काठमाडौंको संक्रमण नियन्त्रण गर्न गाह्रो हुन्छ: स्वास्थ्यमन्त्री ढकाल - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

काठमाडौंको संक्रमण नियन्त्रण गर्न गाह्रो हुन्छ: स्वास्थ्यमन्त्री ढकाल



काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमण फैलिन नदिन सरकार नयाँ रणनीति अनुसार अगाडि बढ्न लागेको मन्त्री बताएका छन् ।

बाहिरि जिल्लाबाट उपत्यका भित्र आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने, जोर–बिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्न दिने र पीसीआर टेस्टको दायरालाई बढाएर जानेलगायतका विषयलाई अगाडि बढाइने उनले बताएका छन् ।

अहिले देखिएको संक्रमणको अवस्थाको वृद्धिदर अझै बढ्दै गयो भने काठमाडौं उपत्यकामा कुनै पनि बेला भयावह स्थिति आउन सक्ने भएकाले सचेत उनले रहन आग्रह गरेका छन् ।
मानिसको आनीबानीका कारण पनि संक्रमण फैलिन मद्दत पुग्ने बताउँदै महामारीका बेला सबै नागरिक सचेत र सुरक्षित हुनुपर्ने बताएका छन् ।

मन्त्री ढकालले भने, ‘बाहिरबाट आउने व्यक्तिहरुको हकमा क्वारेन्टिनमा राख्ने व्यवस्थापनमा हामीले जोड दिनुपर्छ । दोस्रो, गाडी चलाउने कुरामा पनि भरममग्दुर भन्दा पनि जोर बिजोर प्रणालीको कुरा गरियो भने त्यसले एकहदसम्म आवश्यकतालाई पनि पूर्ति गर्न सक्छ । अति आवश्यक भएको ठाउँमा हामीले पीसीआर टेस्टको निम्ति स्वाब कलेक्सन गर्ने निकायलाई अझ प्रभावकारी र व्यवस्थित बनाउनु पर्छ ।’

उनले काठमाडौंमा कोरोना संक्रमण फैलियो भने डढेलो जस्तो हुने र विष्फोटक रुप लिनसक्ने भएकाले सबै क्षेत्र सावधान हुनुपर्ने बताएका छन् ।

‘जनसंख्या सघन मात्रामा रहेको काठमाडौंमा आगो सल्कियो अथवा डढेलो लाग्यो भने त्यो डढेलो निभाउने कुरा अरु सानो शहरहरुमा जस्तो सहज हुँदैन ।’ पछिल्ला दिनमा आएका संक्रमितको तथ्याङ्कले संक्रमण स्थिति अझै बढ्ने अवस्थामा देखिएको उनले बताएका छन् ।

लकडाउन खुकुलो भएपछि मानिसहरुको चहलपहल बढेको र संक्रमण देखिएका ठाउँबाट समेत मानिसहरु काठमाडौंमा आउँदा जोखिम बढेको उनको भनाई थियो । काठमाडौं उपत्यकाका नाकाहरुमा परीक्षण गर्दा संक्रमण देखिनुले यसलाई पुष्टि गरेको उनले बताएका छन् ।