समाजशास्त्रीय दृष्टिकोणमा कोरोना महामारी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

समाजशास्त्रीय दृष्टिकोणमा कोरोना महामारी



-डिकेन्द्र ढकाल, समाजशास्त्री

यति बेला विश्वमा फैलिरहेको महामारीको बारेमा समय र स्थान अनुसार समुचित व्यवहार गर्न समाज शास्त्रीय दृष्टिकोणको ठुलो महत्त्व हुन्छ ।

कुनै पनि महामारी कुनै टाढैको ठाउँमा देखा पर्दा सुरुमा मानिसले त्यसलाई वास्ता गर्दैन । जस्तै, जाजरकोटमा हैजाले मान्छे मर्दा काठमाडौँमा बस्ने मान्छेलाई उति वास्ता हुन्न ।सुरुमा हुवानमा कोरोना महामारी फैलिँदा चीनकै अन्य सहरलाई वास्ता थिएन । अमेरिकाले नै चीनलाई पूर्वाग्रहले व्यङ्ग्य गरेर तबसम्म बस्यो जबसम्म ऊ नै महामारीको चपेटामा प-यो । यसरी आआफ्नो देशमा यो रोग भित्रेपछि मात्र विश्वभरि नै मानिसमा यो महामारीबारे गम्भीर ध्यानाकर्षण भएको छ ।

यसो हुनुमा समाज शास्त्रीय दृष्टिकोणले रोगको महामारीसँगै सामाजिक महामारी पनि हाम्रो समाजमा फैलिने गर्दछन् । यस आलेखमा म यिनै सामाजिक महामारीको चर्चा गर्दछु जुन हाम्रो नेपाली समाजमा विश्वमा फैलिएको कोरोना महामारीसँगसँगै फैलिएका छन् ।

पहिलो सामाजिक महामारी हो, “त्रासको महामारी”।कुनै पनि समाजका मानिस सम्वन्धित् रोगको विज्ञानबारे जति “निरक्षर” छन् उति नै बढी त्यो समाजमा “त्रासको महामारी” फैलने गर्दछ । कुनै रोगको महामारी फैलिने माध्यम के हो र कसरी फैलिन्छ भन्ने विज्ञानको अभावमा अहिले सहरदेखि गाउँघरमा त्रासको महामारी फैलिरहेको छ । मानिसले बिरामी पर्दा सहयोग नपाउनु, गर्भवतीलाई अस्पताल लैजान मानिस हच्किएर सुत्केरीको घरमै मृत्यु हुनु, मानिस मर्दा मलामी नजानु, आफ्नै खेतबारीमा काम गर्न नजानु वा स्थानीय सरकारले गाउँघरमा अरूसँग भेट हुने सम्भावना नहुँदासमेत घरभित्रै बस्न आदेश दिनु, हिँड्ने बाटाघाटा र पुल भत्काइनु यसकै उदाहरण हुन् ।

अर्कातिर एक थरीको भनाइ के छ भने नेपाल र भारतमा पश्चिमा मुलुकमा जस्तो गरेर यो भाइरस फैलिँदैन किनभने नेपाली र भारतीयहरुमा यहाँको आहारविहारको कारणले यो रोगसँग लड्न ठुलै प्रतिरोधात्मक शक्ति छ । राम्रो र पोषिलो खानाले सबै रोगबाट तङ्ग्रिन सहयोग पुर्‍याउने भए पनि कुनै खाना विशेषले गर्दा कोरोना भाइरसले आक्रमण नगर्ने होइन र ढुक्क हुने अवस्था छँदै छैन । भारतमा केही समय अगिसम्म खानपिन र आहारविहारले जोगाउने यस्तै दाबीको ठुलो व्यापार भयो तर पछिल्ला ३/४ हप्तामा भारतमा यो भाइरसको सङ्क्रमण कसरी डरलाग्दो गरी दिनहुँ बढेको छ भनेर यो तथ्याङ्क चित्रले देखाउँदछ ।

यसबाट सिक्नु पर्ने पाठ के हो भने नेपाली कदापि जोखिममुक्त छैन । सामाजिक स्वास्थ्यविद एवं एपिडिमिओलोजिस्ट प्रोफेसर माधव भट्टका अनुसार नेपालको पश्चिमी भेगमा मात्र नभएर अन्य सहर र काठमाडौँमै पनि समुदाय सङ्क्रमणको रूपमा यो भाइरसले उपस्थिति जनाइसकेको हुन सक्छ र निकट भविष्यमा विस्फोट हुनसक्छ ।

दोस्रो सामाजिक महामारी हो, “लाञ्छनाको महामारी”। रोगले जाति, धर्म, लिङ्ग, धनी, गरिब भन्दैन । आफूलाई रोग लगाउन कसैलाई रहर हुँदैन । विदेशमा बसेकाले देशमा आउँदा रोग भित्र्याए, चिनिँयाहरुले चमेरा खाएर भाइरस ल्याए, ट्रम्पले अटेरी बनेर अमेरिका ध्वस्त बनायो जस्ता कुरा “लाञ्छनाको महामारी” हो । यसले समाजमा रोगको महामारीले भन्दा ठुलो क्षति पुर्‍याउँछ । हाम्रा दाजुभाइ, दिदीबहिनी रोग लिएर आउन विदेश गएका होइनन् । पैसा कमाएर यही देशलाई योगदान पुर्‍याउन पसिना बगाउन बाध्यताले गएका हुन् । कसैलाई पनि स्वस्थ हुँदा साथी र रोग लागेका बेला बैरीको व्यवहार गर्नु घोर अनैतिक र आपराधिक व्यवहार हो ।

तेस्रो सामाजिक महामारी हो, “नैतिकीकरण वा धार्मिकीकरणको महामारी”। एक थरी मानिसहरूले के भन्दछन् भने अहिले मानिस पथभ्रष्ट भयो । प्रकृतिको विरुद्ध गयो । त्यसैले प्रकृतिले वा दैवले नै मानिसलाई “साइज”मा राख्न रोगको महामारी ल्याइदिएको हो । मानव समाज विकासको क्रममा कतिपय कुरामा मानव जाति प्रकृति विरुद्ध गएको भएता पनि धेरैजसो अवस्थामा बढ्दो जनसङ्ख्याको व्यवस्थापनकै निम्ति विकासको आवश्यकताको सवालमा अनिवार्य जस्तै भएर यस्ता आविष्कार, प्रयोग र काम भएका हुन् । तर अहिले कोरोना भाइरसको महामारी फैलिरहेको बेला विभिन्न धर्मगुरुले भगवानले मानिसको कर्म अनुसारको सजाय दिएको जस्ता अर्थ लगाएका छन् ।

धार्मिक विश्लेषक र आस्थावानले के कुरा बुझेकै हुनुपर्छ भने भगवानको अस्थित्व छ भने ती भगवान् दयालु छन्, कृपालु छन् । धार्मिक गुरुहरूका यस्तै कुराबाट हौसिएर अहिलेको महामारीले मानिस आक्रान्त भएको बेला कतिपयले यसलाई “विज्ञानको हार” भन्न समेत थालेका छन् ।तर आधुनिक विज्ञानको राम्ररी विकास हुनुभन्दा अगिदेखि नै हाम्रो संसार पटक पटक महामारीको चपेटामा परेको छ । महामारीको इतिहास लामो छ । लगभग २५०० वर्षअघि एथेन्समा प्लेगको महामारीले १ लाख मानिस मरे । “ब्ल्याक डेथ” भनेर चिनिएको महामारी सन् १३४६मा ५ वर्षसम्म फैलिँदा युरोपको आधा जनसङ्ख्याको ज्यान गयो । त्यसको २०० वर्षपछि सन् १५४५मा मध्य अमेरिकामा फैलिएको ज्वरोले १ करोड ५० लाख मानिस सखाप भए । ठ्याक्कै १०० वर्ष अगि स्पेनिस फ्लुका कारणले २०देखि ५० करोड मानिस मरेको अनुमान छ। तर विज्ञानकै वरदान र आविष्कारले गर्दा आज थुप्रै ज्यानमारा रोगहरू उन्मुलन भैसकेका छन् । वार्षिक करोडौँको अकाल मृत्युबाट ज्यान जोगिएको छ । यति बेला विज्ञान, वैज्ञानिक र डाक्टरहरू भगवान् साबित भएका छन् । बिरामी परेर ज्यान जानेको सङ्ख्या अति न्यून छ । ठुलो सङ्ख्यालाई विज्ञानले नै बचाएको छ । कोरोनाको पनि चाँडै सही र सटिक उपचार पत्ता लाग्नेछ ।

हाम्रो समाजको अर्को सबैभन्दा डरलाग्दो महामारी हो “महामारीविरुद्ध काम देखाउने महामारी”। सुखद कुरो के छ भने २०७६ सालको अन्तिम दिनसम्म नेपालमा वास्तविक हिसाबमा महामारी आएको छैन । संसारभरिको सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले बन्दाबन्दी गर्ने उचित निर्णय ग-यो । तीव्र औद्योगिकीकरण भएका ती मुलुकहरूमा लकडाउन गरिँदा त्यहाँका मजदुरहरूलाई हातमुख जोर्न कठिनाइ हुने आँकलन गरेर ती देशका सरकारहरूले राहतका कार्यक्रम घोषणा गरे । नेपालले १/२ हप्ता नहुँदै त्यस्तै राहत कार्यक्रमको सिको ग-यो ।

यो “काम देखाउने महामारी” बाट हाम्रो समाज नराम्ररी आक्रान्त भएको छ । वास्तवमा प्रत्येक मुलुक र ती मुलुक भित्र पनि ती मुलुकका निश्चित भेग र भौगोलिक क्षेत्रका आफ्नै सामाजिक र आर्थिक विशेषता हुन्छन् । महामारी विरुद्ध राहत दिएर कारबाही गर्दा यी कुरालाई मनन गर्नै पर्छ । महामारीको समयमा पक्कै पनि सबैलाई असहज हुन्छ । तर यस्ता बेलामा हरेक समाजका व्यक्तिका बाँच्नका लागि आफूलाई अनुकूलन गर्ने रणनीति र क्षमता हुन्छन् ।

हाम्रो मुलुकको सीमित श्रोतका कारण २/४हप्ता नबित्दै यसरी “राहतको आक्रामक प्रदर्शन” समाज शास्त्रीय र आर्थिक दृष्टिकोणबाट आवश्यक नै छैन । ठुला सहरलाई अपवाद मानेर हेर्ने हो नेपाली समाज अझै पनि खेतीपातीमा निर्भर छ । भकारी र थैलामा अधिकांशसँग २/४ महिना थेग्नलाई अन्नपात हुन्छ । गाउँघरमा हुनेले नहुनेलाई पैँचो, उधारो दिने हाम्रो सामाजिक ढाँचा हो । मानिस सामाजिक प्राणी हो र परेको बेला मानिसले त्यागी स्वभाव देखाउँदछ । बाँच्ने सवालमा यस्ता सहयोगका आदानप्रदान स्वाभाविक हिसाबले हुन्छन् नै । समाजलाई स्वाभाविक ढङ्गमा चल्न दिनुपर्दछ । नत्र समाज असल अर्थमा समाज रहँदैन ।

हो, निवेक ज्यालादारी गरेर खानेलाई यस्तो अवस्थामा अवश्य कठिन हुन्छ । यस्ता पूर्णतः दैनिक ज्यालादारीलाई खास वास्तविक हातमुख जोर्न नै कठिन हुनेलाई मात्र सरकारले हेर्ने व्यवस्था हुनुपर्दछ । अहिले टोलटोल र चोकचोकमा राहतको बिस्कुन सुकाएर बाँडिनु पटक्कै आवश्यक छैन । झट्ट सुन्दा अलोकप्रिय, कठोर र निर्दयी लाग्ने यो कुरा सीमित श्रोत भएको मुलुकलाई अहिले उपलब्ध भएको श्रोत प्रवल सम्भाव्य महामारी सकिए पछिका तङ्ग्रिने समयका लागि खर्चिन भकारी बाँधेर राख्न झनै आवश्यक छ ।

अन्त्यमा, रोगको महामारीका बेलामा अवैज्ञानिक कथन र यस्तै अफवाह फैलाइनु/फैलिनु र अव्यवहारिक “काम गरेको जस्तो मात्र देखाउने” कारबाही हुनु स्वस्थ समाज बनाउनको लागि सहयोगी कार्य हुँदै हुँदैन । यो दुःख लाग्दो कुरो हो । महामारी विरुद्ध लड्न एउटा विशेष विधाका ज्ञानी वा विशेषज्ञले मात्र पर्याप्त हुँदैन । यस घडीमा सफलता हात पार्न र समाज जोगाउन सामाजिक स्वास्थ्यविद्, विपत् व्यवस्थापन विद्, समाजशास्त्री, अर्थशास्त्री, कृषिविद्, सुरक्षाविद् आदि बहु विधाका विज्ञको सहकार्य जरुरी हुन्छ ।