सरकार र डा. केसीको पाचौ वार्ता पनि असफल, आवासीय चिकित्सकले बहिरंग सेवा बन्द गर्ने । - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सरकार र डा. केसीको पाचौ वार्ता पनि असफल, आवासीय चिकित्सकले बहिरंग सेवा बन्द गर्ने ।



 

श्रावण १८, काठमाडौँ
सरकार र अनशनरत डा. गोविन्द केसीका बार्ताटोलीबिच मङ्गलवार भएको पाँचौपटकको वार्तासमेत झारो टार्ने काम मात्र भएको छ । केसीको ११ औँ अनसनको नवौँ दिन भएको वार्तामा सहभागी उनका प्रतिनिधि डा.अभिशेकराज सिंहले जति वार्ता गरे पनि टुङ्गोमा पुग्न नसकिने बताए । डा.केसीको मुख्य माग चिकित्सा शिक्षा ऐनलाई संसद्‌बाट पारित गर्नु पर्ने कुरामै वार्ता अडिइरहेको बताए ।

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा ऐनलाई माथेमा प्रतिवेदनको मूल भावनाअनुसार संसद्‌बाट पारित गराउन आफूहरू लागि परेको बताउँदै डा.केसीलाई हालको लागि अनसन स्थगन गर्न आह्वान गरेका छन् । पोखरेलले मङ्गलवार शिक्षामन्त्री गोपालमान श्रेष्ठ, संसद्को महिला बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिकी सभापति रन्जु झा, पूर्वस्वास्थ्यमन्त्री गगन थापा र मेडिकल काउन्सिलका पदाधिकारीसँग आफूले छलफल गरेर निकास निकाल्न गृहकार्य गरेको पनि बताए । ‘शिक्षा ऐनलाई माथेमा आयोगको मूल मर्मअनुसार संसदबाट पारित गराउन केही समय लाग्ने बताए ।

यसै गरी त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले बुधवारदेखि पठनपाठनलगायत बहिरंग विभागको उपचार सेवामा सरिक नहुने जनाएका छन् । शिक्षण अस्पतालमा करिब ३ सय ५० जना आवासीय चिकित्सक छन् । आवासीय चिकित्सकहरुको सङ्गठन नेसनल रेजिडेन्ट डाक्टर्स एशोसिएसले प्रा.डा.गोविन्द केसीको आमरण अनसनको समर्थनमा सरकारलाई थप दबाब दिन शैक्षिक कार्यक्रमअन्तर्गत पठन पाठनमा सरिक नहुनको साथै बहिरंग विभागअन्तर्गत उपचार सेवामा सरिक नहुने जनाएको हो ।

‘सरकारले हाम्रो विरोधलाई वास्ता नगरे डा.केसीको जीवनरक्षा गर्न शल्यक्रिया कक्ष बहिष्कारलगायत थप कडा विरोधका कार्यक्रम ल्याउन बाध्य हुने छौँ’, एशोसिएसनका महासचिव डा. अमितकुमार यादवले भने, ‘सरकार संवेदनशील नदेखिएपछि जनहितका माग सम्बोधनको लागि हामीले गरेको भेलाले बहिरंग सेवामा उपस्थित जनाउन छोड्ने निर्णय गरिएको हो ।’ डा.केसीको आमरण अनशन मङ्गलवार नवौ दिनमा पुगेपछि स्वास्थ्यमा देखिन सक्ने जटिलता आदिलाई दृष्टिगत गर्दे कडा विरोध गर्न लागेका हुन् ।