कोरोनाविरुद्ध लड्‍ने नायकहरू: जोखिम पनि यिनैलाई, दुर्व्यवहार र आक्रमण पनि यिनैलाई - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कोरोनाविरुद्ध लड्‍ने नायकहरू: जोखिम पनि यिनैलाई, दुर्व्यवहार र आक्रमण पनि यिनैलाई



एजेन्सी- विश्‍वलाई नोभेल कोरोना भाइरसले आक्रान्त बनाइरहेको छ । विश्वको एक तिहाइ जनसंख्या लकडाउनमा छ । पाँच लाखभन्दा बढी मानिसहरु संक्रमित छन् भने २४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

यस्तो अवस्थामा अग्रमोर्चामा रहेर आफ्नो ज्यानको बाजी लगाएर चिकित्सकहरु कोरोनाको परीक्षणदेखि संक्रमितको उपचारमा दिनरात खटिरहेका छन् ।

भारतमा अग्रपंक्तिमा रहेका कोरोना भाइरसविरुद्ध लड्‍नेहरुलाई ‘हिरोज्‌’ को संज्ञा दिइएको छ । तर, उनीहरु अहिले आक्रमणको निशानामा परेका छन् । उनीहरुलाई कोरोना भाइरसको त्रासकारण घरबाट निकालिदिएका छन् ।

केही ई-कमर्स कम्पनीहरुले डेलिभरी गर्ने काम रोकिदिएका छन् । उनीहरुलाई दुर्व्यवहार गर्न थालिएपछि काम छोड्‍न बाध्य भएका हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीले अस्पतालमा काम गर्नेहरुमाथि दुर्व्यवहार गरे कडा कारबाही गर्ने चेतावनी दिएका थिए । घरबेटीले घरबाट निकालेको, केही काम छोड्‍न बाध्य भएका समाचारहरु सार्वजनिक भइरहेका छन् । भारतमा २१ दिन लामो लकडाउन घोषणा गरिएपछि यस्तो अवस्थामा थप वृद्धि भएको छ ।

शुक्रबार प्रहरीले औषधी डेलिभरी गर्ने चालकलाई कुटेको भिडियो भाइरल भएको थियो । भारतको पश्चिमी सहर सुरतमा कार्यरत एक चिकित्सक सञ्‍जिबनी पानीग्राहीले आफू कोभिड-१९ का बिरामीको उपचारबाट थकित हुँदै घर फर्किएपछि आफूमाथि निकै अभद्र व्यवहार भएको बताउँछिन् ।

छिमेकिहरुले उनलाई उनको घर जाने बाटो नै बन्द गरिदिएका थिए । उनले कामलाई निरन्तरता दिए र त्यहीँ बसे परिणाम नराम्रो हुने छिमेकीले चेतावनी दिए । “हिजोका दिनमा मसँग खुसीसाथ अन्तर्क्रिया गर्ने मानिसहरु यिनै हुन् । तर, मलाई लखेट्दैछन् । जहिले उनीहरु समस्यामा हुन्थे, मैले सहयोग गर्थे,” ३६ वर्षीया चिकित्सकले भनिन् ।

“मानिसहरुलाई कोरोना संक्रमण फैलिने त्रास छ । म त्यो बुझ्‍छु । तर, एक्कासी मलाई नछुनेजस्तै व्यवहार गरियो,” उनले थपिन् ।

यस साता चिकित्सकहरु र अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सले सरकारलाई त्रसित घरबेटीले घरनिकाला गरेको र छिमेकीहरुले धम्क्याउने वातावरण आएको भन्दै सहयोगको अपिल गरेका छन् ।

“अधिकांश चिकित्सकहरु आफ्नो लगेजसहित सडकमा आएको, उनीहरुले जाने ठाउँ छैन,” पत्रमा लेखिएको छ ।

प्रधानमन्त्री मोदीले चिकित्सकहरुमाथिको दुर्व्यवहार रोक्न र कोरोनाविरुद्ध लड्‍ने ‘भगवान’ माथि अभद्र व्यवहार नगर्न आग्रह गरेका छन् । उनले भने, “आज हाम्रो जीवन बचाउन आफ्नो जीवनको प्रवाह नगरी रातदिन खटिरहनुभएको छ ।”

दैनिक फैलिएका भ्रम र गलत सूचनाहरुले त्रसित जनताबाट पीडित हुनेमा चिकित्सकमात्र छैनन् । उनीहरुसँगै एयरलाइन्स र विमानस्थलका कर्मचारीहरु, जो अहिले पनि विदेशमा रहेका भारतीयहरुको उद्धारका लागि खटिरहेका छन् र कार्गो डेलिभरीमा लागिरहेका छन्, उनीहरु पनि त्रसित जनताको आक्रमणको निशानामा छन् ।

इन्डिगो र एयर इन्डियाले आफ्ना कर्मचारीमाथिको दुर्व्यवहार र धम्कीको निन्दा गरेका छन् । “एयर इन्डिया विमानका कर्मचारीले आफूलाई छिमेकीले आफ्नो अपार्टमेन्ट प्रवेश गर्ने बाटो नै बन्द गरिएको छ। आफू अमेरिकाबाट फर्किएकोले र अरुलाई पनि संक्रमण गराउने चिन्ता छिमेकीहरुलाई छ ।”

“मलाई त्यो रात निद्रा पनि परेन,” उनले थपिन्, “यदि म घर गएँ भने के सबैले मलाई स्वागत गर्छन् कि घरबाट निकाल्छन् भन्‍ने चिन्ता लाग्यो ।” उनका श्रीमानले सहयोगका लागि प्रहरीलाई खबर गरे ।

नाम परिवर्तन गराउने एक अर्की कर्मचारीले भनिन्, “सबै मजस्तै भाग्यमानी हुँदैनन् । उनलाई घरबाट निकालियो तर, आमाबुबाले बोलाएर सँगै राखेका छन् ।”

“सबै गलत सूचना र ह्‍वाट्‌सअपमार्फत पठाइने हल्लाहरुबाट अन्य मानिसलाई कस्तो असर परिरहेको हुन्छ, त्यो यनीहरुलाई थाहा हुँदैन । त्यो उनीहरुको पागलपन हो । यस्तो काम तत्काल बन्द गरुन,” उनले भनिन् ।

इन्डियन कर्मसियल पाइलट्‌‌स एसोसियसनकी महासचिव टी प्रभिन किर्तीले घरबाट निकालिएका ५० भन्दा बढी गुनासाहरु आएको बताए । उनले भने, “विमानका कर्मचारीहरुलाई घर प्रवेश गर्न नदिएका गुनासाहरु आएका छन् ।”

“हाम्रो पनि घर, परिवार छ । हामी आफ्नो घरपरिवार छोडेर अन्य जनताको सेवाका लागि बाहिर निस्किएका छौं…. । हामी के चाहन्छौं भने- हाम्रा सार्थीहरुलाई घरबाट निकाल्ने, दुर्व्यवहारका कामहरु नगरियोस् भन्‍ने चाहन्छौं ।”

विमानस्थलका कर्मचारीहरु आवश्यक सामानको डेलिभरी गर्ने काममा खटिरहेका छन् । तर, विभिन्‍न किसिमका आक्रमणमा परेका छन् ।

इ-कमर्स कम्पनी फ्लिपकार्टले केही समयका लागि आफ्ना सेवाहरु बन्‍द गरेको छ । त्यसैगरी वालमार्टले सञ्‍चालन गरेको समूहले पनि प्रहरीले सुरक्षा दिने ग्‍यारेन्टी नगरेसम्म आफूले सेवा नदिने बताएको छ ।

यसरी संकटविरुद्ध लड्‍नेहरु नै संकटमा परेको स्थिति छ । यस्ता समस्या नदोहोरिनका लागि सरकारले सुरक्षाको ग्यारेन्टि गर्नु आवश्यक छ ।