कोभिड-१९ को डर, अतिवाद र हाम्रो मन - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

कोभिड-१९ को डर, अतिवाद र हाम्रो मन



-डा. गोविन्द शरण उपाध्याय

(एक)
हिजो बिहान ७:३० बजे तरकारीको पसलमा एक जना भाइ गफिँदै थिए – आफूलाई त कोभिड-१९ को फिटिक्कै डर लाग्दैन । मैले त केही वारेको छैन, सेनिटाजर, मास्क, हातधुने कुरा सबै बेकार हुन् । धुलोधुवा पचाउने नेपालीलाई कोभिड-१९ ले छुनै सक्दैन ।

उनलाई फिटिक्कै डर लाग्दैन । यिनको नजरमा नियम पालन गर्नेहरू मूर्ख हुन् ।

(दुई)
मेरो छिमेकमा ५० बर्से कर्मचारीको घर छ । बेलुका बेलुका म र छोरा आफ्नै कम्पाउण्ड भित्र ब्याडमिन्टन खेल्छौँ । ककले कुरा बुझ्दैन, उनको घरको बाल्कोनी वा आँगनमा खस्छ । उनी डराउँछन् कि मानौँ ककसँग कोरोना उडेर उनको घरमा आक्रमण गर्दैछ । उनी लकडाउनपछि घरबाट आँगनमा झरेको मलाई वा उनकी श्रीमती अर्थात् भाउजूलाई पनि याद छैन । छोराछोरीले उनको धेरै पटक गाली खाइसकेका छन् ।

उनी असाध्यै डराएका छन् । सपनामा समेत कोरोनाले मान्छेहरू मरेको देख्छन् ।

डर मान्छेमा प्राकृतिक रूपले पाइने एउटा महत्त्वपूर्ण मानसिक संवेग हो जसले आवश्यकता परेको वेलामा आत्मरक्षा गर्न सहयोग गर्छ । त्यस्तै निडरता पनि एउटा मानसिक संवेदना हो जसले आत्मविश्वासको प्रदर्शन गरेर संसारसँग कुम जोरेर व्यवहार गर्न मदत गर्छ ।

कोरोनाले विश्वलाई आक्रान्त परिरहेको बखतमा “मलाई फिटिक्कै डर लाग्दैन” भन्ने मान्छे (१) मानसिक समस्या ग्रस्त हुन सक्छ ।

त्यस्तै, हरेक पल कोरोनाको डरले त्रसित, भयग्रस्त तथा अव्यवहारिक जीवन यापन गर्ने, आफैलाई असाधारण रूपमा भित्र लक गर्ने (२) मान्छे पनि मानसिक समस्यामा छ भनेर बुझ्नुपर्छ ।

डराउनु पर्ने अवस्थामा कत्ति पनि नडराउने, डराउन नपर्ने परिस्थितिमा डराउने तथा सावधानी अपनाउनु पर्ने परिवेशमा एकदमै डराउने/नडराउने मान्छेको मन समस्याग्रस्त छ भनेर बुझ्नु वेश हुन्छ ।

विश्व कोभिड-१९ सँग त्रसित छ र आफ्नो र अर्कोको जीवन रक्षाका लागि सावधानी अपनाउने क्रममा मनमा केही डर-त्रास छ भने तपाईँको मानसिक स्वास्थ्य ठिक छ ।

विश्वले कोभिड-१९ सँग सङ्घर्ष गरिरहेको बखतमा यदि तपाईँ
(१) जथाभाबी खुला हिँड्नु हुन्छ
(२)अरूले नआएको सावधानीलाई “नाटक” ठान्नु हुन्छ
(३) नगर्ने भनिएका काम गर्न रमाइलो लाग्छ
(४) अरूले नियम पालन गरेको देखेर दिक्क लाग्छ
(५) औषधि-उपचार गर्न/गराउन मन लाग्दैन
(६) विज्ञले भनेका निर्देशनहरू भन्दा फेसबुकका भनाई ठिक लाग्छन्
(७) रातारात भरि जागेर सरकार र समाजले कोरोनाबाट लड्न दिएका निर्देशनहरू कसरी तोड्न सकिन्छ भन्ने उपायहरू खोज्न व्यस्त हुनुहुन्छ
(८) सम्झाउने/ बुझाउन खोज्नेहरू शत्रुझैँ लाग्छन्

…भने तपाईँले तुरुन्त मनोवैज्ञानिक परामर्शदाताको सहयोग लिनुपर्छ अथवा मनोचिकित्सकसँग भेट्नुपर्छ ।

विश्वले कोभिड-१९ सँग सङ्घर्ष गरिरहेको बखतमा यदि तपाईँ
(१) हरेक बखत कोरोनाबाट डर लागि रहन्छ
(२) हरेक बस्तु र मान्छेलाई कोरोना सङ्क्रमित भएको विश्वासले आक्रान्त गरिरहन्छ
(३) हरेक पल इन्टरनेटमा गएर कोरोनाको समाचार हेर्नु हुन्छ र एकैछिन नेट गयो भने समाचार हेर्न नपाएको झर्को लाग्छ वा दिक्क लाग्छ ।
(४) हरेक मान्छे तथा वस्तुलाई कोरोना-वाहकका रूपमा देख्ने, बुझ्ने र डराउने बानी विकास भएको छ
(५) निन्द्रा पर्दैन वा परे पनि कोरोना सम्बन्धी सपना देख्नुहुन्छ वा डर लाग्दा सपना देख्नुहुन्छ
(६) सुरक्षित रूपमा घरपरिवारमा बस्दा पनि आफू निकै असुरक्षित भएको अनुभव हुन्छ
(७) संसार नै बेकार, निरर्थक र सार हीन ठान्ने र अरू भन्दा निकै फरक जीवनशैली विकसित भएको छ
(८) जीवनप्रति माया लाग्न छोडेको छ
(९) क्षणक्षणमा मुड-परिवर्तन भइरहन्छ
(१०) कसैसँग कुरा गर्न, रमाइलो गर्न फिटिक्कै मन लाग्दैन
(११) रक्सी बढी खान मन लाग्ने र नशालु पदार्थले कोरोना जित्न सकिन्छ भन्नेमा विश्वास लाग्ने

…भने तपाईँले तुरुन्त मनोवैज्ञानिक परामर्शदाताको सहयोग लिनुपर्छ अथवा मनोचिकित्सकसँग भेट्नुपर्छ ।

उपरोक्त दुवैखाले व्यवहार मानोविकारका सूचक वा इन्डिकेटर हुनसक्छन् । दुबै अवस्थामा तपाईँलाई परिवारका सदस्यसहित मनोविज्ञको सहयोग आवश्यकता परेको छ ।

विश्वले कोभिड-१९ सँग सङ्घर्ष गरिरहेको बखतमा यदि तपाईँको दैनिक व्यवहार
(१) कोरोना एउटा वैश्विक महामारी हो भन्ने ठानेर स्वाभाविक रूपमा सावधानी अपनाउनु भएको छ
(२) बाहिरबाट आउने वस्तु वा मान्छेसँग सावधानीपूर्वक व्यवहार गर्नुहुन्छ
(३) सरकार तथा विज्ञहरूले दिएका निर्देशनप्रति विश्वास गरेर अरूलाई पनि तिनको पालन गर्न आग्रह गर्नुहुन्छ
(४) दैनिक एक अथवा दुईपटक कोरोना सम्बन्धित समाचार बारे अपडेट हुनुहुन्छ
(५) मनमा कोरोना प्रति अलिअलि त्रास पनि छ तर यसउपर मान्छेले विजय प्राप्त गर्ने छ भन्ने आत्मविश्वास छ
(६) घरपरिवारसँग रमाइलो गरिरहनु भएको छ, निन्द्रा राम्रै छ, भोक पनि सामान्य नै छ
(७) एकान्तमा बस्नु पर्दा आफन्तलाई मिस गर्नुभएकोमा नराम्रो लागि रहेको छ
(८) कोरोनाले [पार्ने सक्ने नकारात्मक असर बारे केही चिन्तित हुनुहुन्छ
(९) रुघाखोकी वा ज्वरो आउँदा डर लाग्छ तर हरेक रोग कोरोना हुँदैनन् भन्ने आत्मविश्वास छ
(१०) अरू रोगझैँ कोरोना पनि एउटा रोग हो भन्ने आत्मविश्वास छ तर यो अरू भन्दा ज्यानमारा छ भन्ने चेतना छ
(११) अविश्वासमा भन्दा आशामा विश्वास छ, कोरोनाबाट सर्वसाधारण जनतालाई सुरक्षित गर्न खटिरहनु भएका अधिकारी तथा डाक्टर-नर्सहरूको आत्मविश्वास बढाउने काममा सक्रिय हुनुहुन्छ ।
(१२) तपाईँलाई कोरोनाले सङ्क्रमण गरिसकेको छ तर तपाईँ चिकित्सकको सल्लाहअनुसार उपचार गराउँदै हुनुहुन्छ

……भने बधाई छ, तपाईँ मानसिक रूपमा अरूझैँ स्वास्थ्य व्यक्ति हुनुहुन्छ ।

अतिआत्मविश्वास हुँदैमा कोरोनाको डरलाग्दो स्वभावलाई जित्न सकिन्न । एकदम डराएर घर व्यवहार र आफ्नो स्वाभाविक दैनिकीमा ९० डिग्री परिवर्तन गर्दैमा कोरोना भाग्दैन ।

त्यसैले अति डर र अति आत्मविश्वास दुबै मानसिक समस्याका लक्षण हुन सक्छन् । त्यसैले एउटा सामान्य मान्छे बन्ने प्रयत्न गरौँ ।

विश्वले कोभिड-१९ सँग सङ्घर्ष गरिरहेको बखतमा तपाईँले
(१) परिस्थिति अनुसार उपलब्ध साधनको प्रयोग गरेर रमाइलो गर्नुपर्छ ।
(२) दैनिक योग-साधना, ध्यान, प्राणायाम, आध्यात्मिक साधना,
(३) परिवारसँग चलचित्र, परिवारसँग खाना पकाउने र खाने, चित्र-बनाउने,
(४) गीत गाउँने, नृत्य गर्ने, चुटकुलाहरू भन्ने सुन्ने, घरभित्र खेल्न मिल्ने खेलहरू खेल्ने,
(५) कथा-नियात्रा आदि लेख्ने सुनाउने,
(५) सामाजिक संजालप्रयोग गरेर आफन्तसँग सम्पर्कमा रहने,
(६) मिल्न सक्नेसम्म आवश्यकता परेका मान्छेहरूको सहयोग गर्ने
(७) तपाईँ वा तपाईँका आफन्त सङ्क्रमित हुनुभएको छ भने चिकित्सकको सल्लाहअनुसार गर्ने गराउने
(८) सङ्क्रमणबाट जोगिन सम्बन्धित निकायले निर्धारित गरेका नियमहरू पालन गर्ने
याद राखौँ । हामी विश्वभरिका साढेसात अर्व मान्छेहरू मध्ये एउटा हौँ जुन कोरोनालाई जित्न प्रयत्नशील छौँ ।

हाम्रो सावधानीपूर्ण व्यवहार र आत्मविश्वासले हाम्रो शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सकारात्मक बाटोमा हिँड्न मदत गर्नेछ । हाम्रो सकारात्मक व्यवहार देखेर, सुनेर हाम्रा छिमेकी पनि सकारात्मक व्यवहारका लागि अभिप्रेरित हुनुपर्छ ।

अन्त्यमा, सावधानी र आत्मविश्वासका साथ आफैसँग र अरूसँग उत्तरदायी बनेर अगाडी बढौँ । हामीले जित्ने छौँ । हाम्रो आत्मविश्वास र सावधानीले कोरोना हार्ने छ, मान्छेले जित्ने छ ।