कोरोना संक्रमण: अब लापरवाही गर्नेलाई कैद सजाय - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

कोरोना संक्रमण: अब लापरवाही गर्नेलाई कैद सजाय



काठमाडौं : कोरोना संक्रमण नियन्त्रण गर्नका लागि काठमाडौं जिल्ला प्रशासन कडा रुपमा प्रस्तुत हुने भएको छ । तोकिएका स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेविरुद्ध प्रशासनले कडा कारवाही गर्ने बताएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग नगरी कोरोनालाई सामान्ने ढंगले हेर्न थालिएकाले कारवाहीको दायरा फराकिलो बनाउन लागिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

“कोरोना सकिए झै गरेर लापरवाही गर्ने क्रम बढेको पाइयो, अहिलेसम्म जरिवानालाई प्राथमिकता दिइएको थियो, अब कैद नै गर्ने मनस्थितिमा पुगेका छौँ”, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने । संक्रामक रोग ऐन, २०२० अनुसार राज्यको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा १०० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

उक्त ऐनमा सरकारले खटाएका अधिकृतको काममा बाधा पु¥याउनेलाई ६ महिनासम्म कैद वा ६०० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यो अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ । पछिल्लो समय दिनहुँजसो काठमाडौंमा संक्रमण बढ्दो रुपमा छ । उपत्यका प्रवेश गर्ने नाकाहरुमा परीक्षण गर्दा बढी संक्रमण देखिएको हो ।

अहिलेसम्म मुलुकमा भयावह अवस्था भइसकेको छैन । तर परीक्षणको नतिजाले जोखिम बढ्दै गएको प्रष्ट हुन्छ । पछिल्लो समयमा लापरवाही पनि बढ्दो छ । मास्क नलगाई हिँड्ने जमात देखिन थालेको छ । काठमाडौं प्रशासनले सुरक्षा मापदण्ड अपनाएको छ वा छैन भन्ने बारेमा नियमित अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा व्यवसाय सञ्चालकले पनि मापदण्ड प्रयोग गरेको पाइएको छैन ।

सर्वसाधारण नागरिक पनि कोरोना सकिएको जसरी खुलमखुला हिंडिरहेका छन् । सामान्य रुघाखोकी जसरी मानिसले कोभिड–१९ लाई हेल्चेक्र्याइँ गरेको पाइएको प्रजिअ दाहालले बताए । उनले अब प्रशासन चुप लागेर नबस्ने भन्दै मापदण्ड नमान्ने व्यावसायिक प्रतिष्ठान बन्द गराउने निष्कर्षमा पुगेको बताए । अनुगमनमा भाटभटेनीले पनि मापदण्ड नमानेको पाइएको छ । संक्रमक रोग ऐन, २०२० अनुसार नेपाल सरकारले सरुवा रोग अन्य यस्तै प्रकारका रोगको रोकथाम गर्न आवश्यक कारवाही गर्न सक्ने व्यवस्था छ ।

सरकारले यसअघि गत चैत ११ गतेदेखि मुलुकभर लागू हुने गरी बन्दाबन्दीको आदेश जारी गरेको थियो । झण्डै ४ महिनापछि साउन ५ गतेदेखि बन्दाबन्दी हटाइएको थियो । स्वास्थ्य विज्ञका अनुसार भौतिक (सामाजिक) दूरी कायम गर्ने, साबुन पानीले हात धुने र मास्क लगाउनु नै कोरोना नियन्त्रणको अचुक दबाइ हो ।

पछिल्लो समयमा उपत्यकामा प्रहरीसहित स्थानीयलाई समेत कोभिड–१९ देखिन थालेकाले अहिले उपत्यका भित्रिने नाकामा समेत थप कडाइ गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुँवेर कडायतले बताए । प्रहरीको आँखा छलेर भित्रिने क्रम भने रोकिएको छैन । नाकामा गाडीमा ओर्लिएर पैदल हिँड्न र नाका कटेपछि पुनः गाडी चढेर जाने यात्रुको संख्या बढी देखिएको छ ।

रासस