलो, संक्रमणसँग लड्ने क्षमता।

महिला तथा बच्चामा संक्रमण कम हुन्छ वा उनीहरूको शरीर यस भाइरससँग राम्ररी लड्न सक्छ।

युनिभर्सिटी अफ एक्सटरमा कार्यरत डाक्टर भरत पनखनिया भन्छन्, “नयाँ भाइरस आएपछि त्यसबाट जो कोही पनि संक्रमित भइहाल्छ। यो कुरा सबैभन्दा महत्त्वपूर्ण हो।”

यसको कारण हो– कसैमा पनि त्यस भाइरससँग लड्नका लागि प्रतिरोधक क्षमता हुँदैन। यद्यपि, जब नयाँ भाइरस फैलन सुरु हुन्छ, तब बच्चा उसबाट कम संक्रमित हुन्छन्।

बेलायतको लन्डनस्थित किंग्स कलेजका डाक्टर नथालिए मैकडरमेट भन्छन्, “बच्चामा संक्रमण कम हुनुको कारण यो हो कि उनीहरूका आमा–बुबाले ज्यादा सुरक्षित राख्छन्। र, उनीहरूलाई संक्रमणको खतराबाट बचाउँछन्।”

महिलामा कम हुनुको कारण

तपाईंहरू हैरान हुनुहोला– कोरोना भाइरसबाट ज्यान गुमाउनेमा पुरुषको तुलनामा महिला कम छ। तर, वैज्ञानिक यसबाट बिल्कुल हैरान छैनन्।

फ्लुसहित अन्य संक्रमणमा यस्तै हुने गरेको छ। यसको कारण हो– पुरुषको खराब जीवनशैली । पुरुषहरू महिलाको तुलनामा ध्रूमपान र मद्यपान पनि बढी गर्छन्।

डाक्टर मैकडरमेट भन्छन्, “ध्रूमपान तपाईंको फोक्सोमा नोक्सान पुर्याउँछ। यो राम्रो कुरा होइन।”

यो समस्या चीनमा धेरै हुनसक्छ। एक अध्ययन अनुसार त्यहाँ ५२ प्रतिशत पुरुष ध्रूमपान गर्छन्। ध्रूमपान गर्नेमा महिलाको संख्या निकै कम रहेको अध्ययनले देखाएको छ। अध्ययन अनुसार त्यहाँ ३ प्रतिशत महिला मात्रै ध्रूमपान गर्छन्।

तर, पुरुष तथा महिलाको प्रतिरक्षा प्रणाली संक्रमणबारे कस्तो प्रतिक्रिया गर्छ, यसको अन्तरले पनि महत्त्व राख्छ।

युनिभर्सिटी अफ इस्ट एंगलियाका प्रोफेसर पाल हन्टर भन्छन्, “महिलाहरूमा पुरुषहरूभन्दा बेग्लै प्रतिरक्षा प्रतिक्रियाहरू हुन्छ, महिलामा अटो इम्युन डिजिजिस (प्रतिरक्षा तन्त्र अति सक्रिय भएका कारण हुने बिरामी) हुने ज्यादा खतरा हुन्छ तथा यस कुराको धेरै प्रमाण छ कि महिलाले फ्लुविरुद्ध लड्न पर्याप्त एन्टिबडी उत्पादन गर्छन्।”

गर्भावस्थामा खतरा कति ?

गर्भावस्थामा महिलालाई संक्रमण खतरा कति हुन्छ? आधिकारिक रूपमा यसको जवाफ छैन। तर, विशेषज्ञहरूमा यसबारे शंका छ।

गर्भावस्थाबेला महिलाको प्रतिरक्षा प्रणाली कमजोर हुने गरेको छ। यो अवस्थामा महिलामा संक्रमणको खतरा पनि बढ्ने गरेको छ। समान उमेरका अन्य महिलाको तुलनामा गर्भवती महिलालाई फ्लुबाट मर्ने आशंका बढी हुने गरेको छ।

बेलायत सरकारले भनेको छ– यसबारे ‘कुनै स्पष्ट संकेत छैन’ कि गर्भवती महिला कोरोना भाइरसबाट गम्भीर रूपमा प्रभावित हुन्छन्।

प्रोफेसर हन्टर भन्छन्, “मलाई यसमा पूर्णरूपमा विश्वास छैन, यो केबल नौ गर्भवती महिलाबाट लिइएको तथ्यांकमा आधारित छ, त्यसकारण सबै ठीक छ भन्नु सही हुँदैन। यदि मेरी पत्नीको कुरा गर्ने हो भने म उनलाई सावधानि अपनाउन, हात धुन तथा ध्यान राख्न भन्छु।”

बच्चामा कोरोना भाइरस

बच्चामा कोरोना भाइरसको संक्रमण हुन सक्छ। अहिलेसम्म सबैभन्दा कम एक दिनको बच्चामा यसको संक्रमण देखिएको छ।

बच्चामा कोरोना भाइरस संक्रमणको लक्षणबारे धेरै कम जानकारी पाइएको छ। तर, उनीहरूमा हल्का–फुल्का लक्षण देखिन्छ, जस्तै ः ज्वरो आउनु, सिँगान बग्नु तथा खोकी लाग्नु्।

साना बच्चा पनि यसबाट बिरामी हुन सक्छन्। फ्लुमा पनि पाँच वर्षभन्दा कम (विशेषगरी दुई वर्षभन्दा कम) उमेरका बच्चामा यसको खतरा बढी हुन्छ।

डाक्टर पनखनिया भन्छन्,“मानिसको उमेर बढेपछि धेरै बिरामी हुन्छन् किनकि उनीहरूको प्रतिरोधक क्षमता कम हुन्छ।”

उमेर बढी भएका, कमजोर प्रतिरोधक क्षमता भएका वा गम्भीर बिरामी भएका व्यक्तिमा धेरै संक्रमण पाइएको छ। ती मानिसमा यसको धेरै खतरा हुन्छ। तर, बच्चामा भाइरसको असर कम पाइएको छ।

बच्चाको प्रतिरक्षा प्रणाली राम्रो छ ?

एक बच्चा र वयस्कको प्रतिरक्षा प्रणालीमा महत्त्वपूर्ण भिन्नता छ। बच्चाको प्रतिरक्षा प्रणाली अपरिपक्क हुन्छ तथा उसले अति प्रतिक्रिया गर्न सक्छ। यसकारण बच्चालाई ज्वरो आउनु सामान्य मानिन्छ।

प्रतिरक्षा प्रणाली अति सक्रिय हुनु पनि ठीक मानिँदैन किनकि यसले शरीरको बाँकी भागलाई नोक्सान पुर्याउन सक्छ। कोरोना भाइरस घातक हुनुको एक कारण यो पनि हो।

डाक्टर मैकडरमेट भन्छन्, “तपाईंलाई लाग्न सक्छ कि यसले अरु बिगार्न सक्छ। तर, यस्तो हुँदैन। यो भाइरस केही त जरुर गर्छ, जसले बच्चाको प्रतिरक्षा प्रणाली उत्तेजित हुँदैन। तर, यो भाइरसले के गर्छ त्यो स्पष्ट छैन।”