क्रिमसन अस्पतालमा तनाव: मृत्युको हल्ला चल्नु र अन्त्येष्टि हुन नसक्नुको रहस्य यस्तो रहेछ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

क्रिमसन अस्पतालमा तनाव: मृत्युको हल्ला चल्नु र अन्त्येष्टि हुन नसक्नुको रहस्य यस्तो रहेछ



काठमाडौं- रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा कोरोना संक्रमणका कारण गुल्मीका शिक्षकको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । मृतकका परिवारले बिरामीको उपचार नै नभएको र अन्यत्र लैजान पनि नदिएको आफन्तले आरोप लगाएका छन् ।

भेन्टिलेटरमा राखिएका उनको दुई पटक सम्म मृत्युको हल्ला समेत चलेको थियो । उनलाई अस्पतालले बिहीबार मृत घोषित गरेको थियो। अहिले उनको अन्त्येष्टिका विषयमा आफन्त र अस्पतालबीच विवाद चर्केको छ।

उनलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले उपचार नै नगरेको उनका आफन्तले आरोप लगाएका छन् । उनको मृत्यु कोरोनाको कारणले नभएको र ढाडबाट पानी निकाल्दा अस्पतालले गलत गरेको हुनसक्ने आफन्तको आशंका छ ।

गुल्मी मदाने गाउँपालिकाका एक विद्यालयका शिक्षक समेत रहेका उनि वैशाख अन्तिम साता उच्च ज्वरो आएर निको भएपछि उनलाई अचानक वान्ता हुन थालेको बताइएको छ ।

वैशाख ३१ गते सन्धिखर्कको छाया पोलिक्लिनिक पुगे। त्यहाँ मिर्गौलाको समस्या हुनसक्छ भनेर उनलाई रुपन्देहीको क्रिमसन अस्पताल रिफर गरियो। पोलिक्लिनिककै एम्बुलेन्समा उनी ३१ गते नै क्रिमसन अस्पताल पुगेका थिए।

स्वास्थ्य अवस्था सामान्य भएका उनको क्रिमसन अस्पतालमा उपचार सुरू भएपछि एकाएक स्वास्थ्य अवस्था बिग्रिएको आफन्तले बताएका छन् । अस्पतालमा पुग्नेबित्तिकै चिकित्सकले कोरोना संक्रमणको आशंका नगरेको र उनको परीक्षण पनि नभएको आफन्तको दाबी छ।

उनको अवस्था कमजोर बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखियो र कोरोना परीक्षणका लागि नमुना पनि संकलन गरियो। जेठ ४ मा उनको कोरोना पोजिटिभ देखियो। त्यसपछि भेन्टिलेटरमा राखिएका उनलाई अस्पतालले वास्ता नै नगरेको उनीहरूले आरोप लगाएका छन् ।

अस्पताल प्रशासनदेखि प्रदेशका मन्त्रीसम्मले उनको मृत्यु भएको खबर संचारमाध्यमलाई दिएपछि एकाएक खबर भाइरल भयो । तर, केही समयपछि अस्पतालले उनको मृत्यु नभएको भन्दै विज्ञप्ति जारी गर्‍यो। यसमा पनि स्थानीय र केहि आफन्तले आशंका ब्यक्त गरेका छन् । कतिपयले अस्पतालमा उनको उपचार खर्च धेरै निस्केको र सरकारले कोरोनाको उपचारको शुल्क मात्र उपलब्ध गराउने भएकाले अस्पतालले चलाखी गरेर मृत्यु भैसकेका व्यक्तिलाई पनि भेन्टिलेटरमै राखेको समेत आरोप लगाए ।

बिरामीलाई कोरोना पोजिटिभ देखिनेबित्तिकै अस्पतालका स्वास्थ्यकर्मीले उनको उपचार गर्दै नगरेको आफन्तको आरोप छ भने काठमाडौं लैजान्छौं भन्दा पनि अस्पतालले बिरामी निकाल्न नदिएको आफन्तले बताए ।

आफन्तले अहिले सीसीटीभी फुटेजमा हेर्न खोज्दा पनि अस्पतालले देखाउन नखोजेको आफन्तको अर्को आरोप छ । उनको मृत्युको हल्ला फैलनुको अर्को कारण भेन्टिलेटरमा कोहि नगएको र अनुमानकै भरमा यस्तो हल्ला गरिएको आफन्त बताउँछन् ।

कोरोना पुष्टि भएपछि बिरामीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी गर्दा अस्पतालले दिएन। आफन्तहरूले कोरोना पोजिटिभको रिपोर्ट आएपछि हेलिकोप्टर चार्टर गरेर काठमाडौं लैजान्छौं भनेको तर अस्पतालले भने भेन्टिलेटरमा राखिएको बिरामी निकाल्न नमिल्ने भन्दै लैजान नदिएको आरोप समेत उनीहरूले लगाएका छन् ।

अस्पताल र आफन्तको विवादकै कारण मृतकको अन्त्येष्टिमा अहिले कठिनाइ उत्पन्न भएको छ। यो विषयलाई लिएर मृतकका आफन्त, अस्पताल प्रशासन, प्रमुख जिल्ला अधिकारी, मणिग्राम नगरपालिकाका मेयर, प्रदेश ५ का मन्त्रीहरुको बैठक बिहीबार अपरान्ह बसेको थियो । तर कुनै सहमति भने जुट्न सकेको छैन ।