क्रोएसियामा भूकम्प: कोरोना माथि अर्को कहर - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

क्रोएसियामा भूकम्प: कोरोना माथि अर्को कहर



एजेन्सी- पूर्वी युरोपेली मुलुक क्रोएसियाको राजधानी जाग्रेबमा आइतबार बिहान ५.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पबाट केही भवनहरु भत्किनुका साथै विद्युतका पोलहरुमा क्षति पुगेको छ ।

युरोपेली भूगर्भ केन्द्र (सीसेम)का अनुसार आइतबार बिहान ६ बजे गएको भूकम्प निकै शक्तिशाली रहेको र त्रसित राजधानीबासीहरु दौडिएर सडकमा भेला भएका थिए । भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट केबल ७ किलोमिटरमुनि मात्र रहेको थियो ।

सिसेमले एक घण्टापछि पुनः ५ म्याग्नीच्यूडको परकम्प गएको जनाएको छ । भूकम्पमा परी एक १५ बर्षीय किशोरको मृत्यु भएको छ । भूकम्पमा परी भत्किएको घरको भग्नावशेषमा ती किशोर मृत फेला परेका थिए । कोरोना भाइरसबाट जनजीवन त्रसित भइरहेकै समयमा भूकम्पले थप पीडा दिएको छ ।

जाग्रिबमा धक्काका कारण केही घरहरु भत्किएका छन् । भूकम्पको धक्का हंगेरी, बोस्निया हर्जगोभिनामा पनि महशुस गरिएको थियो ।

क्रोएसियामा हालसम्म कोभिड १९ का २ सय ६ जना संक्रमित भएका छन् भने एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट बच्नका लागि घरभित्र बसिरहेका मानिसहरुलाई भूकम्पको धक्काले तर्साएको राजधानी जाग्रिबका एक बासिन्दाले बताए ।