योगेशले 'कोरोना फ्री' घोषणा गरेको नेपाल, डब्लुएचओको उच्च जोखिममा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

योगेशले ‘कोरोना फ्री’ घोषणा गरेको नेपाल, डब्लुएचओको उच्च जोखिममा



काठमाडौं- पर्यटनमन्त्री योगेश भट्टराईले केहि समय अगाडी नेपाल कोरोना भाइरस फ्री भएको भन्दै अन्तर्राष्ट्रिय मिडियामा बिज्ञापन दिने निर्देशन दिएको केहि दिनमै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भने नेपाल कोरोना संक्रमणको अति उच्च जोखिममा रहेको सूची सार्वजनिक गरेको छ ।

विश्वका विभिन्न देशमा फैलँदोक्रममा रहेको कोरोना भाइरस नेपाल छिर्यो भने भयावह अवस्था निम्त्याउन सक्ने भन्दै डव्लुएचओले नेपाललाई अति उच्च जोखिमको सूचीमा राखेको जनाएको हो ।

डब्लुएचओले नेपाल लगायत दक्षिण एसियाका भारत श्रीलंका, पाकिस्तान र अगगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ ।

कोरोना भाइरस (कोभिड- १९) संक्रमण हुनसक्ने अति उच्च जोखिमको सूचीमा केही अफ्रिकी देशहरुलाई पनि राखिएको छ ।

यसअघि डव्लुएचओले चीनलाई मात्रै अति उच्च जोखिममा राखेको थियो । नेपालमा अहिलेसम्म शुरुमा एक जना बाहेक कसैलाई संक्रमण देखिएको छैन् ।

नेपालले चीनबाट १ सय ७५ जनालाई उद्धार गरी भक्तपुरको खरीपाटीस्थित क्वारेन्टाइनमा राखेको छ । उनीहरुको स्वास्थ्य परीक्षणमा कोरोनाको संक्रमण नदेखिए पनि अझै केहीदिन क्वारेन्टाइनमै राखेर मात्रै घर जान दिइने छ ।

चीनबाट शुरु भएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण अहिले विश्वका विभिन्न देशमा फैलिएको छ । एशियाली मुलुकहरुसहित युरोप, अफ्रिका लागायतमा पनि कोरोना भाइरसको प्रकोपमा वृद्धि भइरहेको छ ।

चीनबाहेक दक्षिण कोरिया, थाइल्याण्ड, मलेसिया, सिंगापुर, जापान, इटाली र इरानमा समेत अहिले कोरोना भाइरसको संक्रमण देखिएको छ ।

चीनपछि दक्षिण कोरियामा कोरोना भाइरसले प्रकोपको रुप नै लिइसकेको छ । कोरोना भाइरसको संक्रमण चीनपछि दक्षिण कोरियामा बढेको विश्व स्वास्थ्य संगठनको भनाइ छ ।

अहिलेसम्म कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ८ सय पुगेको छ । त्यस्तै विश्वभरका ८३ हजार ८ सय ५३ जन संक्रमित भएका छन् ।