महामारी कोरोना भाइरसको - चिन्ता सहकारीको - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

महामारी कोरोना भाइरसको – चिन्ता सहकारीको



-गीता रेग्मी

चीनको वुहान राज्यमा सुरु भएको कोरोना भाइरसले ताण्डव देखाउँदै थियो । हवाई मार्गहरू बन्द हुँदै थिए । उनीहरूको सलामतीको कामना सहित म चीनले भाइरसलाई नियन्त्रणमा लिनेछ भन्ने कामना गरिरहे । तर मेरा कामनाहरू फगत अन्धविश्वास मात्र बने ।

भाइरस त झन् झन् जब्बर भएर विश्व भ्रमणमा निस्कियो । शक्तिशाली देश युरोप , कुनै बेलाको सूर्य अस्त नहुने देश बेलायत हुँदै विश्व हल्लाउने अमेरिकालाई समेत धावा बोल्दै आत्थु आत्थु पार्दै छ । विश्व भरका अरबौँ मानिस घर भित्र बसेर आफ्नो मृत्युको प्रतीक्षा गरिरहेछन् भनौं या कुनै महत्त्वपूर्ण चुनावको नतिजा सुन्दै छन् । यस्तै लाग्छ किंकर्तव्यविमूढ भएर मान्छेको मृत्यु को अङ्क हेर्दै गर्दा ।

सम्पन्न मुलुकहरूले हारमानि रहँदा हाम्रोजस्तो वैदेशिक सहायता , ऋण र रेमिट्यान्समा आश्रित देशले के गर्न सक्छ र ? तर पनि हाम्रो भाग्य छिमेकीलाई छोडेर कोरोना भाइरस युरोप तिर हानियो । यसले हामीलाई सजग र सचेत हुन प्रशस्त अवसर मिल्यो । स्वास्थ्य सामाग्री खरिद प्रक्रिया देखि अन्य काम कारबाही फितलो भए पनि सरकारले “लक डाउन ” ग-यो । यो जुन गुणस्तर हीन पिपिई भन्दा हजार गुणा राम्रो भयो ।

उद्योग ,धन्दा , कल कारखाना वित्तीय क्षेत्र सबै सबै ठप्प भए । जसरी घडीको सुई ब्याट्री सकिए पछि टक रोकिन्छ , तेल सकिएर गुडिरहेको गाडी घ्याच्च रोकिन्छ त्यसरी नै एकाएक सय किलोमिटर प्रति घण्टाको गति रोकियो । घ

बैङ्क बन्द भयो , हजारौँ सहकारी बन्द भए । दिनको सय पचास जम्मा गर्ने बचतकर्ता बचत झिक्न नसक्दा के खाए हुन ? जो मेहनत गर्न मन पराउँछ उ मागेर खान सक्दैनन् ती मेहनती हातहरू के गर्दै होलान् ? अनि करोडौँको लगानी नि ? जो तिनै बचत कर्ताको पसिना हो ?

मन भतभत पोलिरहेको बेलामा व्यवस्थापकको फोन आयो फलानो त मरेछ नि ।” अनि मेरो लामो श्वास पछि उताको कुरो सुरु भयो “उसले म्याडम अफिस बन्द छ कि खुल्ला ? मेरो श्रीमान् मरेर अस्ति ऋणको किस्ता बुझाउन आउन सकिन । भन्नु त म्याडम पैसा कहाँ लिएर आऊ भनेकी थिइन मैले त बन्द खुले पछि लिएर आउनु भने । ” उनका कुरा सकिन नभ्याउँदै मैले भने –
“म जान्थे त लिन ” मैले त्यसो भनेपछि “छोड्नु उ बिरामी पनि छ र इमानदार पनि ,पछि नै आउछीन । ” हो त । म आफैलाई ढाडस दिन्छु र सम्झन्छु एक एक गरेर ती बेमानहरूलाई जो ऋण माग्न विवशताका पुन्डरी अनि इमानदारीताका खोल ओढेर आउँछन् र फिर्ता गर्ने बेलामा अनेक बहाना देखाउँछन् । तिनैका कारण कहिलेकाहीँ मानदारहरूमाथि शङ्का उत्पन्न हुन्छ । उफ् कति कठिन छ मान्छे मान्छेलाई एक एक गरेर कसी लगाउन ।

उ लोग्ने मरेर महिनाको पहिलो हप्ता बुझाउनु पर्ने ऋणको किस्ता बुझाउन ढिलो भएको सुनाई रहँदा पोहर साल असोजमा हजुरबा मरेर ऋणको ब्याज तिर्न आउन नसकेको दरिद्र ऋणीलाई धिक्कार्न मन लाग्छ ।

यसैले एकातर्फ इमानदार ऋणी छन् जस्का व्यापार व्यवसाय धराशायी बन्दै छन् भने अर्को तर्फ ती बेइमानहरू छन् जस्तालागि कोरोना भाइरस बहाना बनाउने दह्रो तर्क हुनेछ । यो सहकारीको सबैभन्दा ठुलो चुनौती हो ।
खातामा पैसा भएर पनि पैसा झिक्न नसकिने हुन सक्छ , हातमा पैसा हुनेले पनि किनेर खाने वस्तु नपाउन सक्छ । उठाउनु पर्ने ऋण र फिर्ता गर्नु पर्ने निक्षेपको हिसाब गर्नु मात्र हाम्रो काम हुन सक्छ ।

देश भर दर्ता भएका चौँतिस हजार सहकारी , तिनमा जम्मा भएको अरबौँ रकम , जोखिममा रहेको ऋण र सङ्कटमा रहेका ऋणीको विषयमा मनन गर्न छोडेर विभागीय मन्त्री ( अभिभावक ) आयोग बनाउन थाल्नु भएको छ ।

सवाल उठ्छ यसमा छाता संस्थाहरूको भूमिका कस्तो रहला ?

क : पदमा बस्न होडबाजी चले जस्तै आफ्ना सदस्य संस्थाले व्याेहाेर्न पर्ने चुनौतीको समाधानका लागि पनि तँछाडमछाड गर्लान् त ?

ख : सम्बोधन र आसन ग्रहणमा अलिकति तलमाथि हुँदा चित्त दुखाउनेहरू अहिले आउने विपत्तिमा सदस्य संस्थाहरूको हात समाउन होडबाजी गर्लान् के ?

ग : भवन निर्माण गर्न , उनीहरूले सुरु गरेका अनेकौँ प्रोजेक्टहरू ( हाइड्रो , अस्पताल , सहकारी बैङ्क आदि आदि ) अघि बढाउन होस या छाता संस्थालाई दह्रो बनाउन सदस्य संस्थासँग सहयोगको अपिल गरिरहने ,अब आउने आर्थिक सङ्कटका बेला सङ्घहरूले सदस्य संस्थालाई हामी तपाईँहरूको पछाडि छौ भनेर ढाडस दिन सक्लान् त ?

घ : या छाता संस्थाहरू दिदीबहिनीले लगाउने सिरको फूल वा दाजुभाइको टोपी जस्तो सुन्दर मात्रै हुने होकी आड आधार र भरोसा पनि हुन सक्छन् सबै थोक टक्क रोकिएको बेला उनीहरूको परीक्षा बल्ल सुरु भएको छ ।

कुनै पनि भवितव्य सङ्कट बनेर मात्र पनि आउँदैन सम्भावना पनि लिएर आउँछ । यो कोरोना भाइरसले न हामीलाई स्वावलम्बी बनाउन त आएको होइन ? यस्तो सोच्दा पनि मन शीतल हुन्छ । रेमिट्यान्सले धानिएको अर्थतन्त्र वैदेशिक रोजगारीमा गएका लाखौँ युवाहरू फिर्ता हुँदै गर्दा धराशायी बन्दै गरेको प्रस्ट देखिँदै छ । यस्तो अवस्थामा ती युवाहरूलाई सहकारीले काम दिन सक्यो भने सुनमा सुगन्ध हुन्छ ।

सोंचौं त हामी कति पानी मा छौ र कति ओभानो छौ । नेतृत्व वर्गको होडबाजीले सबैको ध्यान सहकारी तिर तानियो । स्वनियममा सञ्चालित हुने सहकारी संस्थाका एन र नियमावली बनाउन कति समय लाग्यो ? कति गिजोलियो ? यसले साँच्चै नै केही गर्न खाेज्नेहरूकालागि सहकारी कसरी हाउगुजी बनाइयो ?

हजारौँ हजार सहकारीलाई कमसेकम आफ्ना सदस्यहरूका आवश्यकता आफै पूरा गर भनेको भए के बिग्रिन्थ्यो ? हामीले ठुला ठुला कुरा गर्याै हाइड्रो , सहकारी बैङ्क र अस्पतालहरू खोल्न , तडकभडक गर्न , ठुला भवन र सानदार कार्यालय बनाउन , सदस्य संस्थालाई बाध्य पार्याै तर त्यही अस्पतालमा चाहिने सानाे मास्क र सेनेटाईजर समेत उत्पादन गर्ने तिर कहिल्यै सोचेनौ । साना साना कुरालाई व्यवस्था गरेर ठुला हावादारी कुरा गरेर ठुलो हाेईने रहेनछ भनेर अब हामीले सोचेनौ भने राम राम भन्नू बाहेक केही हुँदैन ।

यसैले सहकारीलाई आफ्ना सदस्यको आवश्यकताको पहिचान गरी अनावश्यक पर्ने उत्पादन आफै गर्न प्रेरित गर्ने , तरकारी खेती , कौसी खेती , साबुन बनाउने , सेनिटाईजर , हार् पिक , सिलाई कटाई , कुटानि पिसानी , कागती खेती , बेकरी , जङ्गल , जडीबुटी , आन्तरिक र बाह्य पर्यटन, ढुवानी सबै जसले जे गर्न सक्छ र पहुँच पुग्छ त्यो गर्न दिऊ । जसरी कोरोना भाइरसलाई आफ्ना गाउँ टोलमा प्रवेश निषेध गरेर सरकारलाई एक घण्टामा निर्णय बदल्न बाध्य पार्याै त्यसरी नै अत्यावश्यक सामाग्री बाहेक बाहिरका हरेक चिजलाई प्रतिबन्ध लगाऊ ।

युवाको अभावमा बन्जर बन्दै गएका गाउँ बेसीहरूलाई हराभरा बनाऊ । झलल बिजुली बत्ती पुर्‍याउन ।

तर उपत्यका , यसका र चुनौती असाध्यै फरक छन् । सम्भावना र महत्त्वाकाङ्क्षा पनि फरक छन् । सानो तिनाे रकमले यिनको गर्जो टर्दैन । ब्याजले जीविका चलाउने हरू पनि प्रशस्तै छन् । त्रैमासिक ब्याज दिन अब कसरी सकिन्छ ? सोचनीय विषय बनेको छ ।

युवालाई सहकारीमा आकर्षित गर्ने कुनै योजना बनाएनौ । अब ती वैदेशिक रोजगारबाट फर्केका युवाहरूलाई सके सम्म घर पायक पर्ने संस्थाले काम दिन सकाै । प्रकृतिले हामीलाई अथाह साधन र स्रोत दिएको छ । कस्तुरीले आफ्नो नाभिमा बिना लिएर बास्ना आाएकाे ठाउँ खोज्दै हिँडे झैँ हामी खाडी तिर लाग्यौँ । राजनीतिज्ञहरूले युवाहरूलाई वैदेशिक रोजगारीका लागि उक्स्यौ । अब ती युवालाई जडीबुटी र पर्यटकीय स्थलको संरक्षण र प्रवचन गर्न उत्प्रेरित गर्याै भने यो देश र सहकारी अनि वेराजगार सबैका लागि लाभदायक हुनेछ ।

क्रिया ( काम) गर्ने मानिस सधैँ मालिक हुन्छ र प्रतिक्रिया दिने मान्छे नोकर हुन्छ भन्ने कुरा हामीले भुल्यौ । आफूले काम गर्न छोडेर अरूको चियो चर्चाे गर्न थाल्यौँ । नयाँ कुराको खोजी नगरी अरूले जे गर्न लागे त्यहीँ गर्न थाल्यौँ यसले गर्दा जुनसुकै ठाउँमा उच्च तरलता र जोखिम व्यहाेर्दै आयौ । करोडौँ अरबौँलाई छोडेर हजार रूपैँया चलाउने लाई नियमन गर्न सरकारले ल्याएको सम्पत्ति सुदृढीकरण एैनले सहकारीमा आतङ्कको सृजना गर्याै । लगानीको हिसाब किताब सोध्नेलाई पाखा लगाउँदै हिँड्यौ । देश देख्यौँ विदेश देख्यौँ । मान माथि मान लियौ अब समयले काम गर्न प्रेरित गरेको छ यसको पालना गराै ।

भरखरै त्रिसट्ठी औँ सहकारी दिवस मनायौं । चितवनको बखान सहकारी होस या बेलायत को सहकारीका स्थापनाका इतिहास रटाई रयाै अब त्यहीँ समय दोहोरिँदै छ । हताश हुने होइन इतिहासलाई वर्तमानमा उताराै

जसरी दोस्रो विश्व युद्ध पछि जापान स्वावलम्बी भएको थियो त्यसरी नै हामीले हाम्रा सहकारी मार्फत हात हतियार बिनाको तेस्रो विश्व युद्धबाट उत्पन्न हुँदै गरेको आर्थिक सङ्कटको समाधान गर्न एकजुट हौँ ।